निर्वाचन आयोगले प्रदेश सदस्यको शपथपछि मतदाता नामावली प्रकाशन गर्ने


प्रकाशित मिति : माघ ७, २०७४ आईतबार

 

माघ ७, काठमाडौं । आइतबार प्रदेश सदस्यहरुको शपथपछि निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताको नामावली प्रकाशित गर्ने भएको छ ।
राष्ट्रियसभा चुनावका लागि प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुने व्यवस्था छ ।
५५० जना प्रदेश सांसद् र ७६६ स्थानीय तहका प्रमुख र उपप्रमुखले मत दिएर राष्ट्रियसभा सांसद् निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । उनीहरुको मतभार ४८ हुनेछ भने स्थानीय तहका प्रमुख र उपप्रमुख १५०६ जनाले मतदान गर्नेछन् उनीहरुको मतभार १८ हुनेछ । यसरी राष्ट्रिय सभा निर्वाचनका मतदाता दुई हजार ५६ जना हुनेछन् ।
आगामी माघ २४ मा राष्ट्रियसभा सदस्य चुनावको मिति तय गरेको आयोगले प्रदेश सांसद्को शपथपछि मतदाता नामावली सार्वजनिक गर्न लागेको जनाएको छ ।
आइतबार सातवटै प्रदेशका प्रदेश सांसदहरुले शपथ लिँदैछन् । शपथ ग्रहणसकिएपछि मतदाता नामावली प्रकाशित गर्ने निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नवराज ढकालले बताए ।
५९ सदस्यीय राष्ट्रियसभाका लागि प्रत्येक प्रदेशबाट आठआठ निर्वाचित हुनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com