भारतको ‘सर्जिकल स्ट्राइक’दाबी राष्ट्रसंघद्वारा खन्डन


प्रकाशित मिति : आश्विन १५, २०७३ शनिबार

भारत र पाकिस्तानबीच क्रमिक रुपमा बढ्दै गएको तनावको विषयमा संयुक्त राष्ट्र सङ्घीय महासचिव बान कि मुनले शुक्रबार गहिरो चिन्ता व्यक्त गरेका छन्।बिगतमा भारत र पाकिस्तानले आ–आफ्ना सीमा क्षेत्र निर्धारण गरी सीमा नियन्त्रण रेखा (लाइन अफ कन्ट्रोल) कायम गरेपश्चात् युद्ध विराम भइसकेपछि पनि पुनः आक्रमण हुनुलाई दुर्भाग्यपूर्ण भन्ने सङ्ज्ञा दिँदै महासचिव मुनले चिन्ता प्रकट गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव बान किन मुनका प्रवक्ता स्टिफन दुजारिकले भारत र पाकिस्तान नियन्त्रण रेखामा सर्जिकल स्ट्राइक गरेको कुनै प्रमाण नभएको भन्दै खन्डन गरेका हुन् । दुजारिकले आफ्नो सैन्य दलले २४ सै घन्टा निगरानी गरिरहेको भन्दै भारतले कुनै सर्जिकल स्ट्राइक गरेको प्रमाण नभेटिएको स्पस्ट पारे ।

यद्यपि, संयुक्त राष्ट्रसंघका लागि भारतका राजदूत सैय्यदले भने आफूहरुले सर्जिकल स्ट्राइक गरेको सही भएको भन्दै कसैले देख्ने/नदेख्नेमा कुनै फरक नपर्ने जनाएका छन् ।

लाइन अफ कन्ट्रोलले काश्मिरलाई दुइ खण्डमा विभाजन गरी भारत र पाकिस्तानको सीमा क्षेत्र निर्धारण गरेको छ। निर्धारित उक्त दुई अलगअलग खण्डलाई भारत अधिनस्थ र पाकिस्तान अधिनस्थ काश्मिरको नाम दिइएको छ र दुई देशको विभाजन रेखा यही लाइन अफ कन्ट्रोलमै छ। गत हप्ता भारतीय भू–भागतर्फको काश्मिरको प्रान्तीय राजधानी श्रीनगरबाट १०९ किलोमिटर उत्तरपश्चिममा पर्ने उरी क्षेत्रस्थित सैनिक शिविरमा भएको आक्रमणमा १८ जना सैनिकले ज्यान गुमाएका र २० भन्दाबढी घाइते भएका थिए।

भारत अधिनस्थ काश्मिरमा पाकिस्तानको उग्र विरोध गर्दै दिनहुँ जनप्रदर्शन हुन थालेपछि दुई देशबीच तनाव चुलिएको हो। अहिलेको अवरोध रोक्नका लागि महासचिव मुनले दुवै पक्षलाई सक्दो प्रयास जारी राख्न र यस अवस्थालाई तत्काल रोक्न आग्रह गरेको बानका प्रवक्ताद्वारा विज्ञप्तिमा जनाइएको छ।

उनले भारत र पाकिस्तान सरकारलाई काश्मिरसहितका प्रमुख मुद्दालाई कुटनीतिकस्तरबाट शान्तिपूर्ण सम्बोधन गर्न समेत सो विज्ञप्तिमा आग्रह गरिएको छ। भारत अधिनस्थ काश्मिरमा पाकिस्तानले आक्रमण गरेको दोस्रो दिन शनिबार भारतीय अधिकारीले पाकिस्तानी सीमा नजिकका ग्रामीण क्षेत्रमा बस्ने हजारौँ जनतालाई त्यहाँबाट अन्यत्र सारेका छन्।

दुई देशवीच तनाव अत्यन्त चुलिएकोले सम्भावित खतराबाट सर्वसाधारण जनतालाई सुरक्षित राख्न र उनीहरूलाई सार्नुपरेको भारतीय अधिकारीको भनाइ रहेको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com