सुर्खेतमा तीन दिने माघी मेला सुरु


प्रकाशित मिति : पुस २७, २०७४ बिहीबार

पुस २७, सुर्खेत । माघी पर्वको अवसर पारेर बिहीबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा तीन दिने माघी मेला सुरु भएको छ। मगर समुदायका कला, संस्कृति र परम्परा जोगाइराख्ने उद्देश्यले नेपाल मगर संघ सुर्खेतले तीन दिने माघी मेला आयोजना गरेको हो।

स्थानीय मंगलगढी चोकबाट झाँकी र र्‍यालीसहित कार्यक्रमस्थल रंगशालामा पुगेर मेलाको उद्घाटन भएको छ। मेलाको उद्घाटन सांसद एवम् नेपाल मगर संघका पूर्व वरिष्ठ उपाध्यक्ष वसन्त घर्तीमगरले गरेका हुन्। सांसद घर्तीमगरले संघीयताले सबै नेपालीलाई झनै नजिक बनाइदिएको भन्दै अब सबै नेपालीहरू समान रहेको उल्लेख गरे। उनले सबै जाति बराबर भएको भन्दै मगर जातिहरूले आफूहरूलाई राज्यबाट पछि पारिएको महसुस गर्न नहुनेमा जोड दिए। मेलामा धुनषवाण प्रतियोगिता, छेलो प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरूको सांस्कृतिक कार्यक्रमसहित स्थानीयस्तरका सोरठी, ख्याली, सालैजो, कौडा, ठाडो भाकालगायतका प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, मेलामा मगर समुदायका विभिन्न परिकारदेखि थारू परिकारका स्टलसमेत राखिएको छ।

मेलामा कलाकारहरू सम्झना लामिछाने, तिला गरंजामगर, निरु श्रीषमगर, मोडेल आरुसीमगर, लक्ष्मी रानामगरलगायतको सहभागिता रहनेछ। मेलाको टिकट दर २० रूपैयाँ तोकिएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com