बाढीपीडित त्रिपालमा रात काट्न बाध्य


प्रकाशित मिति : पुस २६, २०७४ बुधबार

 

पुस २६, बाँके । राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका बाढी पीडितहरु पुस महिनाको कठ्यांग्रिने चिसोमा त्रिपालमा बस्दै आएका छन् । राप्ती नदीमा आएको बाढीले घर भत्किएपछि अहिलेसम्म त्रिपालमा बस्दै आएका छन् ।

‘जाडोमा आगो तापेर रात कटाउनुपर्ने बाध्यता छ ।’ फत्तेपुरका हरिराम थारुले भने । फत्तेपुरमा बाढीबाट पुर्णरुपमा घरबास क्षति भएका १९० परिवारलाई बुधबार अक्सफाम र बी–ग्रुप नेपालगन्जले नगद तथा अन्य राहत सामग्री सहयोग गरेका छन् ।

राप्तीसोनारी गाउँपालिका–६ का अध्यक्ष जनक थारुले माघी तिहारको बेलामा गरिएको सहयोग स्थानीयका लागि ठूलो भएको बताए । बाढीपीडितमध्ये कतिपय नजिकैको सामुदायिक वनमा आश्रय लिएर बसिरहेका छन् ।

उनीहरुलाई वनले हटाउन भनेपछि समस्या आएको छ । बी–ग्रुपका कार्यकारी निर्देशक गोपालनाथ योगीका अनुसारप्रति परिवार नगद ५ हजार रुपैयाँ, ४ थना कम्बल, ४ थान मेट्रिस, २ थान सानो म्याट र २ थान त्रिपाल सहयोग गरिएको छ । जिल्लाभर बाढीबाट पूर्ण क्षति भएका पाँच सय परिवारलाई सहयोग गरिने बी–ग्रुपले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com