चितवनको चैनपुरमा कृषि क्याम्पस सञ्चालन गरिने


प्रकाशित मिति : पुस २५, २०७४ मंगलबार

 

पुस २५, चितवन । चितवनको रामपुरबाट कृषि कार्यक्रम ‘फेजआउट’ भएपछि त्रिभुवन विश्वविद्यालयले पूर्वी चितवनको चैनपुरमा कृषि क्याम्पस सञ्चालनको तयारी गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले खैरहनी नगरपालिका ४, चैनपुरस्थित तत्कालीन माओवादी लडाकु शिविर भुताहामा कृषि क्याम्पस सञ्चालन गर्न लागेको जनाएको छ ।

 

त्रिविका उपकुलपति रहेका तीर्थ खँनियाको चाहाना र खैरहनी नगरपालिकाको पहलमा माओवादी लडाकुहरुले तत्कालीन समयमा प्रयोग गर्दै आएको जग्गामा कृषि क्याम्पस सञ्चालन गर्न लागेको हो ।

खँनिया सोही क्षेत्रका स्थानीय हुन । उनी कांग्रेसका तर्फबाट चितवन क्षेत्र नः १ बाट प्रत्यक्ष तर्फ सिफारिसमा समेत परेका थिए ।

त्रिविले झापा र चितवनमा क्याम्पस सञ्चालनका लागि प्रक्रिया अघि बढाइसकेको छ ।

अहिले सो स्थानमा सशस्त्र प्रहरी बस्दै आएको छ । आगामी शैक्षिक सत्रदेखि नै क्याम्पस सञ्चालन गर्ने तयारी गरिएको खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले जानकारी दिए ।

कंकाली सामुदायिक वनको ३ सय ५४ विगाहा जमिनमा क्याम्पस स्थापना गरिने छ ।

सुरुको वर्ष स्नातक तहमा ५० जना विद्यार्थीको भर्ना लिने जानकारी आएको मेयर चौधरीले बताए ।
खैरहनीका मेयर चौधरीले कृषिको केन्द्रीय क्याम्पस चैनपुरमै सञ्चालनमा गर्ने गरी तयारी गरिएको बताए ।

सो स्थानमा भौतिक संरचना निर्माण गर्न समय लाग्ने भएकाले संरचना निर्माण नहुञ्जेलसम्म खैरहनी नगरपालिका(६ स्थित खैरहनी माविको निर्माणाधीन भवनमा कक्षा सञ्चालन हुनेछ ।

खैरहनी नगरपालिकाको पुरानो भवनमा क्याम्पसको प्रशासन रहने गरी क्याम्पस सञ्चालन गर्न लागिएको मेयर चौधरीले बताए ।

सरकारले कालिका नगरपालिकाको शक्तिखोरमा कृषि क्याम्पस खोल्ने तयारी गरेको थियो । तर, खनियाँको चाहानामा खैरहनी(४ स्थित कंकाली सामुदायिक वनको स्वामित्व क्षेत्रमा रहेको सो जग्गामा क्याम्पस स्थापना गर्ने निर्णय गरेको थियो । ‘खैरहनी नगरपालिका कृषिको पकेट नगरपालिका पनि हो । यहाँ कृषि क्याम्पस आवश्यक थियो’ मेयर चौधरीले भने, ‘किसानसँग जोडेर नयाँ ढंगबाट अनुसन्धान गर्न यस कृषि क्याम्पसले ठूलो मद्दत पुग्दछ ।’

मेयर चौधरी पनि कृषिको विद्यार्थी हुन् । खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले भुताहामा भवन निर्माण नहुञ्जेलसम्म नगरपालिकाले भवनदेखि अन्य केही भौतिक सहयोग गर्ने बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com