शरीर जोडिएका शिशुको ‘सफल शल्यक्रिया’


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

शरीरको तल्लो भाग जोडिएका दुई प्यालेस्टिनी जुम्ल्याहा शिशुको प्राण जोगाउन र शरीर छुट्याउन गरिएको शल्यक्रिया सफल भएको चिकित्सकहरूले बताएका छन्।

फराह र हनीन नाम गरेका ती बालिकाहरूको रियादस्थित किङ् अब्दुल्लाह बाल अस्पतालमा शल्यक्रिया गरिएको हो।

जोडिएको शरीरमा दुई खुट्टा मात्रै भएपनि मुटु र फोक्सो भने छुट्टाछुट्टै थिए।

तिनको पेट र शरीरको तल्लो भाग जोडिएको थियो।

उनीहरूका पितालाई चिकित्सकहरूले गाजापट्टीमै रहे ती शिशुको ज्यान जोखिममा पर्न सक्ने बताएपछि उनीहरूलाई उपचारका लागि साउदी अरेबिया लगिएको थियो।

साउदी प्रेस एजेन्सीले प्रसारित गरेको विज्ञप्तिमा उनीहरूको शल्यक्रिया सफल भएको उल्लेख गरिएको छ।

जटिल
नौ चरणमा गरिएको शल्यक्रियामा उनीहरूको आन्द्रा, कलेजो र कटि छुट्याइएको थियो।

साउदी सञ्चारमाध्यमका अनुसार उनीहरूलाई स्थलमार्गबाट जोर्डन हुँदै विमान चढाएर डिसेम्बरमा साउदी अरेबिया पुर्‍याइएको थियो।

जटिल प्रकृतिको त्यस्तो शल्यक्रिया गर्ने सुविधा गाजामा उपलब्ध थिएन।

नाकाबन्दी, निरन्तरको सशस्त्र द्वन्द्व, प्यालेस्टाइनको राजनीतिक विभाजन र बजेट कटौतीका कारणले त्यहाँको स्वास्थ्यसेवाको गुणस्तर खस्किएको संयुक्त राष्ट्रसङ्घले बताउने गरेको छ।

त्यहाँ आधार बनाएर बसेका लडाकुहरूको आक्रमणबाट जोगिन विगत एक दशकदेखि इजरेल र इजिप्टले गाजालाई स्थल र समुद्रबाट नाकाबन्दी गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com