सागर र बिनोद परेनन् डिभिजन-२ को टिममा,यस्तो छ टिम


प्रकाशित मिति : पुस २१, २०७४ शुक्रबार

फेब्रुअरी ६-१६ सम्म नामिबियामा आयोजना हुने आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि २१ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरिएको छ।

प्रतियोगिताको लागि केहि दिनमै बन्दसत्र सुरु गर्ने योजना अनुसार घोषित २१ सदस्यीय टिममा बिनोद भण्डारी र सागर पुनलाई मौका दिईएको छैन। भर्खरै सम्पन्न इपिएलमा पनि राम्रो प्रदर्शन गर्न नसकेका दुवै खेलाडी लामो समय देखि फर्ममा थिएनन्।

एभरेस्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका रोहित पौडेल र अनिल शाहलाई प्रारम्भिक टिममा स्थान दिईएको छ। यस्तै दिपेश श्रेष्ठ, ललित राजबंशी र सुनिल धमला, सुशन भारि र किशोर महतो पनि टिममा छन्।

यस्तै युएईमा भएको बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा राम्रो प्रदर्शन गरेका तिब्र गति बलर ललित भण्डारीले पनि टिममा निरन्तरता पाएका छन्। इपिएलमा राम्रो प्रदर्शन नगरेपनि बिश्व क्रिकेट लिग च्याम्पियनसिप अघि बन्दसत्रमा राम्रो प्रदर्शन गरेका सिद्धान्त लोहनीलाई पनि मौका दिईएको छ।

आईसीसी प्रतिनिधि अमिनुल इश्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का भएको छनौट समितिले टिमको घोषणा गरेको हो।

यस्तो छ टिम :-
अनिल साह, बसन्त रेग्मी, दिलिप नाथ, दिपेन्द्र ऐरी, दिपेश श्रेष्ठ, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, पारस खड्का, रोहित पौडेल, रशिद खान, सन्दिप लामिछाने, शक्ति गौचन , शरद भेसावकर, सिद्धान्त लोहनी, सोमपाल कामि सुनिल धमला र सुशन भारि

डिभिजन-२ मा नेपाल सहित युएई, केन्या, नामिबिया, ओमान र क्यानडा सहभागी हुने छन्। ६ टिम मध्ये उत्कृस्ट-२ हुने टिम एकदिवसीय बिश्व कप छनौट प्रतियोगिता खेल्न पाउनेछ। नेपाल बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा सातौँ स्थानमा रहँदै डिभिजन-२ मा घटुवा भएको थियो।

डिभिजन-२ राउण्ड रोबिन लिगको आधारमा खेलिनेछ जसमा सबै टिमले एक अर्का बिरुद्ध १-१ खेल खेल्नेछन् जसको आधारमा अंक तालिकामा उत्कृस्ट २ हुने टिम छानिनेछ। अंक तालिकामा उत्कृस्ट २ हुने टिमले फाइनल खेल खेल्नेछन् जसको आधारमा बिजेता तय गरिनेछ भने उत्कृस्ट २ टिम बिश्व कप छनौट खेल्न छनौट हुनेछन्।

सन् २०१४ मा नेपालले मलेसियामा सम्पन्न डिभिजन-३ जित्दै डिभिजन-२ उक्लेको थियो जसपछि नामिबियामा सम्पन्न डिभिजन-२ प्रतियोगितामा नेपालले तेश्रो स्थान हाँसिल गरेको थियो। तेश्रो स्थान हाँसिल गरे पनि नेपालले बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पाएको थियो। त्यो बेला नेपालसंगै नामिबिया, नेदरल्याण्ड, केन्या, क्यानाडा र युगान्डाले डिभिजन-२ खेलेका थिए। क्यानडा र युगान्डा डिभिजन-३ मा घटुवा भएका थिए भने नामिबिया, नेदरल्याण्ड, नेपाल र केन्या बिश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न छनौट भएका थिए।

तयारीको लागि दक्षिण अफ्रीका जान सक्ने

नामिबियामा हुने डिभिजन-२ को तयारीको लागि नेपाली टिमले दक्षिण अफ्रीकाको अभ्यास भ्रमण गर्न सक्नेछ। नेपालले प्रतियोगिता अघि १० दिने दक्षिण अफ्रीकाको अभ्यास भ्रमण गर्नेछ। आईसीसीको सहमति पछि दक्षिण अफ्रीका भ्रमण पक्का हुनेछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com