डा. गोविन्द केसीको नवौँ आमरण अनशन सुरु


प्रकाशित मिति : आश्विन १०, २०७३ सोमबार

आफ्ना माग पूरा नभएको भन्दै डा. गोविन्द केसीले सोमबारदेखि नवौँ आमरण अनशन सुरु गरेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी उनले सरकारले यसअघि गरेका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाबस्वरुप अनशन बस्नु परेको बताए।

केसीले यसअघि सरकारले कार्यान्वयन गर्न बाँकी तीनवटा मागसमेत गरेर चार बुँदे माग अघि सारेका छन् । उनले चिकित्सा शिक्षा ऐन संसदको जारी अधिवेशनबाटै पारित गर्न, अख्तियार प्रमुख लोकमानसिंह कार्की र सदस्य राजनारायण पाठकविरुद्ध महाअभियोग लगाउन, माथेमा आयोगको सिफारिस बमोजिम मेडिकल शिक्षा शुल्क लागू गर्न, निजी मेडिकल कलेजका प्रतिनिधिसमेत सम्मिलित समिति खारेज गर्न माग गरेका छन् ।

डा. केसीका ४ माग :

१. चिकित्सा शिक्षा ऐन यही संसदबाट पारित गर्नुपर्ने

२. अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण सिंहलाई महाअभियोग लगाउनुपर्ने

३. चिकित्सा शिक्षाको शुल्क माथेमा आयोगले सुझाए अनुसार लिनुपर्ने र त्यसपछि शुल्क समायोजनका लागि बनाइएको समिति खारेज गर्नुपर्ने

४. चिकित्सा शिक्षा अध्ययन संस्थान(आइओएम)मा वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने, विचाराधीन विधेयक संसद्बाट फिर्ता लिनुपर्ने र आइओएमका भ्रष्टाचारीमाथि छानबिन र कारबाही गर्नुपर्ने, चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने।

यही असोज ३ गते अनशन बस्ने घोषणा गरेका डा. केसीले शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतापत्र पठाएपछि एक हप्ता सरकारलाई समय दिई अनशन स्थगन गरेका थिए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com