‘सत्ता बाहिर हुँदा गाली, सत्तामा हुँदा विदेशी सामु लम्पसार परेर राष्ट्रियता बलियो हुँदैन’


प्रकाशित मिति : आश्विन १०, २०७३ सोमबार

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले विकास, समृद्धि र प्रगतिका लागि आन्तरिक राष्ट्रियता मजबुत बनाउनुपर्ने बताएका छन् ।
‘सत्ताबाट बाहिर रहँदा गाली गर्ने अनि सत्तामा हुँदाचाहीँ विदेशीका सामु लम्पसार पर्ने राणाकालदेखिकै द्वेध चरित्रकै निरन्तरताले आन्तरिक राष्ट्रियता बलियो हुँदैन’, काठमाडौंमा नयाँ शक्तिको प्रशिक्षण विभागले आयोजना गरेको केन्द्रीय कार्यकारी समिति सदस्यहरुलाई अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा प्रशिक्षित गर्दै उनले भने, ‘नयाँ शक्तिले त्यस्तो पाखण्डपूर्ण राजनीति गर्दैन । दुई ठूला अर्थतन्त्रबीचको सम्बन्धलाई आर्थिक समृद्धिका लागि गतिशील पुलको रुपमा ग्रहण गर्नेछ ।’
बाह्य थिचोमिचोको अन्त्य गर्नका लागि आन्तरिक राष्ट्रियतालाई ठीक ढंगले व्यवस्थापन गर्नु जरुरी रहेको उनले बताए । नयाँ शक्ति पार्टीले अवलम्बन गरेको ५ ‘स’ (समानुपातिक, समावेशी र सहभागितामूलक लोकतन्त्र, समृद्धिसहितको आर्थिक विकास, सदाचार र सुशासन, स्वाधीनता एवं सार्वभौमसत्ता र समुन्नत समाजवाद) को व्याख्या गर्दै उनले भने, ‘मुलुकको विकास र समृद्धिका लागि सबैभन्दा पहिले विद्यमान आर्थिक परनिर्भरतालाई हटाएर अन्तरनिर्भरतामा बदल्नुपर्दछ ।’
त्यसैगरी उनले आर्थिक विकासका लागि सबैभन्दा पहिले राज्यले पूर्वाधारजन्य क्षेत्रहरुमा तीव्र लगानी बिस्तार गरी रोजगारीका अवसर सिर्जना गर्नुपर्ने र निजी क्षेत्रलाई उत्पादनका अन्य क्षेत्रहरु मूलत: कृषि, पर्यटन, उद्योग तथा सेवाजन्य क्षेत्रहरुमा लगानी अभिवृद्धि गर्न लगाउनुपर्ने आवश्यकता औंल्याए । उनले भने, ‘अहिलेको आवश्यकता उत्पादनमा जोड दिने र वितरणमा ध्यान दिने हो ।’
नेपालका राजनीतिक पार्टीहरुले अहिलेसम्म पारम्परिक ढंगबाट मात्रै राजनीति गरेकोले अब त्यसमा परिवर्तन आवश्यक रहेको उनको जोड थियो । औपचारिक लोकतन्त्रले सबै वर्ग, जाति, भाषा, धर्म र समुदायका नागरिकहरुलाई समावेशीताको सिद्धान्त अनुसार राज्यको संरचनामा सहभागी गराउन नसक्ने भन्दै नेपालको लागि विशिष्टीकृत लोकतन्त्रको आवश्यकता रहेको उनले बताए ।
‘हामी प्रक्रियाका रुपमा लोकतान्त्रिक र वाम, प्रगतिशील, अग्रगामी दृष्टिकोणसहितको अग्रपन्थी पार्टी हौं’, उनले भने, ‘पुरानो उदारवाद र राज्य–समाजवादबाट माथि उठेको समुन्नत समाजवाद हाम्रो लक्ष्य हो ।’ प्रशिक्षण कार्यक्रममा विभिन्न विषयमा विभिन्न विषयविज्ञहरुले प्रशिक्षण दिनेछन् । केन्द्रीय कार्यकारी समितिका सदस्यहरु र विभिन्न जिल्ला र प्रदेशका प्रतिनिधिहरुलाई अलग अलग गरी चार दिनसम्म प्रशिक्षण कार्यक्रम चल्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com