उत्तर कोरियाले गयो नाकाबन्दीको विरोध


प्रकाशित मिति : पुस ९, २०७४ आईतबार

उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्काे शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्काे नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।

अघिल्लो हप्तामात्र संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदामा गरिएको मतदानबाट उसलाई यसअघि लगाइएको नाकाबन्दीमा निरन्तरता दिनुका साथै थप नाकाबन्दीको पनि घोषणा गरिएको बताइएको थियो ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका सदस्यहरुलाई सो सम्बन्धी मतदानको एजेण्डा पहिले नै दिएर गत बिहीबार त्यसमा मतदान गरिएको समाचारमा जनाइएको छ ।

यस्तो नाकाबन्दीले आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि नै धावा बोलेको र यस्ता नाकाबन्दीले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने नभई उल्टै युद्धका लािग प्रेरित गर्ने दाबी उत्तर कोरियाको छ ।

उत्तर कोरियाली विदेश मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशन गरी यस नाकाबन्दीबाट शान्ति स्थापनामा नभएर थप हिंसा र अशान्तिका लागि काम हुने पनि जनाएको छ ।

यो पछिल्लो नाकाबन्दीबाट विशेषगरी प्रशोधित तेलको ९० प्रतिशत निर्यात र आयातमा प्रतिबन्ध लगाएको छ । त्यसैगरी अन्य आर्थिक विषयमा पनि उसलाई अप्ठेरो पर्नेगरी नाकाबन्दी लगाउनेगरी तयारी गरिएको समाचारमा जनाइएको छ ।

हालैमात्र अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रम विरुद्ध कदम चाल्न नसक्ने हो भने त्यसले घातक परिणाम ल्याउने चेतावनीसमेत दिनुभएको थियो ।

उता उहाँले हालैमात्र एक सार्वजनिक कार्यक्रममा अमेरिका उत्तर कोरियासँग विनाशर्त वार्ता गर्न तयार रहेको बताउनुभएको थियो ।

चीनले उत्तर कोरियासँग शान्ति वार्तागरी यसैका माध्यमबाट यो आणविक कार्यक्रम नियन्त्रण गर्न सकियोस् भन्ने चाहेको छ । चीनले सदैव उत्तर कोरियासँग वार्तागरी समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ ।

आणविक परीक्षणको यो पछिल्लो होडबाजीले विश्वमा युद्धको भय झन् बढ्दै गएको टिप्पणी गर्न थालिएको छ । उत्तर कोरियाले भने यो आणविक अस्त्रको होड रोक्ने बारेमा कुनै संकेत दिएको छैन ।

तर उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघले बारम्बार आणविक होड त्याग्न भनेपनि उसले निरन्तरता दिइरहेको छ । त्यसैले अमेरिकाको प्रस्तावमा उत्तर कोरियामाथि संयुक्त राष्ट्रसंघले नाकाबन्दी लगाएको हो ।

यो पछिल्लो नाकाबन्दी उत्तर कोरियामाथि लगाइएको यस वर्षको तेस्रो चरणको नाकाबन्दी हो । यसअघि पनि करिब पाँच हप्तामात्र अघि उत्तर कोरियाविरुद्ध अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियाको अर्थतन्त्रलाई नै तहस नहस पार्नेगरी नाकाबन्दी गरेको थियो ।

त्यसको पनि उत्तर कोरियाले कडा शब्दमा विरोध गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com