प्रदेश सभाको समानुपातिक तर्फको मतगणनापछि कुन प्रदेशमा कुन दलले कति पाए समानुपातिक सिट ?


प्रकाशित मिति : पुस ८, २०७४ शनिबार

निर्वाचन आयोगले गत मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सात वटै प्रदेशमा दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको छ ।

आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत वेगेन्द्रराज शर्माले आयोगमा आयोजित पत्रकार सम्मेलनमार्फत दलले प्राप्त गरेको कुल सिट संख्या २२० सार्वजनिक गरे ।
प्रदेशसभा कसको कति सिट
एमाले ७५, कांग्रेस ७२, माओ‌वादी केन्द्र ३५, संघीय फोरम १३, राजपा १२
सातवटै प्रदेशको समानुपातिकबाट दलहरूले पाउने सिटमा नेकपा एमाले नै पहिलो पार्टी भएको छ । प्रदेशको समानुपातिक नतिजामा कुल २ सय २० सिटमा एमालेले ७५ सिट पाएको छ ।
एमालेले सातै प्रदेशसभाको प्रत्यक्षतर्फ पनि कुल ३ सय ३० सिटमध्ये १ सय ६८ सिट पाएर पहिलो पार्टी भएको थियो । प्रदेशसभाको कुल ५ सय ५० सिटमा एमाले एक्लैले २ सय ४३ सिट जितेको छ ।

प्रदेशसभाको प्रत्यक्षमा ४१ सिट जितेको कांग्रेसले समानुपातिकमा ७२ सिट पाएको छ । प्रत्यक्षमा ७३ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३५ सिट पाएको छ । उक्त तीन दलका प्रतिनिधि मात्रै ७ वटै प्रदेशसभामा उपस्थित हुनेछन् ।
संघीय समाजवादी फोरम नेपाल प्रदेश १, २ र ५ मा तथा राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २, ५ र ७ मा मात्र प्रतिनिधित्व पाएको छ । प्रदेशसभामा प्रत्यक्षबाट २४ सिट जितेको फोरमले समानुपातिकमा १३ र प्रत्यक्षमा १६ सिट हात पारेको राजपाले समानुपातिकमा १२ सिट पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १, ३ र ६ को प्रदेशसभामा समानुपातिकबाट १÷१ सिट जितेर उपस्थिति जनाएको छ । नयाँ शक्ति पार्टीले प्रदेश ३ र ४ तथा राष्ट्रिय जनमोर्चाले प्रदेश ४ र ५ को प्रदेशसभामा स्थान पाएका छन् ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को उपस्थिति एक÷एक प्रदेशमा मात्रै भएको छ ।
कुन देशका कस्को कति सिट ?
आयोगले सार्वजनिक गरेको नतिजाअनुसार
प्रदेश १ को समानुपातिकतर्फका ३७ सिटमा एमालेले १५, कांग्रेसले ११, माओवादीले ५, फोरमले २, राप्रपाले १ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ सिट पाएका छन् । उक्त प्रदेशमा समानुपातिकतर्फ २७ वटा दल प्रतिस्पर्धी रहेकोमा ६ दलले मात्रै प्रतिनिधित्वको अवसर पाएका छन् । प्रत्यक्षतर्फ प्रदेश १ को प्रदेशसभाको ५६ निर्वाचन क्षेत्रमध्ये एमालेले ३६, माओवादीले १०, कांग्रेसले ८, संघीय समाजवादी फोरमले १ र स्वतन्त्रले १ सिट जितेका छन् ।

समानुपातिकतर्फका निर्वाचन अधिकृतसमेत रहेका आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले प्रदेशसभा निर्वाचन ऐनअनुसार समानुपातिकतर्फ सम्बन्धित प्रदेशमा सदर भएको कुल मतको डेढ प्रतिशत मत कटाउने दलले मात्रै सिट पाएको बताए । तर, कतिपय अवस्थामा डेढ प्रतिशतको थ्रेस होल्ड कटाएका दलले पनि सिट पाउन सकेका छैनन् । प्रदेश ४ मा राप्रपा र विवेकशील साझा पार्टी, प्रदेश ६ मा नेमकिपा तथा प्रदेश ७ मा राप्रपाले थ्रेस होल्ड कटाए पनि सिट पाएनन् । आयोगले समानुपातिकमा दलले पाउने सिट संख्या सेन्ट लग प्रविधिबाट निकालेको हो । उक्त विधिबाट धेरै मत ल्याउने माथिका दलहरूले बढी सिट पाउँदा थ्रेस होल्ड कटाएर पनि केही दलले सिट नपाएको सचिव पौड्यालले बताए ।

प्रदेश २ को समानुपातिकतर्फका ४३ सिटमा कांग्रेसले ११, राजपाले १०, फोरमले ९, एमालेले ७, माओवादीले ५ र नेपाल संघीय समाजवादी पार्टीले १ सिट पाएका छन् । २९ दल प्रतिस्पर्धी रहेकोमा ६ दलले मात्रै सिट पाएका छन् । प्रत्यक्षतर्फका ६४ सिटमा संघीय समाजवादी फोरमले २०, राजपाले १५, एमालेले १४, कांग्रेसले ८, माओवादीले ६ र स्वतन्त्रले १ सिट जितेका छन् ।

प्रदेश ३  को ४४ समानुपातिक सिटमा एमालेले १६, कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३, राप्रपाले १, नेमकिपाले १ र राप्रपा (प्रजातान्त्रिक) ले १ सिट पाएका छन् । त्यहाँ समानुपातिक सिटका लागि ३१ दलले प्रतिस्पर्धा गरेकामा ७ ले मात्रै सफलता पाएका छन् । प्रत्यक्षका ६६ सिटमा एमालेले ४२, माओवादीले १५, कांग्रेसले ७, नयाँ शक्ति पार्टीले १ र नेमकिपाले १ सिट जितेका छन् ।

प्रदेश ४ mको समानुपातिकतर्फका २४ सिटमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३, नयाँ शक्ति पार्टीले १ र राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् । उक्त प्रदेशमा समानुपातिक प्रतिस्पर्धामा २० दल सहभागी थिए । त्यहाँ प्रत्यक्षका ३६ सिटमा एमालेले १७, माओवादीले ९, कांग्रेसले ६, राष्ट्रिय जनमोर्चाले २, नयाँ शक्ति पार्टीले १ र स्वतन्त्रले १ सिट जितेका छन् ।

 प्रदेश ५  को ३५ समानुपातिक सिटमा एमालेले १३, कांग्रेसले १२, माओवादीले ६, फोरम नेपालले २, राजपाले १ र राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् । त्यहाँ २७ दल प्रतिस्पर्धी थिए । प्रत्यक्षका ५२ सिटमा एमालेले २८, माओवादीले १४, कांग्रेसले ७ र फोरमले ३ सिट जितेका छन् ।

 प्रदेश ६  मा एमालेले ६, कांग्रेसले ५, माओवादीले ४, राप्रपाले १ सिट पाएका छन् । त्यहाँ १८ दल प्रतिस्पर्धी थिए । प्रत्यक्षका २४ क्षेत्रमा एमालेले १४, माओवादीले ९ र कांग्रेसले १ सिट जितेका छन् ।

प्रदेश ७ को समानुपातिकतर्फ २१ सिटमा कांग्रेसले ८, एमालेले ८, माओवादीले ४ र राजपाले १ सिट पाएका छन् । उक्त प्रदेशमा समानुपातिकतर्फ २० दल प्रतिस्पर्धी रहेकोमा ४ दलले मात्रै सिट जित्न सफल भए । प्रत्यक्षतर्फका ३२ सिटमा एमालेले १७, माओवादीले १०, कांग्रेसले ४ र राजपाले १ सिटमा जित हात पारेका छन् ।

आयोगका सचिव पौड्यालले प्रदेशसभातर्फ पाएको सिट संख्याअनुसार उम्मेदवारहरूको नाम पेस गर्न सिट पाउन सफल दलहरूलाई पत्राचारको तयारी गरिएको बताए । उनका अनुसार दलहरूलाई पुस ८ देखि ७ दिनको समय दिएर पाएको सिट संख्याअनुसार बन्दसूचीबाट उम्मेदवारको नाम पठाउन पत्राचार गर्ने तयारी छ ।
यसरी आयोगको नतिजा हेर्ने हो भने ७ ओटा प्रदेश मध्य २ नम्वर प्रदेशमा फोरम र राजपा या फोरमले बलियो देखिएका छन् उनि दुईं पार्टीले अन्य कुनै पाटी सगं सहकार्या गरेर प्रदेश सरकार गठन गर्ने देखिन्छ भने अन्य ६ ओटा प्रदेशमा बाम गठबन्धनले प्रदेश सरकार गठन गर्ने सक्ने छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com