परम्परागत कुप्रथाविरुद्ध धार्मिक अगुवा एकजुट


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

पुस ४ बाँके, बाल विवाहलगायत महिलामाथि हुने हिंसालाई धार्मिक ग्रन्थले निरुत्साहित गरेको भन्दै बाँकेका धार्मिक गुरुहरूले ग्रन्थमा भएका राम्रा कुरा कार्यान्वयन गर्न एकजुट भएर अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन्।

जिल्ला बालकल्याण समिति, महिला तथा बालबालिका कार्यालय र सिविन नेपाल बाँकेको संयुक्त आयोजना एवम् महिला हिंसाविरुद्धको राष्ट्रिय संजाल तथा प्लान इन्टरनेशनलको सहकार्यमा नेपालगंजमा भएको कार्यक्रममा धार्मिक अगुवाहरूले बाल विवाह न्यूनीकरण गर्न र परम्परागत हानिकारक अभ्यासका विरुद्ध अभियान थाल्ने प्रतिबद्धता जनाएका हुन्। भेलाले बाँके जिल्लामा जिल्लास्तरीय अन्तरधार्मिक संजाल गठन गरेको छ। संजालको अध्यक्षमा उबेद खान, उपाध्यक्षमा हरि भण्डारी, सचिवमा रेखादेवी मिश्र र कोषाध्यक्षमा गुनबहादुर लामा चयन भएका छन्।

त्यसैगरी, सदस्यमा अजित सिंह, नारायण सुवेदी, विश्वजित तिवारी, गंगाराम ओली, राधेश्याम मोहरिया चयन भएका छन्। महिला हिंसाविरुद्ध अन्तरधार्मिक संजालका सचिव हर्षबहादुर थापा र नाहिदा बानुले सहजीकरण गरेको कार्यक्रममा प्लान नेपालका बालिका पैरवी संजाल परियोजना प्रमुख शशि अधिकारी श्रेष्ठ, प्लान इन्टरनेशनल नेपालगंज युनिटका प्रमुख प्रेमराज पन्त, कमला राई, सिविन नेपाल काठमाडौँका सरिन वैद्य, इस्लाम धर्म गुरु, ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयका प्रतिनिधि, बौद्ध, शिख, इसाई, हिन्दू धर्मका अगुवालगायतको सहभागिता रहेको थियो। बालकल्याण अधिकारी एवम् महिला विकास अधिकृत शोभा शाहको अध्यक्षता एवम् सिविन नेपालगंजका प्रमुख सिद्धराज पनेरुले संचालन तथा स्वागत गरेको कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापा, राष्ट्रिय मानवअधिकार आयोग नेपालगंजका मानवअधिकार अधिकृत मानबहादुर कार्की, उच्च अदालत बार एसोसिएसनका अध्यक्ष बलबहादुर चन्द, जिल्ला बारका उदयराज बर्मालगायत बालबालिकाको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाका प्रमुखसमेतले धार्मिक ग्रन्थमा उल्लेख भएका कुरालाई व्यवहारमा लागू गर्न सुझाव दिए।

इस्लाम धर्मका गुरु मौलाना ओवेदले इस्लाम धर्मग्रन्थमा बाल विवाह र बहुविवाह बन्देज रहेको बताए। उनले धर्मग्रन्थमा भएको कुरालाई बंग्याउने र गलत अर्थ लगाउने गरेको बताउँदै धर्मग्रन्थमा भएको कुरा पालना गरे बाल विवाह र बहुविवाह न्यूनीकरण हुने धारणा राखे।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com