नेपालमै बसी बसी अमेरिकाको ग्रिनकार्ड


प्रकाशित मिति : आश्विन ७, २०७३ शुक्रबार

अमेरिकामा आउने कैयन खेलाडी, पत्रकार र कलाकारले असाधारण योग्यताको ग्रिनकार्ड प्राप्त गर्ने गरेका छन् । अमेरिकामा विभिन्न भिसामा आइसकेपछि उनीहरुले असाधारण योग्यताको श्रेणीको ग्रिनकार्डका लागि आफू योग्य भएको दावी गर्दै आवेदन दिने गर्छन् । उनीहरुको आवेदन स्वीकृत भइसकेपछि उनीहरुले अमेरिकामा स्थायी रुपमा बसोबासका लागि अनुमतिपत्र ग्रिनकार्ड पाउने गरेका छन् । कैयन नेपाली कलाकारले त दलाललाई लाखौं रकम बुझाएर अमेरिकामा आएर समेत असाधारण योग्यताको श्रेणीमा ग्रिनकार्ड प्राप्त गरेका छन् । तर यदि कोही व्यक्ति क्षमतावान छ भने नेपालमा नै बसेर अमेरिकाको ग्रिनकार्डका लागि आवेदन दिन सक्छ ।

यदि कुनै व्यक्तिको असाधारण योग्यता छ भने र त्यो व्यक्तिले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न चाहन्छ भने उसले ग्रिनकार्डका लागि आवेदन दिनका लागि अमेरिका आइरहन पर्दैन । अमेरिकामा विगत साढे २ दशकदेखि कानुन व्यवसायमा सकृय नेपाली कानुन व्यवसायी खगेन्द्र क्षेत्री भन्नुहुन्छ– ‘त्यस्ता क्षमतावान व्यक्तिले नेपालमै बसेको अवस्थामा पनि ग्रिनकार्डका लागि आवेदन दिनसक्छन् । यदि ग्रिनकार्डको आवेदन स्वीकृत भएमा त्यस्तो व्यक्तिले डिभी परेका व्यक्तिले जस्तै सिधै अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नसक्छ । ’

Khagendra_GC
कानुन ब्यवसायी खगेन्द्र क्षेत्री

अमेरिका आइसकेका व्यक्तिले दिने आवेदन र नेपालमा नै रहेका व्यक्तिले दिने आवेदनको प्रकृया एउटै भएका कारण आवेदन स्वीकृतिको चान्स पनि एउटै भएको कानुन व्यवसायीको भनाई छ । कानुन व्यवसायी क्षेत्री भन्नुहुन्छ –‘जसरी असाधारण योग्यता भएको व्यक्तिले अमेरिकामा आइसकेपछि यो श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिन्छ, त्यसरी नै नेपालमा रहेको व्यक्तिले अमेरिकाको कुनै कानुन व्यवसायी लिएर ग्रिनकार्डका लागि आवेदन दिनसक्छ । फरक यत्ति हो कि अमेरिकामा रहेको व्यक्तिको ग्रिनकार्ड स्वीकृत हुँदा ऊ बसिरहेको अमेरिकाको ठेगानामा ग्रिनकार्ड आउँछ । तर नेपालमा बसिरहेको व्यक्तिको ग्रिनकार्ड स्वीकृत भएमा अमेरिकाको नेशनल भिसा सेन्टरले स्वीकृत भएको विवरण नेपालको अमेरिकी दूतावासमा पठाउँछ ।’

नेपालको दूतावासमा आप्रवासी भिसाका लागि आवेदन दिएपछि दूतावासले ग्रिनकार्ड स्वीकृत भएको व्यक्तिलाई भिसा उपलब्ध गराउँछ । अमेरिकामा आइसकेपछि सुरुमा कहाँ बस्ने भन्ने ठेगाना दूतावासमा उपलब्ध गराउनुपर्छ । त्यही ठेगानामा अमेरिकी सरकारको युएससीआईएसले हुलाकमार्फत ग्रिनकार्ड पठाइदिन्छ । अन्य आप्रवासी भिसा सरह नै असाधारण योग्यताको श्रेणीमा ग्रिनकार्ड स्वीकृत भएका व्यक्तिले पनि ग्रिनकार्ड प्राप्त गर्न सक्छन् भने अमेरिकामा आइसकेपछि ग्रिनकार्डका लागि आवेदन दिँदा अमेरिकाको सरकारले लिने शुल्क र नेपालबाट लाग्ने शुल्क पनि उस्तै भएकाले क्षमतावान व्यक्तिले नेपालबाटै आवेदन दिएर सहजै ग्रिनकार्ड प्राप्त गर्न सक्छन् ।

bashu-fulara
कानुन ब्यवसायी बासु फूलारा

अमेरिकाका चर्चित तथा युवा नेपाली कानुन व्यवसायी बासु फूलारा भन्नुहुन्छ –‘ तपाईको विज्ञान, कला, शिक्षा, ब्यापार र खेलकुदमा असाधारण योग्यता, प्रतिभा र सामथ्र्य छ भने वा उल्लेखित क्षेत्रमा तपाईले आफ्नो नाम सबैभन्दा माथि राख्नु भएको छ भने तपाईले राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको उपलब्धीको विस्तृत र दरिलो प्रमाण वा दस्तावेजका आधारमा तपाईले आफूलाई असाधारण व्यक्ति प्रमाणित गर्दै ग्रिनकार्डका लागि आवेदन दिनसक्नुहुनेछ । तर त्यसका लागि तपाईले आफूलाई राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त व्यक्ति प्रमाणित गर्न सक्नुपर्छ । तपाईले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कमाएको ख्यातीले अमेरिकाको कार्यान्यवन गर्ने कानुनमा उल्लेखित १० वटा योग्यताप्राप्त आधारमध्ये तीनवटा प्रमाणित गर्न सक्नुपर्छ ।’

खुशीको कुरा के छ भने यसरी ग्रिनकार्डका लागि निवेदन दिंदा कुनै रोजगारीको प्रस्ताव या स्पोन्सरको आवश्यकता पर्दैन । अमेरिकाको अध्यागमन कानुन अनुशार कुनै व्यक्ति अमेरिकामा आउँदा असाधारण योग्यता भएको क्षेत्रमा काम जारी राख्ने प्रतिवद्धता देखाउनुपर्छ । त्यस्तै आवेदकको अमेरिकाको आगमनले गर्दा अमेरिकालाई लाभ हुनुपर्छ ।

यो पनि पढ्नुहोस्

बोलवाला बासु : न्युयोर्क टप्ने प्रयासमा स्कुलदेखि कलेज टपर वकिल 

 

कस्तो व्यक्तिले असाधारण योग्यताको ग्रिनकार्ड प्राप्त गर्छ ?

असाधारण योग्यताको आधारमा ग्रिनकार्ड प्राप्त गर्ने विधिलाई रोजगारमा आधारमा ग्रिनकार्ड प्राप्त गर्ने पहिलो श्रेणी भनिन्छ । इबी वान श्रेणीको ग्रिनकार्डका लागि आवेदन दिने व्यक्तिले तोकिएका १० वटामध्ये तीनवटा विषय प्रमाणित गर्नसक्नुपर्ने अमेरिकी सरकारको युएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसले जनाएको छ । कुनै व्यक्तिले राष्ट्रिय स्तरको पुरस्कार पाएको छ , उसको बारेमा राष्ट्रिय स्तरका पत्रिकाहरुमा लेखरचनाहरु प्रकाशित भएका छन् र उसले सम्बन्धित राष्ट्रिय स्तरकै कुनै काममा निर्णायक मण्डलमा रहेर काम गरेको कुरा अमेरिकी सरकार समक्ष प्रमाणित गर्न सकेको खण्डमा उसले असाधारण योग्यताको श्रेणीमा ग्रिनकार्ड प्राप्त गर्नसक्छ ।

राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको, आफ्नै क्षेत्रको कुनै प्रतिष्ठित संस्थामा सदस्य रहेको, राष्ट्रिय पत्रिकामा उसको बारेमा सामाग्रीहरु प्रकाशित भएको, कुनै प्रतियोगितामा निर्णायक मण्डलमा रहेर काम गरेको, आफ्नै क्षेत्रको सन्दर्भमा राष्ट्रिय प्रकाशनमा विशेष प्रकारको लेख लेखेको, कुनै विशिष्ट क्षेत्रमा वैज्ञानिक, बौद्धिक, कलात्मक, खेलबाट वा विजनेश सम्बन्धित विशिष्ट योगदान दिएको, कलाकार भएको खण्डमा उसको कला प्रर्दशनीमा राखिएको, कुनै संगठनमा बसेर नेतृत्वदायी र महत्वपूर्ण भूमिका खेलेको, आफ्नो क्षेत्रको काममा उच्च तलब प्राप्त गरेको र कलाकार भएको खण्डमा उसले व्यवसायिक रुपमा सफलता प्राप्त गरेको १० वटा बुँदाहरुमध्ये ३ वटामात्रै बुँदा प्रमाणित गर्न सकेको खण्डमा त्यो व्यक्तिले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सक्छ ।

green-card

यदि कुनै व्यक्ति कलाकार, पत्रकार वा खेलाडी नभई असाधारण योग्यताको प्राध्यापक वा शोधकर्ता छ भनेपनि उसले असाधारण योग्यताका आधारमा अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सक्छ । तर त्यसका लागि उसले विभिन्न ६ वटामध्ये २ वटा कुराहरु प्रमाणित गर्न सक्नुपर्छ । आफ्नो क्षेत्रका आधारमा राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गरेको, उसको क्षमताका कारण सम्बन्धित संस्थामा सदस्यता प्राप्त गरेको, उसको बारेमा राष्ट्रिय स्तरका संचारमाध्यममा प्रकाशित भएको, आफ्नै क्षेत्रको काममा निर्णायक मण्डलमा रहेर काम गरेको, ओरिजिनल रिसर्च गरेको, आफ्नो क्षेत्रमा पुस्तक निकालेको वा कुनै जर्नलमा लेखहरु लेखेकोमध्ये दुईवटा विषय प्रमाणित गर्न सक्ने प्राध्यापक वा शोधकर्ताले पनि विशिष्ट श्रेणीको ग्रिनकार्ड प्राप्त गर्न सक्ने युएससीआईएसले जनाएको छ । कानुन व्यवसायी क्षेत्री भन्नुहुन्छ –‘उत्कृष्ट प्राध्यापक वा शोधकर्ताले ग्रिनकार्डका लागि आवेदन दिंदा उसको क्षमता अमेरिकाको राष्ट्रिय स्वार्थसँग मेल खाने प्रमाणित गर्न सक्नुपर्छ । अन्यथा अमेरिकाबाट रोजगारदाताले जागिरका लागि अफर गरेको पत्र आवश्यक पर्छ । ’

कतिले पाउनसक्छन् यसरी ग्रिनकार्ड ?

प्रत्येक बर्ष अमेरिकामा विश्वका १ लाख४० हजार आप्रवासी निवेदकहरुले रोजगारीमा आधारित ग्रीनकार्ड प्राप्त गर्न सक्छन् । तर एउटा देशका नागरिकले उपलब्ध कोटा १ लाख ४० हजारको अत्याधिक ७ प्रतिशत अर्थात ९ हजार ८ सय जनालेमात्र ग्रीन कार्ड लिन पाउछन । गणितीय हिसाब ले भन्नु पर्दा कुल १ लाख ४० हजार ग्रीनकार्ड मध्ये संसारभरका हरेक देशलाई बराबार ७ प्रतिशतका हिसाबले भाग लगाउदा एउटा देशलाई ९ हजार ८ सय ग्रिनकार्डको कोटा पर्न आउ“छ ।

कानुन व्यवसायी फूलारा भन्नुहुन्छ –‘यसरी कोटा निर्धारण गर्दा पहिले १ लाख ४० हजार ग्रीन कार्ड कोटालाई विभिन्न रोजगारीका आधारमा ५ वटा अर्थात् इबी वानदेखि इबी फाइभसम्म ग्रीन कार्ड पाउने वर्ग अर्थात् भागहरुमा प्रतिशत र संख्या का आधारमा विभाजन गरिन्छ । त्यसपछि हरेक देशलाई बर्गिकृत ग्रीनकार्डका ५ वटा आधारहरुलाई आफुले बर्षेनी निवेदन गर्न पाउने ७ प्रतिशत अर्थात अत्याधिक संख्या ९ हजार ८ सयलाई नियम बमोजिम सदुपयोग गर्न सकिन्छ । ’

अमेरिकामा बर्षेनी १ लाख ४० हजारवटा रोजगारीमा आधारित ग्रीनकार्डको कोटा संसारभरका मुलुकलाई उपलब्ध हुने भएपनि त्यसका लागि केही मापदण्डहरु पुरा गर्नुपर्छ । ईबी वानको प्राथमिकतामा पर्ने व्यक्तिहरु असाधारण प्रतिभा भएको हुनुपर्छ । कला, खेल लगायतका क्षेत्रमा विशेष क्षमता भएकाहरु, उत्कृष्ट प्राध्यापक र अनुसन्धान कर्ताहरु ले १ लाख ४० हजारको २८.६ प्रतिसत अर्थात ४० हजारसम्म ग्रीनकार्ड पाउछन् । यसमा नेपालको कोटामात्र २८ सय २ हुन आउछ । इबी टुको प्राथमिकतामा पर्ने व्यक्तिहरु उच्च श्रेणीका डीग्री भएका व्यवसायीहरु र असाधारण प्रतिभा भएका व्यक्तिले पनि १ लाख ४० हजारको २८.६ प्रतिसत अर्थात ४० हजार सम्म ग्रीन कार्ड पाउछन । यसमा पनि नेपालको कोटामात्र २८ सय २ हुन आउछ ।

५ करोड लगानी गर्नेलाई पनि ग्रिनकार्ड

कुनै व्यक्ति क्षमतावान छैन तर उसँग प्रसस्त पैसा छ भने पनि उसले अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्नसक्छ । अमेरिकामा ५ लाख डलर अर्थात् झण्डै ५ करोड नेपाली रुपैया लगानी गर्न नेपालमा रहेको कोही व्यक्ति सक्षम छ भने उसले सपरिवार अमेरिकाको ग्रिनकार्ड प्राप्त गर्न सक्छ । त्यसका लागि उसले अमेरिकामा रहेको कुनै कानुन व्यवसायीलाई लिएर आवेदन दिनुपर्छ । कानुन व्यवसायी क्षेत्री भन्नुहुन्छ –‘श्रोत देखाएर त्यो पैसा अमेरिका ल्याउन मिल्छ । नेपालमा जग्गा बेचेर वा अरु कुनै ब्यापारबाट पैसा कमाएको छ भने अमेरिकामा विजनेश सुरु गरेर सपरिवार ग्रिनकार्ड पाउनसक्छ । ’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com