क्यान्सर, मिर्गौला र स्पाइनलका बिरामीलाई मासिक पाँच हजार दिने प्रस्ताव


प्रकाशित मिति : २ पुस २०७४, आइतबार

२ पुस, काठमाडौं । स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगी, मिर्गौला रोगको डायलासिस र स्पाइनल कर्ड इन्जुरी भएका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ भत्ता दिने प्रस्ताव अघि सारेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मलेनको आयोजना गरी उक्त प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने तयारी गरिरहेको जानकारी दिइएको हो ।

उक्त प्रस्ताव बैठकले पारित गरेलगत्तै मिर्गौलाको डायलासिस, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका विरामीले मासिक भत्तास्वरुप उक्त रकम प्राप्त गर्न सक्नेछन् ।

मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरी भएका झण्डै १७ हजार बिरामीलाई उक्त भत्ता वितरण गर्न मन्त्रालयलाई छ महिनाको अवधीमा करिब ७८ हजार रुपैयाँ आवश्यक पर्नेछ भने आउँदो वर्षदेखि झण्डै दुई अर्व रुपैयाँ आवश्यक पर्नेछ ।

सूर्तीजन्य पदार्थमा लाग्ने करबाट उठेको रकमको केही हिस्सा मासिक भत्ताका लागि प्रयोग गरिने स्वास्थ्य मन्त्री दीपक बोहराले जानकारी दिए ।

‘प्रत्येक वर्ष नेपालमा यो रोगका विरामीको संख्या हजारदेखि १५ सयको हाराहारीमा बढ्दो क्रममा छ । उनीहरुको उपचारमा सहुलियत कम भएको तथा दैनिक जीवनयापन अत्यन्त कष्टकर हुने भएकोले जीवन निर्वाहका लागि बिरामीहरुलाई मासिक पाँच हजार भत्ताको व्यवस्था गर्नको लागि यो प्रस्ताव आगामी मन्त्रीपरिषद्को वैठकमा लग्न लागिएको हो ।’ मन्त्री बोहराले भने ।

हाल स्वास्थ्य मन्त्रालयले मिर्गौला, क्यान्सर, स्पाइनल कर्ड इन्जुरी, बाथ मुटु रोग लगायतका १२ प्रकारका रोगको उपचारका लागि एक लाख रुपैयाँ खर्च दिदै आएको छ ।

साथै मिर्गौला रोगका बिरामीका लागि निःशुल्क डायलासिस सेवा उपलब्ध गराउँदै आएको पनि स्वस्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com