सरकारले जनादेश रोक्ने दुस्प्रयास गरेको नेम्वाङको आरोप


प्रकाशित मिति : पुस २, २०७४ आईतबार

पुस २, दमक पूर्वसभामुख एवं एमाले नेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले जनताको जनादेशलाई रोक्ने दुसप्रयास गरेको आरोप लगाएका छन् । उनले राष्ट्रियसभा विद्येयकका नाममा बखेडा झिकेर जनादेश प्राप्त जनप्रतिनिधिलाई आफ्नो काम गर्नबाट बञ्चित गराउन खाजेको धारणा राखे ।

दमकमा आइतबार बिहान पत्रकार भेटघाटमा नेम्वाङले नयाँ सरकारका लागि तत्काल बाटो खोलिदिन प्रधानमन्त्री समक्ष आग्रह गरे । उनले भने, ‘बखेडा झिकेर जनताबाट प्राप्त जनादेशलाई सरकारमा जानबाट रोक्न मिल्दैन । प्रधानमन्त्री शेरबहादुर देउवाजीले जतिसक्दो चाडो बाटो खुल्ला गरिदिनुपर्छ ।’ उनले राष्ट्रियसभा विद्येयक ल्याउन सरकारले ढिला गरेको बताए । त्यो विद्येयक निर्वाचनअघि नै ल्याउनुपथ्र्यो । अहिले निर्वाचन परिणाम आईसकेपछि विद्येयक ल्याएकोले यस्तो समस्या देखिएको हो’ उनले थपे,‘ त्यसमाथि एकलसंक्रमणीय भनिएको छ । जुन संविधान विपरीत छ ।’

नेम्वाङले संविधानमा सामान्य बहुमत भनी उल्लेख हुँदाहुँदै एकल संक्रमणीय भनि जिद्दी कस्नु निर्वाचन परिणामबाट हतास मनस्थिति भएको टिप्पणी गरे । उनले संविधानमा व्यवस्थै नभएको निर्वाचन प्रणाली जबरजस्ती लाद्न खोजेको बताए । उनले कांग्रेसले आफ्नो संख्या बढाउन यस्तो बखेडा झिकेको आरोप लगाए । उनले संविधान कार्यान्वयनका लागि निर्वाचन स्वीकार्ने दललाई संविधानले व्यवस्था गरेको प्रणालीहरु स्विकारेर जान सुझाव दिए । उनले संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया विगतभन्दा फरक रहेको स्मरण गराए । नेम्वाङ्गले संघीय सरकार प्रमुखको नियुक्ती दलहरुको सल्लाहबमोजिम गर्नुपर्ने बताए ।

नेम्वाङले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया नियमित रहेको बताए । उनले निर्वाचन परिणामबाट दुवै पार्टी दम्भमा नगई संयमित रहेकोले पार्टी एकतामा कुनै शंका नगर्न आग्रह गरे । इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङले एक साता लगाएर मतदातालाई धन्यवाद दिएका छन् । धन्यवाद कार्यक्रम सकेर नेम्वाङ आइतबार बिहानै राजधानी फर्किए । राजधानी फर्किनुअघि नेम्वाङ्गले इलाम २ मा विकास निर्माणले अब तीव्रता पाउने विश्वास दिलाए । उनले भने, ‘म पहिला पनि त्यही क्षेत्रबाट निर्वाचित भए पनि भनेजस्तो काम गर्न सकिन । विभिन्न बाधाअवरोध सहनु पर्‍यो । अब, त्यस्तो कुनै समस्या छैन । मेरो ध्यान विकास निर्माणमा मात्रै केन्द्रित हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com