अब बन्नेछ मधेस प्रदेश : उपेन्द्र यादव


प्रकाशित मिति : मंसिर २६, २०७४ मंगलबार

२६ मंसिर, सप्तरी । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेसको जनमतले संविधान संशोधनको आवश्यकतालाई छर्लङ्ग पारेको बताएका छन् ।

सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादवले मधेश समस्या समाधान नभएसम्म राष्ट्रिय समस्या समाधान नहुने दाबी गरे । मंगलबार राजविराजमा निकालिएको विजयी र्‍यालीलाई सम्बोधन गर्दै यादवले भने, ‘मधेसमा समस्या छैन भनेर जसरी केहि नेताहरुले भन्दै आएका थिए, अब उनीहरुको मुख बन्द हुनेछ ।’

मधेसको चुनावी परीणामले संविधान अधुरो रहेको र संघीयता, समावेशीता, प्रादेशिक स्वायत्तता र स्वशासनको सवालमा मधेस एकमत रहेको देखाएको उनको विश्लेषण छ ।

निर्वाचनले अब भेदभाव नचल्ने र बराबरीको हक चाहिने सन्देश दिएको अध्यक्ष यादवले बताए । मधेसमा यही मुद्दा सम्बोधन गर्न आन्दोलन भएपनि राज्यले नसुनेको भन्दै उनले निर्वाचनबाट त्यहीँ जनमत आएकाले यसलाई सम्बोधन नगरेसम्म मुलुकको कुनै पनि समस्या समाधान नहुने बताए ।

अब बन्नेछ मधेस प्रदेश

फोरम अध्यक्ष यादवले प्रदेश २ अब मधेस प्रदेश बन्ने बताए । ‘आठ जिल्ला मधेसको आधारभूमि बन्नेछ’ उनले भने, ‘यो शोषण, उत्पीडनको अन्त्य गर्ने भूमि बन्नेछ ।’

प्रदेश २ मा प्रत्यक्षतर्फ फोरम र राजपाको गठबन्धनले बहुमत ल्याएको छ र यो गठबन्धनकै सरकार बन्ने देखिन्छ ।

यादवले प्रदेश २ लाई समृद्व र शक्तिशाली बनाउने दाबी गरे । ‘यो प्रदेशलाई पनि प्राकृतिक अधिकारमा हिस्सेदारी चाहिएको छ’ उनले भने, ‘यो लिनेछौं ।’

मनिषले भने-गल्ती गरे सचेत गराउनू

विजयी जुलुसलाई सम्बोधन गर्दै राजपा महासचिव एवं प्रदेशसभा सदस्यमा विजयी मनिष सुमनले जनताको सेवा गर्ने मौका प्राप्त भएको बताए । आफूले कुनै गल्ती गरे ‘रे मनिषबा’ अर्थात् ओ ! मनिष भन्दै सचेत गराउन उनले आग्रह गरे ।

मत दिने जनता र स्वस्थ्य प्रतिस्पर्धा गर्ने प्रतिस्पर्धीलाई धन्यवाद दिँदै उनले कुनै हिनता भए त्यसलाई त्यागेर काँधमा काँध मिलाएर अघि बढ्न आग्रह समेत गरे ।

विजयी जुलुसमा मधेसी गठबन्धनबाट सप्तरीबाट निर्वाचित तीन जना प्रतिनिधिसभा सदस्य र आठ जना प्रदेश सभा सदस्यको सहभागिता रहेको थियो । राजविराजबाट निकालिएको जुलुस नगरको बिभिन्न भाग परिक्रमा गरेको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com