भक्तपुरमा जोगियो बिजुक्छेंको विरासत, सुवाल झण्डै दोब्बर मतले विजयी
प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

भक्तपुर : भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल निर्वाचित भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार बाबुराजा जोशीले भन्दा झण्डै दोब्बर मत ल्याएर सुवाल बिजुक्छेको विरासत जोगाउन सफल भएका हुन्।
सोमबार सम्पन्न मतगणनामा सुवालले ३३ हजार ७६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ मत प्राप्त गरे। त्यस्तै, वाम गठबन्धनका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गरे। २०४८ सालपछिका हरेक निर्वाचनमा भक्तपुरको यस निर्वाचन क्षेत्रबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले जित हासिल गर्दै आएका थिए।
यसपटक भने उनले उम्मेदवारी नदिई पार्टीका सचिव प्रेम सुवाललाई उम्मेदवार बनाएका थिए। यसैगरी, भक्तपुर क्षेत्र नं १ को प्रदेश सभा ख मा नेपाल मजदुर किसान पार्टीका सुरेन्द्रराज गोसाइले वाम गठबन्धनका रोमन शिलाकारलाई १५ हजार ८ सय २२ मतान्तरले हराएका छन्। नेमकिपाका गोसाईले २३ हजार ८ सय ८५ मत ल्याएर विजयी हुँदा वाम गठबन्धनका शिलाकारले ८ हजार ६३ मा चित्त बुझाएका छन्। यस्तै, कांग्रेसका अनिल भुजुले ५ हजार ४ सय ४७ मत प्राप्त गरेका छन्।