सानै उमेरमा विवाह नगर्न किशोरकिशोरीलाई प्रनाउ खड्काको आग्रह
प्रकाशित मिति : मंसिर २५, २०७४ सोमबार

मंसिर २५, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आइतबार किशोरकिशोरीहरुलाई लैङ्गिक हिंसा, सकारात्मक सोच र मानव अधिकारका विषयमा अभिमुखीकरण भएको छ । गुड नेबर्स ईन्टरनेशनल, सिविन, संगम र कदम म्याग्दीको आयोजना तथा सहयोगमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत कार्यक्रम गरिएको हो ।
धौलागिरि गाउँपालिकाको बाल सञ्जालका पदाधिकारी र किशोरकिशोरी सहभागी कार्यक्रमको सहजीकरण गर्दै म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले सानै उमेरमा विवाह नगर्न किशोरकिशोरीहरुलाई आग्रह गरेकी छिन् । उनले आफ्नो पढाइलाई ध्यान दिएर मोबाइल तथा सामाजिक सञ्जालबाट टाढै बस्न आग्रह गर्दै प्रहरीमा पछिल्लो समय बालबालिकासम्बन्धी हिंसाका घट्नाहरु धेरै आउने गरेको बताइन् ।
कार्यक्रममा प्रनाउ खड्काले लैङ्गिक हिंसा, घरेलु तथा महिला हिंसा, हिंसामा पर्ने समूह, हिंसाका प्रकार, सामाजिक सञ्जाल, न्युनीकरणका प्रयास र उपाय, कानुनी उपचारलगायत विविध विषयहरुमा सहजीकरण गरेकी थिइन् । सोही कार्यक्रममा बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले किशोरावस्था धेरै चन्चले उमेर भएकाले खानपान, लवाइखुवाई र पढाइलाई ध्यान दिनुपर्ने बताइन् ।
उक्त कार्यक्रममा आज अन्तर्राष्ट्रिय मानव अधिकारको दिवसमा मानवअधिकारकर्मी मुक्ति ढुङ्गाना र सकारात्मक सोचसम्बन्धी विषयमा संगम म्याग्दीका अध्यक्ष दिपक पौडेलले सहजीकरण गरेका थिए । कार्यक्रममा धौलागिरि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा, गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष हरिप्रसाद पौडेल, गुड नेबर्स इन्टरनेशनल जिल्ला संयोजक टुपेन्द्र खुलाल, सिविनका जिल्ला प्रमुख प्रेम सोङमेन लगायतको सहभागिता रहेको थियो ।