वाम गठबन्धनको एकलौटी


प्रकाशित मिति : मंसिर २४, २०७४ आईतबार

-दुर्गा खनाल, काठमाडौं

मंसिर २४, २०७४-मतपरिणाम घोषणा भइसकेकामध्ये २१ जिल्लाका सबै क्षेत्रमा वाम गठबन्धनले एकलौटी वर्चस्व कायम गरेको छ । ती जिल्लामा प्रतिनिधिसभाका साथै प्रदेशसभातर्फ सबै सिटमा वाम गठबन्धनले जित हासिल गरेको हो । गणना जारी रहेका केही जिल्लामा पनि एकल जित हुने गरी अग्रता देखिएको छ । विगतका चुनावमा पटक–पटक जित्दै आएका क्षेत्रमा समेत कांग्रेस पराजित भएको छ । परिणाम घोषणा भइसकेका हिमाली र पहाडी जिल्लाहरू अधिकांशमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

ताप्लेजुङ, सोलुखुम्बु, ओखलढुंगा, दोलखा, धादिङ, लमजुङ, मुस्ताङ, म्याग्दी, बागलुङ, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, बाजुरा, बझाङ, दार्चुला, बैतडी, खोटाङका प्रतिनिधिसभा र प्रदेशसभा सिटमा कांग्रेसका एक जनाले पनि जित्न सकेनन् । यिनमा गठबन्धनका तर्फबाट रुकुम पूर्व र पश्चिममा माओवादीका मात्र उम्मेदवार थिए भने बाजुरामा एमालेका मात्र उम्मेदवार थिए ।
२०६४ को चुनावबाहेक अन्य सबै चुनावमा कांग्रेसले जित्दै आएको मनाङ र सोलुमा यस पटक प्रदेशसभामा समेत कांग्रेस आउन सकेन । बागलुङमा एमाले र माओवादीसँग राष्ट्रिय जनमोर्चा पनि मिलेको थियो । त्यहाँका प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रमा तीन पार्टीका उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय जनमोर्चाबाट दुई जनाले प्रदेशसभामा जितेका छन् । विगतको कर्णाली अञ्चलका ५ जिल्लाबाट प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० वटा सिटमध्ये हुम्लाको प्रदेशसभाको एक सिटमा जीवनबहादुर शाहीले मात्र कांग्रेसबाट विजय हासिल गरेका छन् । अन्य सबै स्थानमा वाम गठबन्धनले जितेको छ । अघिल्लो चुनावमा ८० मतमा चित्त बुझाएको एमालेले यस पटक मनाङमा विजयी झन्डा फहराएको छ । सबै मतपरिणाम आएका जिल्लामध्ये रसुवामा मात्र वाम गठबन्धनले कुनै विजय हासिल गर्न सकेन ।
केही स्थानमा भने निकै फराकिलो मतान्तरमा वाम गठबन्धनका उम्मेदवारले जितेका छन् । सबैभन्दा बढी मतान्तरमा विजयी हुनेमा दोलखाबाट एमालेका पार्वत गुरुङ रहेका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुद्र खड्काभन्दा ३० हजार ६ सय ४४ बढी मतको अन्तरमा जिते । गुरुङले ५५ हजार ४ सय ५७ मत ल्याए । धादिङ–१ मा एमालेका भूमि त्रिपाठीले पनि २७ हजारभन्दा बढी मतको अन्तरमा कांग्रेसका विश्वप्रसाद अर्याललाई हराए । रुकुम पश्चिममा माओवादीका जनार्दन शर्माले १८ हजार ७ सय ४३ मतको अन्तरमा दोब्बर बढी मतसहित जितेका छन् । हुम्लामा धनबहादुर बुढाले झन्डै चौब्बर बढी मत ल्याएर जितेका छन् । ११ हजार ७ सय ६१ मतले बुढा विजय हुँदा उनका प्रतिद्वन्द्वीको ३ हजार १ सय ६७ मत मात्र आएको थियो । १० हजार बढीको अन्तरमा धेरै उम्मेदवारले जितेका छन् ।
दाङ–२ मा माओवादीका कृष्णबहादुर महरा, सिन्धुपाल्चोकमा अग्नि सापकोटा र जुम्लाबाट गजेन्द्रबहादुर महत विजय भएका छन् । एमालेबाट काठमाडौं–२ मा माधव नेपाल, ताप्लेजुङमा योगेश भट्टराई, ललितपुरमा कृष्णलाल महर्जन, बागलुङमा सूर्य पाठकले १० हजारभन्दा बढी मतको अन्तरमा हराएका छन् । गठबन्धनका तर्फबाट हालसम्म रुकुम पूर्वमा कमला रोका र ललितपुर–३ मा पम्फा भुसाल गरी दुई महिलाले जितेका छन् ।
प्रतिनिधिसभातर्फ मात्रको नतिजा हेर्दा सिन्धुपाल्चोकका दुवै र ललितपुरका तीनवटै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ‘हेभिवेट’ र राष्ट्रिय चासोका रूपमा हेरिएका केही क्षेत्रमा समेत वाम गठबन्धनका उम्मेदवारले जितेका छन् । सिन्धुपाल्चोक–२ मा राप्रपा प्रजातान्त्रिकतर्फबाट अध्यक्ष पशुपतिशमशेर राणा उम्मेदवार थिए, त्यहाँ एमालेका शेरबहादुर तामाङले उनलाई हराए । एमालेका रवीन्द्र अधिकारीले कास्कीमा, माओवादीका जनार्दन शर्माले रुकुममा लगातार तेस्रो पटक विजय हासिल गरे । ललितपुर–१ बाट पूर्वडीआईजी नवराज सिलवालले जितेका छन् । आईजीपी नियुक्ति प्रकरणमा असन्तुष्टि जनाउँदै राजीनामा दिएर एमाले प्रवेश गरेका सिलवालले लगत्तै टिकट मात्र पाएनन्, अर्थ राज्यमन्त्रीसमेत रहेका कांग्रेसका उदयशमशेर राणालाई हराए । चार पटकसम्म लगातार पराजय व्यहोर्दै आएका एमालेका कृष्णगोपाल श्रेष्ठले यस पटक काठमाडौं–९ बाट जिते । दुई पटकको काठमाडौंको पराजयपछि गृहजिल्ला पुगेका एमालेका योगेश भट्टराईले ताप्लेजुङबाट जिते ।
 काठमाडौं र मोरङको प्रतिनिधिसभाको परिणाम पनि रोचक बनेको छ । कांग्रेसले निकै आशा गरेको मोरङका ६ वटामध्ये पाँच सिट वाम गठबन्धन जित्यो । कांग्रेसका मीनेन्द्र रिजालले मात्र मोरङ–२ मा पार्टीको विरासत जोगाए । सरकारी कर्मचारीलाई डीभी/पीआरमा रोक लगाउने निर्णयबाट चर्चित बनेका एमालेका लालबाबु पण्डितले मोरङ–६ मा शेखर कोइरालालाई हराए । त्यस्तै मोरङ–४ मा कांग्रेसका महेश आचार्यमाथि माओवादीका अमनलाल मोदीले विजय हासिल गरे । काठमाडौंका १० मध्ये ५ सिट एमालेले जित्यो । काठमाडौं–५ को मतगणना जारी छ । गठबन्धनका तर्फबाट काठमाडौंमा माओवादी तीन जना उम्मेदवार थिए । काठमाडौं १, ६ र १० मा उम्मेदवारी दिएका माओवादीका तीनै जनाले हारे । काठमाडौं–४ मा भने एमालेका राजन भट्टराई कांग्रेसका गगन थापासँग पराजित भए ।
प्रदेश २ मा तुलनात्मक कमजोर 
अन्य ६ वटा प्रदेशमा रोचक विजय हासिल र अग्रता कायम गरिरहेको वामपन्थी गठबन्धन प्रारम्भिक गणनामा प्रदेश २ मा भने केही कमजोर देखिएको छ । यस प्रदेशमा ३२ वटा प्रतिनिधिसभा र ६४ वटा प्रदेशसभाका सिट छन् । अधिकांश स्थानमा एमाले र माओवादीका उम्मेवार पछि छन् । कांग्रेस, संघीय समाजवादी फोरम र राजपा अग्रस्थानमा देखिएका छन् । पछिल्लो परिणामअनुसार ३२ मध्ये ८ स्थानमा मात्र वाम गठबन्धनका उम्मेदवारको अग्रता छ । त्यसमध्ये बाराका दुई र सिरहाको गरी तीन क्षेत्रमा एमालेको अग्रता छ भने अन्य ५ स्थानमा माओवादी अगाडि छ । बाँकी २४ सिटमध्ये सप्तरी–२ मा फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भइसकेका छन् । अन्य २३ मा कांग्रेस र राजपा ८/८ र फोरम ७ सिटमा अग्रस्थानमा छन् । प्रदेशसभामा गणना भएका स्थानमध्ये १६ सिटमा मात्र वाम गठबन्धनका उम्मेदवारको अग्रता छ । अन्यत्र स्थानमा राजपा, फोरम र कांग्रेसको अग्रता छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com