जीतपछि बाबुराम, जनताले लगाएको गुन तिर्ने प्रतिबद्धता


प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

गोरखा क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभा सदस्यतर्फ जीत हासिल गरेका पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाली जनताले आफूप्रति अपार माया, सद्भाव र सहानुभूति देखाएको प्रतिक्रिया दिएका छन् ।

जीतको नतिजा आउनासाथ लोकान्तर डट्कमसँग संक्षिप्त कुरा गर्दै नेता भट्टराईले गोर्खाली जनताले लगाएको गुन निःस्वार्थ भावले त्यहाँका जनताको भलाइको निम्ति काम गरेर तिर्ने बताए । गोरखामा विकास, निर्माण र त्यहाँका जनताको सुख, दुःखमा सधैं काम गर्ने उनको भनाइ छ ।

‘गोरखामा विभिन्न विकास निर्माणका काम शुरु गरेको थिएँ, त्यसलाई अघि बढाउने अवसर र दायित्व फेरि प्राप्त भएको छ,’ भट्टराईले भने, ‘देशमा विकास र सुशासन कायम गर्न नयाँ शक्ति गठन भएको छ । त्यसलाई अघि बढाउन जनताले साथ दिनुभएको छ । त्यसप्रति गोर्खाली जनताप्रति आभार प्रकट गर्न चाहन्छु ।’
तपाईंका प्रतिद्वन्द्वी नारायणकाजी श्रेष्ठलाई पराजित गर्न कत्तिको कडा मिहिनेत गर्नुप–यो भन्ने प्रश्नको उत्तरमा डा. भट्टराईले उनी आफ्नो मित्र भएको र गोरखामा नआउन सुझाव दिएको स्मरण गरे ।

‘गोरखा तपाईंको कार्यक्षेत्र पनि होइन । जनतासँग भिजेर काम गर्नुपर्छ, अप्ेठरो पर्न सक्छ, तपाईं पनि चाहिने मित्र हो । गोरखामा चुनाव लड्न नआउनुस् भनेर सुझाव दिएको थिएँ । तैपनि उहाँ आउनुभयो,’ भट्टराईले थपे, ‘लोकतन्त्रमा हार÷जीत हुन्छ । यसलाई अन्यथा मान्नुहुँदैन ।’

नेकपा एमाले र माओवादी केन्द्र मिलेर तपाईंविरुद्ध भिड्दा पनि चुनाव जित्नुभयो, अब गोरखामा कसैगरी कहिल्यै कसैले बाबुरामलाई हराउन सक्दैन भनेर बुझ्न सकिन्छ भनेर सोधिएको प्रश्नको जवाफमा भट्टराईले लोकतन्त्रमा त्यस्तो दाबी गर्न नसकिने बताए ।

‘लोकतन्त्रमा हारजीत भइरहन्छ । मुख्य कुरा जनप्रतिनिधि भनेका सही अर्थमा जनताका सेवक हुन् । जनताको सेवा आजीवन निःस्वार्थ भावले गर्नेछु,’ भट्टराईले भने ।

लोकान्तरबाट

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com