‘के कांग्रेसले पाठ सिक्ला?’
प्रकाशित मिति : मंसिर २३, २०७४ शनिबार

चुनावको मतगणनामा वाम गठबन्धनले स्पष्ट अग्रता लिइरहँदा सामाजिक सञ्जालमा सत्तारुढ नेपाली कांग्रेसको कमजोर प्रदर्शनलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन्।
कतिपयले नेतृत्वको अदूरदर्शी र गलत नीतिले कांग्रेसलाई यो अवस्थामा पुर्याएको भन्दै पार्टीमा सांगठनिक परिवर्तनहरु हुनुपर्नेमा जोड दिएका छन्।
नेपालको सबैभन्दा पुरानो पार्टीमध्येको एक नेपाली कांग्रेस शनिवार बिहानसम्म प्रतिनिधि सभातर्फको मतगणनामा तेस्रो स्थानमा रहेको छ।
दुई वर्षअघि संविधानसभाबाट नयाँ संविधान बन्दा सत्ताको नेतृत्व नेपाली कांग्रेसले गरेको थियो।
संवाहक
दोस्रो र तेस्रो चरणको स्थानीय तहको चुनावसहित प्रदेश तथा प्रतिनिधि सभा चुनाव सो दलकै नेता शेरबहादुर देउवा नेतृत्वको सरकारले गराएको हो।
सामाजिक सञ्जाल ट्वीटरमा नागरिक अगुवा देवेन्द्रराज पाण्डेले लेखेका छन्, “विगतमा मुलुकको उन्नतिको संवाहक ठानिएको बीपीको लोकतान्त्रिक समाजवादी दल नवउदरवादी, ‘नवसामन्ती’हुँदै यो अवस्थामा आइपुग्नु दुःखको कुरा हो।”

पत्रकार केदार शर्माले पार्टीकै कमजोरीका कारण कांग्रेसको पक्षमा जनमत व्यक्त नभएको प्रतिक्रिया दिएका छन्।

उनले ट्वीटरमा लेखेका छन्, “यस पटक कांग्रेसले ल्याउने मत भनेको सच्चा कांग्रेसी मत नै हो, कुनै चामत्कारिक क्षमता बिनाको र अलोकप्रिय नेतृत्व तथा लोकमानदेखि सुशीला कार्कीसम्मका प्रकरणले पनि काट्न नसकेको मत जति आएपनि कांग्रेसजन दङ्ग परे हुन्छ र त्यसैका आधारमा आगामी राजनीति गरे हुन्छ।”
सर्वोच्च अदालतले नियुक्ति खारेज गरेका तात्कालीन अख्तियार प्रमुखविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावप्रति समर्थन नजनाएको कांग्रेसले तत्कालीन प्रधानन्याधीश कार्कीविरुद्ध भने महाभियोग प्रस्ताव दर्ता गराएको थियो।
एकजना टिप्पणीकार जुगल भुर्तेलले अब कांग्रेसले पार्टीभित्रको सुधारलाई जोड दिनुपर्ने धारणा राखेका छन्।
काँचुली
उनले लेखेका छन्, “यो जनताको आदेशलाई मनन गरेर पार्टीको काँचुली फेर्ने निर्णयको समय हो। पार्टीभित्रको संघर्ष कठिन छ तर समयको वेगलाई छेकेर बसेका चट्टानहरु पल्टाउनै नसकिने खालका छैनन्।”
प्रकाशक अजीत बरालले भूर्तेलसँगै मिल्दोजुल्दो धारणा राख्दै लेखेका छन्, “कांग्रेसको अबको बाटो: राम्रो प्रतिपक्षको भूमिका निभाउने, गगन थापाको नेतृत्वमा पार्टी संगठन सुधार्ने।”

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाकी नातिनी एवम् अभिनेत्री मनिषा कोइरालाले पनि चुनावी परिणामबारे सांकेतिक प्रतिक्रिया दिएकी छन्।
उनले ट्वीटरमा लेखेकी छन्, “मन जित्नका लागि जनताको काम गर्नुपर्छ र जनताका आकांक्षाहरुको पक्षमा उभिए मात्रै उनीहरु तपाईँलाई विश्वास गर्छन्।”
चुनावको प्रारम्भिक नतिजाबारे कांग्रेसले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।
यसअघि बीबीसीसँग कुरा गर्दै कांग्रेस नेता रामचन्द्र पौडेलले पहिलो चरणको चुनावको परिणामबाट सन्तुष्ट हुने ठाउँ नरहेको बताएका थिए।
शुक्रबारसाँझ पौडेलले भनेका थिए, “दोस्रो चरणको भर्खर गणना हुन लागेकाले त्यसबारे प्रतिक्रिया जनाउने बेला भएको छैन। तर पहिलो चरणको जे-जति परिणाम आएको छ त्यसमा सन्तुष्टि लिने ठाउँ देख्दिन।”