काठमाडौं १ मा प्रकाशमान विजयी, रविन्द्र मिश्रले जारी गरे वक्तब्य
प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।
सिंहले १० हजार ९ सय ३७ मत पाएका छन् । सिंहका निकटतम प्रतिद्वन्द्वी रविन्द्र मिश्रले १० हजार ११८ मत पाएर दोस्रो स्थान हासिल गरेका छन् । मिश्रले कांग्रेस नेता सिंहलाई सुरुदेखि नै पछ्याइरहे पनि जित्न सकेनन् । चुनाव जितेर मिश्रले आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउने रणनीति बनाएका थिए । वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले ५ हजार ३३५ मत ल्याए ।
प्रकाशमान सिंहको जितसँगै प्रतिनिधिसभामा नेपाली कांग्रेसले जितको पहिलो खाता खोलेको छ । काठमाडौं १ बाटै कांग्रेसले विजयी सुरुआत गरेको हो ।
यसैबीच चुनावी परिणामबारे मिश्रले वक्तब्य जारी गरेका छन् ।उनको वक्तब्य जस्ताको तस्तै
विवेकशील साझा पार्टीको तर्फबाट मैले काठमाडौं क्षेत्र नं १ मा प्रतिनिधिसभाका लागि दिएको उमेदवारीमा मलाई विश्वास गर्ने मतदाताहरू, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु।
काठमाडौं क्षेत्र नं १ बाट मेरोभन्दा ८१९ मत बढी लेराएर लगातार तेस्रो पटक विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिँहलाई मैले एकैछिन अघि फोन गरेर बधाई तथा शुभकामना दिएको छु।
विवेकशील साझा पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना सङ्गठन उमेदवारी दिँदा पनि म लगायत हाम्रो पार्टीलाई भरपर्दो विकल्पका रूपमा हेरिएको तथ्यलाई मैले अत्यन्तै उत्साहजनकरूपमा लिएको छु।
“यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व” नाराका साथ चुनावमा होमिएको विवेकशील साझाले राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट जित्नु र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने थियो। समानुपातिकतर्फ विवेकशील साझाले सोचेभन्दा बढी मत हासिल गर्ने अपेक्षा गरेका छौं।
समष्टिगतरूपमा भन्नुपर्दा, नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा संभवतस् कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन। अब देशभरी अभिव्यक्त सदभावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरूलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ।
यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौँ। गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो ।
रवीन्द्र मिश्र
उमेदवार, काठमाडौं क्षेत्र नं १
संयोजक, विवेकशील साझा पार्टी