रुकुम पश्चिम र पूर्व दुवै जिल्लामा माओवादीद्वारा क्लीन स्वीप
प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

२२ मंसिर, रुकुम । रुकुम पश्चिम र रुकुम पूर्व दुबै जिल्लामा माओवादी केन्द्रले क्लीन स्वीप गरेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सबै सिटमा माओवादी उम्मेदवारहरु विजयी भएका छन् ।
रुकुम पश्चिममा प्रतिनिधिसभामा जनार्दन शर्मा प्रभाकर फराकिलो मतअन्तरले विजयी भएका छन् । विनाविभागीय मन्त्री समेत रहेका शर्माले कांग्रेस उम्मेदवार गोपाल जी जंग शाहलाई १८ हजार ७४३ मतअन्तरले हराएका छन् ।
शर्माले ३४ हजार ४०२ मत पाएर विजयी हुँदा कांग्रेसका शाह १६ हजार ६५९ मतमा रोकिए ।
यसैगरी पश्चिम रुकुमको प्रदेशसभातर्फ पनि दुबै सिटमा माओवादी केन्द्र विजयी भएको छ । प्रदेशसभा कमा रातो कामी र खमा गोपाल शर्मा विजयी भएका हुन् ।
प्रदेशसभा कमा रातो कामी विजयी भएका छन् । उनले कांग्रेसका कृष्णबहादुर रोकायालाई ८ हजार २३३ मतअन्तरले हराए । कामीको पक्षमा १६ हजार ८१० र रोकायाको पक्षमा ८ हजार ५७७ मत परेको छ ।
यसैगरी प्रदेशसभा खमा गोपाल शर्मा १८ हजार ६६० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्क डाँगीले ८ हजार १२७ मत पाएका छन् । उनीहरुबीचको मतअन्तर १० हजार ५३३ छ ।
पूर्वी रुकुमको प्रतिनिधिसभा र प्रदेशसभामा पनि माओवादी केन्द्रका सबै उम्मेदवारहरु विजयी भएका छन् ।
पूर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्यमा कमला रोका विजयी भएकी छन् । रोकाले निकटतम प्रतिस्पर्धी कांग्रेसका हरिशंकर घर्तीमगरलाई ६ हजार २८ मतअन्तरले हराइन् ।
रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४ हजार ४०६ मत ल्याए । रोका प्रतिनिधिसभामा निर्वाचित पहिलो महिला सदस्य बनेकी छन् ।
यसैगरी प्रदेशसभातर्फ पूर्वी रुकुमको ‘क’ क्षेत्रमा माओवादी केन्द्रका तेजबहादुर ओली ‘प्रतिक’ ५ हजार ४२७ मतसहित बिजयी हुँदा उनका निकतम प्रतिस्पर्धी नेपाली कांग्रेसका दुतकुमार पुनले २ हजार १४४ मत पाए ।
त्यसैगरी, प्रदेशसभा ‘ख’मा माओवादी केन्द्र कै पूर्णबहादुर घर्ती ‘आयाम’५ हजार ८१६ विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका दत्तबहादुर बस्नेतले ३ हजार १११ मत ल्याएका छन् ।
स्थानीय तह निर्वाचनमा पनि दुबै जिल्लामा एकलौटी जित हात पारेको माओवादीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि क्लिनस्वीप गर्दै रेकर्ड राखेको छ ।