संकटमा कांग्रेसः देउवाले राजीनामा देलान् ?


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

धेरै मानिसहरुले यसलाई हतारमा गरिएको विश्लेषण ठान्न सक्छन् । तर, मतगणनाको सुरुआती रुझानले के देखाइसकेको छ भने यो चुनावमा कांग्रेसले शर्मनाक हार व्यहोर्ने र वाम गठबन्धनले सुविधाजनक बहुमत पाउने पक्कापक्की जस्तै छ ।

कांग्रेस नेता बालकृष्ण खाँडको दाबीअनुसार पहिलो चरणमा मंसिर १० गते चुनाव भएका ३२ जिल्लामा माओवादी र एमालेले बढी सिट जिते पनि दोस्रो चरणमा चुनाव भएका ४५ जिल्लामा कांग्रेसको परिणाममा सुधार हुनेछ । तर, खाँडले भनेको त्यो ‘सुधार’ ले कांग्रेसलाई ठूलो दल बनाउने र सरकारमा लैजाने सम्भावना लगभग सकिएको छ ।

नेपाली कांग्रेस प्रत्यक्षतर्फको चुनावमा मात्रै अलोकप्रिय हुने र समानुपातिकमा चाहिँ लोकप्रिय नै भइरहने अनुमान गर्न सकिँदैन ।

दोस्रो संविधानसभाको चुनावसम्म सबैभन्दा ठूलो दल रहेको र स्थानीय चुनावमा दोस्रो भए पनि एमालेको हाराहारीमै रहेको कांग्रेस अहिले प्रत्यक्षतर्फ एमालेसँग होइन, माओवादीसँग संघर्ष गरिरहेको छ ।

अहिलेसम्म के विश्लेषण गरिँदै आएको छ भने समानुपातिकमा नेपाली कांग्रेसले ल्याउने मत बढी हुनेछ र त्यही मतका आधारमा कांग्रेसले माओवादीलाई ह्वात्तै जित्न सक्छ । तर, देशैभरि बढेको कांग्रेसको अलोकप्रियतालाई हेर्दा समानुपातिकमा पनि माओवादी र कांग्रेसवीच प्रतिस्पर्धा नहोला भन्ने स्थिति अब रहेन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली कांग्रेस प्रत्यक्षतर्फको चुनावमा मात्रै अलोकप्रिय हुने र समानुपातिकमा चाहिँ लोकप्रिय नै भइरहने अनुमान गर्न सकिँदैन । तैपनि अहिले यति भन्न सकिन्छ कि माओवादी र कांग्रेसमध्ये को दोस्रो पार्टी बन्ने भन्ने विषयको छिनोफानो समानुपातिक मतले नै गर्नेछ ।

राजधानी र तराईको रुझान

कांग्रेस नेता खाँडले दोस्रो चरणमा निर्वाचन भएका जिल्लाहरुबाट कांग्रेसको राम्रो परिणाम आउने दाबी गरिरहेकै बेला शुक्रबार अपरान्हसम्म राजधानी र तराई–मधेसका अधिकांश जिल्लामा प्रारम्भिक मत परिणाम आउन थालिसकेको छ ।

काठमाडौं उपत्यकादेखि लिएर तराई–मधेसको अवस्था हेदा त्यहाँ पनि कांग्रेसको स्थिति दयनीय छ

र, काठमाडौं उपत्यकादेखि लिएर तराई–मधेसको अवस्था हेदा त्यहाँ पनि कांग्रेसको स्थिति दयनीय छ । धनुषामा विमलेन्द्र निधिको क्षेत्रमा होस् या बिराटनगरमा सुरक्षित भनिएको डा. शेखर कोइरालाको क्षेत्रमा नै किन नहोस्, कांग्रेसले अग्रता लिन सकिरहेको छैन । मोरङमा वाम गठबन्धनले सबै सिटमा अग्रता लिनु कांग्रेसका लागि निकै ठूलो धक्का हो ।

राजधानीमा प्रकाशमान सिंहको क्षेत्रबाहेक अन्य स्थानमा वाम गठबन्धनकै अग्रता देखिन्छ । ललितपुरमा पनि वाम गठबन्धनकै सुरुवाती अग्रता देखिएको छ ।

कांग्रेसले पहाडमा गुम्ने सिटहरुको ‘रिकभर’ मोरङ, सुनसरी र कैलाली– कञ्चनपुरका जिल्लाहरु अनि काठमाडौं उपत्यकाबाट गर्ने सोचेको थियो । तर, यिनै क्षेत्रमा उसको स्थिति राम्रो नदेखिँदा यसपालिको चुनावमा कांग्रेसले इतिहासकै सबैभन्दा ठूलो धक्का व्यहोर्ने देखिएको छ ।

अब देउवाले राजीनामा देलान् ?

नेपाली कांग्रेसले यसपालि व्यहोर्ने पराजय सामान्य हुने छैन । पहिलो संविधानसभामा हारेको स्थितिमा भन्दा पनि नराम्रो पराजय ठहरिनेछ कांग्रेसका लागि अहिलेको चुनाव ।

अब ५ वर्ष बहुमत पाउने दलले कांग्रेसलाई सत्ता बाहिरै राख्ने अवस्था आउन सक्छ । त्योबेलामा कांग्रेसभित्र चरम निराशा र विग्रह आउन सक्छ । भनिन्छ, हारेका सिपाहीहरु झगडा गर्छन् ।

कांग्रेस पार्टीलाई पराजयको पन्तुरो बोकाउने स्थिति आयो भने कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठ्न सक्छ । र, एक प्रकारले भन्दाखेरि देउवाको कार्यशैलीले कांग्रेसलाई अगाडि बढाउन सक्दैन भन्ने पुष्टि हुनेछ । त्यो अवस्थामा देउवाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र रामचन्द्र पौडेललाई कार्यवाहक सभापति बनाउनुपर्ने माग पार्टीभित्रै बाट उठ्न सक्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले अब पार्टीको नेतृत्व आफैंले लिएर पाँच वर्षसम्म पार्टीलाई जनपक्षीय बनाउनेतिर लाग्छन् या कांग्रेसलाई झनै विद्रूप बनाउँदै लैजान्छन् ? यो हेर्न बाँकी छ ।

त्यो बेला देउवाले नैतिकताका आधारमा पार्टी सभापतिबाट राजीनामा दिन्छन् या दिँदैनन् ? त्यो अहिले नै बताउन सकिँदैन । विगतको नजिरलाई हेर्ने हो भने पहिलो संविधानसभाको चुनावपछि एमालेका तत्कालीन प्रमुख माधवकुमार नेपालले पदबाट राजीनामा दिएका थिए । तर, गिरिजाप्रसाद कोइरालाले पार्टी सभापतिबाट राजिनामा दिएनन् ।

त्यसैगरी दोस्रो संविधानसभा चुनावपछि माओवादी अध्यक्ष प्रचण्डले पार्टी अध्यक्षबाट राजीनामा दिएनन् ।

निश्चय नै चुनावमा एउटा दलले जित्नु र अर्कोले हार्नु स्वाभाविकै हो । चुनाव भनेकै हारजितका लागि हो । चुनावपछि एउटाले बहुमत पाउने र अर्कोले बहुमत गुमाउने स्वाभाविकै विषय हो । तर, विश्वका धेरै मुलुकमा चुनाव हारेपछि पराजित दलभित्र नेतृत्व परिवर्तन हुने गरेको पाइन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावै गराउँदैनन् कि भन्ने धेरै मानिसहरुमा आशंका थियो । तर, उनले आफ्नो दलले हार्ने अवस्थामै पनि चुनाव गराएर मुलुकलाई निकास दिएका छन्, यसका लागि देउवालाई धन्यवाद दिनैपर्छ ।

मुलुकको संक्रमणकाल अन्त्यका लागि देउवाले प्रधानमन्त्रीका रुपमा खेलेको भूमिकाका लागि इतिहासले उनलाई सम्झिइरहनेछ । नेपाली कांग्रेसलाई पनि इतिहासले सम्झनेछ । तर, यसो भनिरहँदा कांग्रेसलाई अलोकप्रिय बनाउने र बदनाम गराउनमा देउवाको कार्यशैलीले भूमिका खेलेको कुरालाई बिर्सन सकिँदैन ।

प्रधानमन्त्रीका रुपमा देउवाले सुशासन दिन सकेनन् । ६४ सदस्यीय मन्त्रिमण्डल बनाउनेदेखि लिएर विभिन्न अलोकप्रिय निर्णयहरु उनले गरेकै हुन् । प्रधानमन्त्री भएपछि जे गर्दा पनि हुन्छ भन्ने उनले सोचे । र, यसैको प्रतिफलस्वरुप देउवा प्रधानमन्त्री बनेपछि कांग्रेसको लोकप्रियता ह्वात्तै घट्यो । अनि कांग्रेसले जनताको विश्वास गुमायो ।

आम जनता भन्दा मुठ्ठीभर मानिसहरुको कुरा सुन्ने र भ्रष्टाचार र कमिसनतन्त्रमा भर पर्ने ‘कांग्रेस स्कुलिङ’ का प्रणेता देउवा आफैं थिए । त्यस्तो नभएको भने उनले ६४ सदस्यीय मन्त्रिमण्डलको झुण्ड बनाउने नै थिएनन्, उनी संविधानले भनेअनुसार २५ सदस्यीय सरकार बनाएर चुनावमा जाने थिए ।

तर, देउवाले जनताको आवाज र भावना सुन्दै सुनेनन्, अरु कसैका कुरा सुनेर निर्णय लिए । त्यसको मूल्य उनी र उनको पार्टीले निर्वाचनमा चुकाउनुपर्‍यो ।

हुन त वाम गठबन्धन बनेका कारणले पनि कांग्रेसले गणितमा पराजय भोग्नुपरेको हो । तर, माओवादीलाई विश्वासमा लिन नसक्नु कांग्रेसको दलीय हितका लागि देउवाको अदुरदर्शिता नै मुख्य कारक बन्यो ।

यी सबै परिस्थितिमा कांग्रेस सभापति शेरबहादुर देउवाले अब पार्टीको नेतृत्व आफैंले लिएर पाँच वर्षसम्म पार्टीलाई जनपक्षीय बनाउनेतिर लाग्छन् या कांग्रेसलाई झनै विद्रूप बनाउँदै लैजान्छन् ? यो हेर्न बाँकी छ ।

तर, अझै पनि कांग्रेसले खेलाँची गर्‍यो भने कांग्रेसको वर्तमानमात्रै होइन, भविश्यसमेत धरापमा पर्न सक्छ । त्यसबेला कांग्रेसलाई भगवानले पनि जोगाउन सक्ने छैनन् ।

कांग्रेसको पुनर्जागरण कति सम्भव ?

चुनावमा नेपाली कांग्रेस किन हार्‍यो भन्ने पहिलो प्रश्न हो । तर, योभन्दा अर्को गम्भीर प्रश्न के छ भने अबको ५ वर्षपछि कांग्रेसको पुनर्जागरण सम्भव होला कि नहोला ?

सर्वप्रथमतः कांग्रेस नेताहरुले नेपाली राजनीतिको ‘रियल ग्राउण्ड’ नै चिन्न सकेनन् । नेपाली जनता भ्रष्टाचारको अन्त्य भएको हेर्न चाहन्छन् । तर, कांग्रेस नेताहरुले ०४८ सालदेखि चिरञ्जीवी वाग्ले र खुमबहादुरहरुले सुरु गरेको भ्रष्ट संस्कारलाई नै निरन्तरता दिए । त्यसैलाई संस्थागत गरे । फलाए, फुलाए ।

कांग्रेसका दार्शनिक नेता रामचन्द्र पौडेल बेलाबखत भन्ने गर्छन्, लोकतन्त्रमाथि वामपन्थी र दक्षिणपन्थी (राजावादी) अतिवादले प्रहार गरेका कारण कांग्रेसले मुलुकको विकास गर्न नसकेको हो

कर्मचारी, प्रहरी आदिको सरुवामा घुस खानु कांग्रेस नेताहरुको दैनिक खान्कीजस्तै बन्यो । कांग्रेस नेताहरु भ्रष्टाचारको पर्याय बने । अन्ततः यही भ्रष्टाचारकै कारणले गर्दा ०४८ सालयता देशमा न बिकास भयो, न अमन चयन ।

जनताले ०६२/०६३ पछि देशमा परिवर्तन चाहेका थिए । यही परिवर्तनको आकांक्षाका लागि हजारौंको रगत बगेको थियो । तर, यसको मर्म नेताहरुले बुझेनन् । लोकतन्त्र, वीपीको समाजवाद इत्यादि नारा जपिसकेपछि जे गर्दा पनि हुन्छ भन्ने नेताहरुको बुझाइ देखियो । व्यापारी, तस्कर, ठूलाठूला ठेकेदारहरु अनि घैंटे डनहरु कांग्रेसजन साथी बने, सारथी बने ।

डा. रामशरण महतको ‘स्कुल अफ थट’ का कारण उद्योगधन्दाहरु कौडीका भाऊमा बिक्री भए । निजीकरणले देश टाट पल्टियो । युवाहरु विदेश पलायन हुन बाध्य भए । विदेशमा छोराछोरी पढाउने कांग्रेसका रिटाडर्य उमेरका नेताहरुले मुलुकको गरीबीमाथि अनवरत रजाइँ गरे । तर, शिक्षा स्वास्थ्य जस्ता आधारभूत विषयमा गरीब जनताको पहुँच बढाउन कांग्रेस नेताहरुले फिटिक्कै ध्यान दिएनन् । दिनै चाहेनन् । सोझा जनतालाई चुनावमा मासु चिउरा ख्वाएपछि जे गर्दा पनि हुन्छ भन्ने उनीहरुले ठाने ।

जनता चुपचाप–चुपचाप कांग्रेस नेताहरुले मच्चाएको ब्रह्मलुट, भ्रष्टाचार र अव्यवस्थाको शिकार बनिरहन बाध्य भए । लोकतन्त्रका लागि केही वर्ष, केही महिना जेल बसेको बाहना बनाउँदै चारतारे झण्डा ओढेर देशको सम्पत्तिमा रजाइँ गर्ने काम भयो यसअवधिमा निरन्तर हुँदै आयो । कांग्रेसले वीपीको समाजवाद मात्रै बिर्सिएन, लोककल्याणकारी राज्यको अवधारणालाई नै रामशरण महतको थ्यौरीको चास्नीमा खोलेर घुट्क्याउने काम गर्‍यो ।

कांग्रेसका दार्शनिक नेता रामचन्द्र पौडेल बेलाबखत भन्ने गर्छन्, लोकतन्त्रमाथि वामपन्थी र दक्षिणपन्थी (राजावादी) अतिवादले प्रहार गरेका कारण कांग्रेसले मुलुकको विकास गर्न नसकेको हो । तर, पौडेलको यो भनाइले नेपाली कांग्रेसभित्रको खराबीलाई पूरै ढाकछोप गर्छ । जबसम्म कांग्रेस नेताहरुले कुतर्कको घुम्टोमा छोपिएर आफूभित्रको फोहोरको गन्ध पत्तो लगाउन सक्दैनन्, तबसम्म वामपन्थीको विरोध गरेकै भरमा कांग्रेसको पुनर्जागरण सम्भव छैन ।

देशको विकास नहुनुमा उग्रवामपन्थी र दक्षिणपन्थीहरुलाई दोष देखाउने कांग्रेसले यो चुनावमा तिनै दक्षिणपन्थीलाई हलो र गाईमा भोट हालेर आफ्नो दाबीको आफैं खण्डन गरिसकेको छ । कांग्रेस नेताहरुले अरुलाई गलत देखाएर आफू सही सिद्ध हुने अवैज्ञानिक प्रयास गर्दै आएको देखिन्छ ।

वामपन्थी पनि उही ड्याङका

चुनावी हारको पीडामा परेको नेपाली कांग्रेसमाथि यसरी निर्मम आलोचना गरिरहँदा कांग्रेस समर्थकहरुले प्रश्न उठाउन सक्छन्– के उसोभए माओवादी–एमालेलगायतका वामपन्थी दलहरु चाहिँ दूधले नुहाएका हुन् त ? के उनीहरु चाहिँ भ्रष्टाचार र बेथितिबाट मुक्त छन् ?

एमाले र माओवादी लगायतका दलहरु पनि जनपक्षीय नीति लिनमा चुक्दै आएका छन् । तर, वामपन्थीहरु खराब छन् भन्ने देखाएर मात्रै अब जनताले कांग्रेसलाई पत्याउने चरणको लगभग अन्त्य भएको छ ।

अब कांग्रेसले आफूलाई जोगाउन र सत्तामा पुर्‍याउन विपक्षीको विरोध होइन, आफूभित्रको शुद्धीकरणमा जोड दिन आवश्यक देखिन्छ । यसबारेमा कांग्रेस नेताहरुले पक्कै समीक्षा गर्लान् ।

कांग्रेसले आफूलाई सुधार्न के के गर्नुपर्छ ? यस विषयमा यो एउटै लेखमा चर्चा गर्न सम्भव छैन, भावी दिनमा यसमाथि समीक्षा हुँदै जाला ।

अब वाम गठबन्धनको सरकार बन्यो भने त्यो सरकार सम्भावना र चुनौतीको दोभानमा उभिनेछ ।

वामपन्थी नेताहरुको अवस्था ‘ढाँटको निम्तो खाई पत्याउनु’ भन्ने स्थितिमा छ । उनीहरु पनि कांग्रेसकै जस्तो विकृत राजनीतिबाट मुक्त हुन सकेका छैनन् । नातावाद, डनहरुलाई संरक्षण गर्ने, कर्मचारीतन्त्रमा राजनीतिकरण गर्ने अनि देश र जनतालाई भन्दा कार्यकर्ता र परिवारलाई ध्यान दिने नेताहरुको अभाव छैन एमाले र माओवादीमा ।

एमालेभित्र पनि शिक्षा र स्वास्थ्यका व्यापारीहरुको अभाव छैनन् । मेडिकल माफिया र शैक्षिक माफियाहरुले एमाले नेताहरुलाई जकडेको अवस्था छ । माओवादीमा त्यस्ता माफिया कम भए पनि पार्टीभित्रैका भ्रष्टहरु समृद्धिका बाधक बन्दै आएका छन् । कमिसन खाने सवालमा माओवादीहरु पनि कांग्रेसभन्दा कम छैनन् ।

एमाले र माओवादीभित्रको अर्को खराब पक्ष भनेको के हो भने उनीहरुभित्र लोकतान्त्रिक भन्दा बढी सामाजिवक फासीवादी चरित्र छ । मुखले उनीहरु लोकतन्त्रको कुरो गर्छन् तर व्यहारमा अनैतिक, भ्रष्ट र भिन्न विचारप्रति असहिष्णु छन् । एमाले नेताहरुले मधेसीप्रति गरेको व्यवहार र एमाले नेताले स्वयं माओवादीप्रति विगतमा गरेको व्यवहार यसको ज्वलन्त उदाहरण हो ।

वाम सरकार र कांग्रेसको ढोडिया

यसरी आफैं नसुध्रिएको वाम सरकारले जनपक्षीय काम गर्न सकेन भने त्यसबाट कांग्रेसले आफ्नो अस्तित्व रक्षाका लागि पाँच वर्षको अवधिमा केही सुविधा पाउन सक्छ । तर, वामपन्थीको बदनामीको लाभ कांग्रेसकै ढोडियाभित्र पर्छ भन्ने ग्यारेन्टी छैन, त्यसपछि जनताले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना पार्टीलाई लत्याएर नयाँ राजनीतिक शक्तिलाई राजनीतिको केन्द्र भागमा ल्याइदिन सक्नेछन् । त्यसको भ्रुण अहिले नै विवेकशील साझा र नयाँशक्ति इत्यादिका आदि नाममा भइसकेको अवस्था छ ।

वाम सरकारले जनप्रिय काम गर्न सकेन भने विप्लव समूह वा सिके राउत आदि नामका ‘बाइप्रोडक्ट’ हरुले पनि देशलाई दुःख दिन सक्छन् । त्योबेला कांग्रेसले आफूलाई जनपक्षीय बनाउनुको साटो उल्टै खराब तत्वहरुलाई बोकेर ठिमीको उकालो चढ्ने नीति लियो भने कांग्रेसका लागि भावी राजनीतिक यात्रा थप प्रत्युत्पादक हुन सक्छ ।

अब बन्ने सम्भावित बहुमतको सरकारलाई समेत जनता र मिडियाले निरन्तर खबरदारी गरिराख्नुपर्नेछ । नभए यिनीहरु मैमत्त भएर बहुलाउन सक्छन् र हामीसँग बहुमत छँदैछ भनेर फेरि पुरानै ढर्रामा चल्न सक्नेछन् ।

कथंकाल वामपन्थीहरु सुध्रिए र पुण्य कमाउने बेलामा एकचोटि साधु बनौं न त भन्ने बाटोमा उनीहरु लागे भने यसले मुलुकलाई विकास र समृद्धितर्फ लैजान सक्छ । जनताले पनि यही आशाले वामपन्थीलाई भोट दिएका हुन् ।

वाम सरकारले राम्रो काम गर्‍यो भने त्यो बेलामा कांग्रेसको शक्ति अझै खिइने र प्रजापरिषजस्तै हालतमा पुग्ने सम्भावना बढ्ने छ । त्योबेला छिमेकीले पनि शक्तिहीन कांग्रेसलाई उपियाँले जसरी सहजै छाडिदिन सक्छ । कांग्रेसलाई न जनताको साथ रहनेछ, न पराईको ।

जहाँसम्म कांग्रेस नेताहरुले वीपीको समाजवाद, लोकतन्त्र अनि कम्युनिष्ट अधिनायकवादबाट देशलाई जोगाउने बताउँदै आएका छन् । त्यसलाई जोगाउन कांग्रेसकै सदृश अनुहारको एमाले पार्टी उभिएपछि कांग्रेस नामको अर्को पार्टी किन चाहियो ? यस्तो प्रश्न उब्जन सक्छ लोकतन्त्रवादीहरुमा ।

अन्त्यमा,

यो कुरा विचारणीय छ कि नेपालका कुनै पनि नेता र दलहरु अन्तरस्करणबाटै नैतिकवान र जनपक्षीय छैनन्, यिनीहरुलाई जनदबावले मात्रै नैतिकवान र जनपक्षीय बनाइराख्न सकिन्छ ।

त्यसैले, अब बन्ने सम्भावित बहुमतको सरकारलाई समेत जनता र मिडियाले निरन्तर खबरदारी गरिराख्नुपर्नेछ । नभए यिनीहरु मैमत्त भएर बहुलाउन सक्छन् र हामीसँग बहुमत छँदैछ भनेर फेरि पुरानै ढर्रामा चल्न सक्नेछन् ।

हामीलाई चाहिएको स्थिर सरकार मात्रै होइन, जनपक्षीय एवं भ्रष्टाचाररहित स्थिर सरकार हो । यसका लागि एमाले र माओवादी भरपर्दो शक्ति होइनन् । जनताले यी दललाई शंकाको सुविधासहित बहुमत दिएका हुन् ।

वाम नेताले यो कुरा बुझ्न सकेनन् भने कांग्रेसले ५ वर्षपछि त्यसको लाभ उठाउन त सक्ला । तर, पुरानो कांग्रेसले होइन, सुधारिएको कांग्रेसले मात्रै ।

तथापि, देउवा नेतृत्वको कांग्रेस सुध्रिने सम्भावना अति नै क्षीण छ । अति नै ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com