मनाङ प्रतिनिधिसभामा एमाले, प्रदेशमा काँग्रेस र स्वतन्त्र निर्वाचित


प्रकाशित मिति : मंसिर २२, २०७४ शुक्रबार

हिमालपारिको जिल्ला भनिने मनाङमा प्रतिनिधिसभामा नेकपा (एमाले) र प्रदेशसभामा नेपाली काँग्रेस र स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र भएको मनाङमा नेकपा (एमाले)का उम्मेदवार पोल्देन छेपाङ गुरुङ निर्वाचित हुनुभएको छ । नेका मनाङका सभापति एवं पूर्वराज्यमन्त्रीसमेत रहनुभएका नेका उम्मेदवार टेकबहादुर गुरुङलाई २८९ मतले उछिन्दै एमाले उम्मेदवार पोल्देन छोपाङ गुरुङ निर्वाचित हुनुभएको हो ।

विजयी पोल्देन छोपाङले दुई हजार ३०० मत प्राप्त गर्नुभयो भने प्रतिद्वन्द्वी टेकबहादुरले दुई हजार २१ मत पाउनुभएको छ ।

खसेको मतमध्ये चार हजार ३२१ मत सदर भयो भने १६ मत बदर भएको छ । नेपालमै सबैभन्दा कम मतदाता रहेको मनाङमा चार हजार ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । यहाँ पाँच हजार ८८१ मतदाता छन् ।

प्रदेशसभा (क)मा काँग्रेस र (ख)मा स्वतन्त्रका मनाङ्गे 

प्रदेशसभाका सदस्यका लागि नेपाली काँग्रेसले हिमाली जिल्ला मनाङबाट खाता खोलेको छ । काँग्रेस उम्मेदवार चिन्तबहादुर घलेले प्रदेशसभा (क)बाट एमालेका धोर्जे डण्डुल गुरुङलाई १०२ मतअन्तरले पराजित गर्दै विजयी हुनुभएको हो । विजयी घलेले ९९८ मत प्राप्त गर्नुभएको हो ।

एमालेका धोर्जे डण्डुल गुरुङले ८९६ मत प्राप्त गर्नुभएको छ । मनाङ (क)मा दुई हजार १७९ मतदाता रहेकामा एक हजार ९०१ खसेको थियो ।

प्रदेश सभा (ख)मा दीपक मनाङ्गे भनेर चिनिने स्वतन्त्र उम्मेदवार राजीव गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले एक हजार ४१० मत पाउनुभएको छ भने प्रतिद्वन्द्वी नेकाका कर्म गुरुङ ३९० मतले पराजित हुनुभएको छ । उहाँले एक हजार २० मत प्राप्त गर्नुभएको छ ।

एमाले उम्मेदवार खाण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिँदै राजीव गुरुङलाई समर्थन जनाउनुभएको थियो ।

जिल्लाबाट एमालेले मनाङ्गेलाई सर्वसम्मत सिफारिश गरेपनि सर्वत्र विरोध हुन थालेपछि एमाले केन्द्रीय कमिटीले उहाँको नाम हटाएर खाण्डालाई आधिकारिक उम्मेदवार बनाएको थियो । मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com