रसुवामा मतगणना भइरहेका बेला विद्युत आपूर्ति बन्द
प्रकाशित मिति : मंसिर २१, २०७४ बिहीबार

मंसिर २१ रसुवा मतगणना भइरहँदा रसुवामा विद्युत आपूर्ति ठप्प भएको छ। त्रिशुली ग्राङ २० को ६६ केभी प्रशारण लाइनमा समस्या आएपछि विद्युत आपूर्ति बन्द भएको हो। नेपाल विद्युत प्राधिकरण धुन्चे केन्द्रका अनुसार जिल्लाको राम्चेस्थित ५१ नम्बरको टावरमा समस्या आएर विद्युत आपूर्ति बन्द भएको छ । उक्त केन्द्रमा मर्मत सुरु गरिएकाले १० बजेसम्म सुचारु हुने धुन्चे केन्द्रले जानकारी दिएको छ। मतगणनास्थलमा साढे ५ बजेदेखि विद्युत आपूर्ति बन्द भएको हो। गोसाइकुण्ड गाउँपालिकाको थुम्मन र उत्तरगया गाउँपालिकाको खाल्टे मतदान केन्द्रको मतगणना भइरहेका बेला विद्युत आपूर्ति ठप्प भएको हो। मतगणना स्थलमा जेनेरेटरको व्यवस्था गरिएकाले मतगणनामा भने बाधा परेको छैन। रसुवाबाट प्रतिनिधिसभामा वाम गठबन्धनबाट जनार्दन ढकाल र नेपाली कांग्रेसबाट मोहन आचार्य प्रतिस्पर्धामा छन्।
थाहा खबर