चन्दा संकलन गर्ने १२ जना पक्राउ
प्रकाशित मिति : मंसिर १९, २०७४ मंगलबार

मंसिर १९ इलाम निर्वाचनविरुद्ध शंकास्पद गतिविधि गरेको भन्दै सूर्योदय नगरपालिका(१ गोर्खेस्थित मंगलबारेबाट प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । गोर्खे प्रहरी चौकीबाट गएको प्रहरी टोलीले सिंहदेवी मतदान केन्द्र आसपासका बासिन्दाबाट चन्दा संकलन गर्दै गरेको अवस्थामा पूर्वनेपाली सेनासहितलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा चितवनका बसन्तबहादुर बराल, मुक्तिनाथ अधिकारी, तनहुँका रामु सुवेदी, गोर्खाका अग्नि उपरकुटी, गुल्मीका तेजेन्द्र जिसी, गुल्मीकै कोपिला थापा, काठमाडौंका कृष्ण थापा, मिना केसी, तेह्रथुमका कृष्णप्रसाद अधिकारी, संखुवासभाका अर्जुनकुमार गौतम, संखुवासभाकै रमेश गौतम र रुपन्देहीका माया रहेका छन् । प्रहरीले उनीहरुको साथबाट गौरव युवा एकता पीडित उद्धार सेवा समाज र नाइट युवा समाजको पर्चा र रसिद, तीनथान नागरिकता, चारथान मतदाता परिचयपत्र र नेपाली चार हजार चारसय तथा भारतीय दुई हजार पाँच सय ७० रुपैयाँ बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।