मोहनविक्रमको अडान, पत्नीलाई नगर्ने मतदान


प्रकाशित मिति : मंसिर १४, २०७४ बिहीबार

प्यूठान, १४ मंसिर। नेकपा(मसाल)का अर्धभूमिगत महामन्त्री मोहनविक्रम सिंहले आफ्नै पत्नीलाई मत नदिने हुनुभएको छ ।

सिंहपत्नी दुर्गा पौडेल प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार हुनुहुन्छ । राजमो मसालको खुला सङ्गठन हो । उहाँसँग लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रा डा गोविन्दराज पोखरेल चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ । नेता सिंह चुनाव प्रचारप्रसारका लागि भने अहिले यहीँ हुनुहुन्छ । नेता सिंहले आफूले विसं २०१५ को निर्वाचनमा उम्मेदवार हुँदा पनि आफैँलाई मतदान नगरेको बताउनुभयो । सिंह पहिलो पटक विसं २०१५ मा भएको संसदीय निर्वाचनमा तत्कालीन क्षेत्र नं ८५ प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टीबाट सांसदमा उम्मेदवार हुनुहुन्थ्यो । त्यसपछिको संसदीय र स्थानीय निर्वाचनमा पनि मतदान नगरेको नेता सिंहले सुनाउनुभयो ।

त्यसबेला उहाँ एक हजार २०० मत अन्तरले हार्नुभएको थियो । उहाँलाई पराजित गरी काँग्रेसका पुरुषोत्तम अधिकारी पहिलो संसदीय निर्वाचनमा प्यूठानबाट सांसद बन्नुभएको थियो । “सार्वजनिक कार्यक्रम र टेलिभिजन जस्ता दृश्य सञ्चारमाध्यममा प्रस्तुत नहुने भएकाले म अहिले पनि अर्धभूमिगत छु, पार्टी कार्यकर्ता र पत्रकारसँग चाहिँ कुरा हुन्छ”, उहाँले भन्नुभयो ।

धेरै कम्युनिष्ट नेताका गुरु सिंह देशको आवश्यकता पूर्ति गर्न अझै आफू अर्धभूमिगत रहेको बताउनुहुन्छ । धेरै प्यूठानीलाई राजनीतिक प्रशिक्षण दिनुभएका उहाँलाई यहाँका सामान्य मानिसले पनि गुरु भनी सम्बोधन गर्छन् । “अर्धसामन्ती एवं अर्धऔपनिवेशिक अवस्था रहेसम्म म अर्धभूमिगत रहन्छु, साम्यवादी जनसत्ता स्थापनाका लागि लामो संघर्ष गर्नुपर्छ, यसका लागि म लामो समयदेखि लागेको छु”, गुरुले भन्नुभयो ।

केही वामपन्थी दल मिलेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धन बनाए पनि वाम दलबीच चुनावलगत्तै एकताको सम्भावना नरहेको उहाँको भनाइ छ । सबै कम्युनिष्टबीच एकता भएर एउटै दल हुनुपर्ने आवश्यकता रहे पनि धेरै छलफल आवश्यक रहेको नेता सिंहले बताउनुभयो ।

“संघीयताका बारेमा हाम्रो नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)सँग मतभेद छ, छलफलद्वारा मतभेदलाई अन्त्य नगरेसम्म अहिले नै वाम दलबीच एकता हुन सक्दैन, सैद्धान्तिक रुपमा गहन बहसको जरुरी छ”, उहाँले भन्नुभयो । काँग्रेसको पुरानो नेतृत्वले लोकतान्त्रिक शासन व्यवस्थाका लागि लडे पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाबाट यसको रक्षा हुन नसक्ने आरोप नेता सिंहले लगाउनुभयो । लोकतन्त्रकै रक्षाका पनि वाम दलबीच गठबन्धन गरेर चुनावमा जानुपरेको उहाँले सुनाउनुभयो ।

आफ्नो दल जनवादी शासन व्यवस्थाको पक्षमा रहे पनि संसदीय शासन व्यवस्थालाई तत्कालीन रणनीतिका रुपमा उपयोग गरेको उहाँले बताउनुभयो । प्रतिनिधिसभा सदस्यका लागि एक र प्रदेशसभा सदस्यका लागि दुई गरी तीन पदका लागि प्यूठानमा यही मंसिर २१ गते मतदान हुँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com