पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचन सम्पन्न, कहाँ के के भयो दिनभर ?


प्रकाशित मिति : मंसिर १०, २०७४ आईतबार

पहिलो चरण अन्तर्गत प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचन सकिएको छ । विहान सातबजेबाट शुरु भएको मतदान साँझ ५ बजे सकिएको हो ।

केही छिटपुट घटना बाहेक निर्वाचन शन्तिपुर्ण भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा केही स्थानमा गोली चलेको छ भने मतहाल्न गएकी एक युवतीको हृदयघातका कारण मृत्यु भएको छ ।

विहान ७ बजेदेखि साँझ ५ बजेसम्म कहाँ के के भए ? लोकान्तरले जम्मा गरेको सुची । 

११२ वर्षेको मतदान

म्याग्दीमा एक जना ११२ वर्षे जेष्ठ नागरिकले मतदान गरेका छन् । रघुगंगा गाउँपालिका–३ ज्ञानोदय मावि मतदान केन्द्रबाट ११२ वर्षका खड्कबहादुर भण्डारीले मतदान गरेका हुन् ।

वम विस्फोट
भोजपुरको याकुमा मतदान केन्द्र नजिकै बम विस्फोट भएको थियो ।

मत पेटिकामा एसिड

रूकुमको बाफीकोट गाउँपालिका ४ को रत्न मावि मतदान केन्द्र क मा मतपत्र जलाइएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतपत्र जलाइएको हो । पश्चिम रुकुमको रत्न मावि बाँफिकोटको मतदान केन्द्र ९क० बुथमा प्रत्यक्षतर्फ मंसिर २१ गते पुनः चुनाव हुने भएको छ । एसिड नेपाली कांग्रेसका एजेन्टले हानेको समाचार सार्वजनिक भएका छन् ।

तनाबमा सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको दुई स्थानमा प्रहरीले हवाइ फायर गरेको छ । बलेफि गाउँपालिका अन्तर्गत मांखाको मांखाको कालिदेवी माध्यामिक विद्यालयमा दलहरुबीच विवाद हुँदा प्रहरीले हवाई फायर गरेको थियो । त्यसक्रममा वडा सदस्य लक्ष्मण अधिकारी घाइते भएका थिए ।

त्यस्तै सिन्धुपाल्चोककै थुम्पाखर गाउँपालिका–६ स्थित देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको थियो ।  वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताबीच झडप भएको हो ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको थियो । तर पछि अवस्था सामान्य बनेको थियो ।

हाइप्रोफाइलको भोट

पहिलो चरणमा हेभिवेट उमेदवारहरुले मतदान गरेका छन् । गोरखाबाट बाबुराम भट्टराई र नाराणकाजी श्रेष्ठले मतदान गरेका छन् । त्यस्तै ताप्लेजुङमा उम्मेदवार रहेका योगेश भट्टराईले पनि मतदान गरेका छन् ।
माओवादी केन्द्रका नेता एवंम् पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटबाट मतदान गरेका छन् । त्यस्तै वर्षमान पुनले रोल्पा ।

किरियापुत्रीले गरे मतदान

दोलखाका ३ वटा मतदान केन्द्रबाट किरियापुत्रीले मतदान गरेका छन् । भिमेश्वर नगरपालिका ४, मेलुङ गाउँपालिका २ र शैलुङ गाउँपालिका ५ मा किरियापुत्रीले मतदान गरेका हुन् ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका २ मा किरियापुत्रीले मतदान गरेका छन् ।

दोलखामा हवाई फायर

दोलखाको बैतेश्वर गाउँपालिका मार्बुमा हवाई फायर भएको छ ।  मार्बुको कालिका माध्यामिक मतदान केन्द्रमा भोट हाल्न भन्दै मतदाता नामावलीमा नाम नै नभएकाहरु हुल बाँधेर भोट हाल्न आएकाले हवाई फायर गरेर धपाएको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालले जानकारी दिए ।

वुथ कव्जा गर्ने प्रयास

दोलखाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा बुथ कव्जा गर्ने प्रयास भएको थियो ।  बुथ कब्जा गर्न आएको समूहले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरेको थियो । तर पछि मतदान सम्पन्न भएको थियो ।

भोट हाल्न जाँदा हृदयघात !

मत खसाल्न लाइनमा बसेकी एक युवतीलाई हृदयघात भएको छ ।  दोलखाको तामाकोशी गाउँपालिकाको मतदान केन्द्रमा भोट हाल्न गएकी एक युवतीको हृदयाघातका कारण मृत्यु भएको छ ।  बाइस वर्षीय निर्मला फुयाँलको मृत्यु भएका हो ।

जहाँ एक भोट पनि खसेन

स्थानीय निकाय पुनः संरचनामा चित्त नबुझेर आन्दोलनमा उत्र्दै स्थानीय तह निर्वाचनमा मतदान नगरेका सोलुखुम्बुको साबिक तिंला गाविसवासीले यस पटकको निर्वाचनमा पनि मतदान गरेनन् । तिंलामा रहेका पाँचवटै मतदान केन्द्रमा  मतदानका लागि कोही पनि गएनन् । निर्वाचनमा कोही नआएपनि निर्धारित समयसम्म कर्मचारीहरु मतदान स्थलमा बसेका थिए ।

त्यस्तै हुम्लाको चंखेली गाउँपालिकास्थित रारा प्राविमा रहेको मतदान केन्द्रमा एउटा पनि मत खसेको छैन । विहान ७ बजेदेखि नै मतदान प्रक्रिया शुरु गएपनि मतदाताहरु भने मतदान गर्न गएनन् ।

दुई जनाले दिनभर कुराए

ताप्लेजुङको फक्तालुङ गाउँपालिका–७ ओलाङचुङगोलाका राजनीतिक दल तथा कर्मचारी दुईजना मतदाताको पर्खाइमा दिनभर बसे ।  गाउँमा भएका सबै ९४ जनाले मतदान गरिसके पनि चौरी चराउन गएका दुईजना नफर्किएका कारण उनीहरु बुथ रुंगेर बसेका हुन् । ओलाङचुङगोलाका वडा सदस्य छेतेन वालुङका अनुसार तेञ्जिङ शेर्पा र दावा शेर्पाले चोरी फर्काउन गएका थिए ।

र, यो पनि

सिरहामा गोली चल्यो, दुई प्रहरी घाइते

सिरहाको निरदहामा गोली चलेको छ । अज्ञात समूहले गोली चलाएको प्रहरीले जनाएको छ ।

गोली लागेर प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव घाइते भएका छ्न् । प्रहरीले गोली प्रहार गर्नेको खोजी जारी भएको जानकारी दिएको छ ।

मागेरामको पेटमा र आदर्शको कोखमा गोली लागेको प्रहरीले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला, धरान लगिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com