भोलि प्रतिनिधिसभा र प्रदेशसभा चुनाव, ७०२ उम्मेदवार, ३१ लाख ९१ हजार ९४५ मतदाता, ४४६५ मतदान केन्द्र


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको चुनावमा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्ने भोलि सम्पन्न हुने निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको सम्बोधनको पूर्णपाठ:

आदरणीय मतदाता आमा–बुबा, दिदी–बहिनी तथा दाजु–भाइहरू संविधानसभाबाट जारी भएको ‘नेपालको संविधान’ कार्यान्वयनको पहिलो खुड्किलाको रूपमा स्थानीय तहको निर्वाचन सफलताका साथ सम्पन्न भइसकेको व्यहोरा विदितै छ। संविधान कार्यान्वयनकै महत्वपूर्ण कडिको रूपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो चरणमा भोलि मंसिर १० गते आइतबार ३२ जिल्लामा हुँदैछ।

प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउन चाहन्छु। भोलि बिहान ७ बजे आ–आफ्नो मतदान केन्द्रमा उत्साहका साथ उपस्थित हुनुभई मतदानमा सरिक हुन सम्पूर्ण महानुभावहरूमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ। मतदान गर्न जाँदा कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई आयोगले सुनिश्चित गरेको छ।

मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको व्यहोरा जानकारी गराउँदछु। भोलि आइतबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्नुहुने मतदाताले मात्रै मतदान गर्न पाउनु हुने हुँदा सबै मतदातालाई मतदानमा सरिक भई आफूले चाहेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्नु हुन आयोग अनुरोध गर्दछ।

कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन र यदि कसैले त्यस्तो गैरकानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने व्यहोरासमेत स्मरण गराउन चाहन्छु। साथै, सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरूलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पुर्‍याउन निर्वाचन आयोग हार्दिक अपिल गर्दछ। यसअघि समयमा निर्वाचन सम्पन्न हुँदैन कि भन्ने आशङ्का फैलाई भ्रम उत्पन्न गरिएकोमा यस निर्वाचनबाट सो भ्रमको अन्त्य हुनेछ। अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित व्यवस्था मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई आयोग निर्देश गर्दछ।

साथै दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसङ्केत गर्न सक्ने व्यवस्था समेत मिलाइएको छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ पहिलो चरणमा जम्मा ७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। पहिलो चरणको निर्वाचनमा जम्मा ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नुहुने छ भने भोलि सम्पन्न हुने निर्वाचनमा दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्रमा मतदान हुँदैछ।

आदरणीय मतदाता आमा–बुबा, दिदी–बिहिनी तथा दाजु–भाइहरू

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका लागि हल्का हरियो रङ्गको मसीले छापिएको मतपत्रमा रहेका चिह्नमध्ये एउटामा र प्रदेशसभाका लागि कालो मसीले छापिएका निर्वाचन चिह्नहरूमध्ये कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई तोकिएको मतपेटिकामा मत खसाल्नु हुन र समानुपातिकतर्फ मतपत्र हल्का रातो मसीले छापिएको एउटै पानाको माथिल्लो भागमा मतपत्र–१ रहेको छ र त्यो मतपत्र प्रतिनिधिसभा सदस्यका लागि भएको हुँदा त्यसमा रहेका दलहरूका निर्वाचन चिह्नमध्ये मतदाताले कुनै एक राजनीतिक दलको चिह्नमा मत संकेत गर्नु होला।

त्यसैगरी, त्यही मतपत्रको तल्लो भागमा रहेको मतपत्र–२ प्रदेशसभाका लागि भएको र त्यसमा रहेका चिह्नहरूमध्ये आफूलाई मनपरेको एउटा राजनीतिक दलको निर्वाचन चिह्नमा मत संकेत गर्नु हुन समेत अनुरोध गर्दछु। आयोगले अनुमति प्रदान गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले यस निर्वाचनमा पर्यवेक्षण गर्दैछन्। पर्यवेक्षकहरूबाट नेपालको कानून, निर्वाचन आचारसंहिता र पर्यवेक्षकले पालना गर्नुपर्ने आचारसंहिताको पूर्ण पालना हुने विश्वास आयोगले लिएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको यस निर्वाचनबाट संविधानसभाबाट जारी भएको नेपालको संविधान कार्यान्वयन हुने र संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ भई राज्यको पुनर्संरचना हुन गई विद्यमान संक्रमणकालको अन्त्य हुने छ।

साथै, यस निर्वाचनपछि मुलुकमा दीगो आर्थिक विकास हुने र देश सम्वृद्धितर्फ लम्कने छ भन्नेमा आयोग पूर्ण विश्वस्त छ। आदरणीय पत्रकारज्यूहरू, अन्त्यमा, आयोगको निमन्त्रणालाई स्वीकार गरी आउनुभएकोमा सम्पूर्ण पत्रकार, मिडियाकर्मी साथीहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको वातावरण बनाई लोकतान्त्रिक संघीय गणतन्त्रलाई संस्थागत गर्ने अभियानमा यहाँहरूले पुर्‍याउनु भएको योगदानको आयोग उच्च कदर गर्दै निर्वाचनको संवेदनशीलतालाई मनन् गरेर निर्वाचन आयोग, सुरक्षा निकाय, मतदान कार्यमा खटिएका कर्मचारीबाट पुष्टि भएका सूचना मात्रै सम्पे्रषण गर्नुहुन समेत सम्पूर्ण पत्रकार मित्रहरूसँग आयोग हार्दिक अनुरोध गर्दछ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com