चुनावपछि एमाले र माओवादी केन्द्रबीच एकता : ओली


प्रकाशित मिति : मंसिर ९, २०७४ शनिबार

पोखरा, ९ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकता हुने बताउनुभएको छ ।
संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिद्वारा आज पोखराको अमरसिंहचौरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले शान्ति, राजनीतिक स्थिरता र देशलाई आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउन दुई पार्टीबीच पार्टी एकता गर्न लागिएको स्पष्ट पार्नुभयो ।

दुई पार्टीबीचको चुनावी तालमेलले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने र नेपाली काँग्रेस नेतृत्वको सरकार हटेर पुस महिनादेखि वामपन्थीहरुको बहुमतको सरकार बन्ने दाबी अध्यक्ष ओलीले गर्नुभयो ।

उहाँले भन्नुभयो, “म आपूm प्रधानमन्त्री हुँदा बूढाबूढीको वृद्ध भत्ता रु एक हजारबाट बढाएर रु दुई हजार बनाइदिएको थिएँ अब रु दुई हजारबाट बढेर वृद्ध भत्ता रु पाँच–पाँच हजार पु¥याइन्छ ।”

पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका सरकारले संविधान कार्यान्वयनमा विशेष महत्व राख्ने बताउँदै संविधान कार्यान्वयनपछि देशमा तीव्र गतिमा विकास र निर्माणका कार्य अघि बढ्ने धारणा राख्नुभयो । उहाँले वामपन्थीहरुको बहुमतको सरकार बनेपछि केरुङ–काठमाडौँ–पोखरादेखि लुम्बिनीसम्म रेलमार्ग पु¥याउने कामलाई अगाडि बढाइने विचार व्यक्त गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता रामबहादुर थापाले एमाले–माओवादी केन्द्रबीचको चुनावी तालमेल र पार्टी एकताको सन्देशले वामपन्थी विरोधी शक्तिमा ठूलो तरङ्ग ल्याएको बताउनुभयो ।

कम्युनिस्टहरुको जनमत दुईतिहाइ भए पनि एकापसमा टुटफुट र विभाजनले आजसम्म गैरवामपन्थीहरुले फाइदा उठाएको उल्लेख गर्दै उहाँले चुनावपछि दुईतिहाइ वामपन्थीको मतले देशमा स्थिरता र गरिबी उन्मूलन हुने विचार व्यक्त गर्नुभयो ।

संयुक्त वाम गठबन्धन चुनाव परिचालन समितिका संयोजक बखानसिंह गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रतिनिधिसभा कास्की क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारी, उपसंयोजक प्रभा कोइरालाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेकपा (एमाले)मा प्रवेश गर्नेलाई पार्टी अध्यक्ष ओलीले टीका लगाई स्वागत गर्नुभएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com