दोलखाका मतदाता सोध्छन्, “कहिले पाइन्छ माथिल्लो तामाकोशीको शेयर”


प्रकाशित मिति : मंसिर ६, २०७४ बुधबार

दोलखा, ६ मंसिर ।  कालिञ्चोक–९ का हरिबहादुर खड्काले तीन वर्षदेखि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले शेयर दिन्छ रे भन्ने सुनेको । तर अहिलेसम्म किन शेयर दिइएन भनेर कोही कसैले पनि चित्त बुझ्ने गरी बताएका छैनन् । आफूसँग भएको थोर बहुत पैसा लगानी गर्ने इच्छा छ । तर जानकारी नपाएकामा उहाँको गुनासो छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत माग्न गाउँ पसेका विभिन्न राजनीतिक दलका नेतालाई खड्काले पटक पटक सोध्नुभयो माथिल्लो तामाकोशीको शेयर कहिले पाइन्छ होला ? तर उम्मेदवारले पनि हालसम्म चित्तबुझ्दो जवाफ दिन नसकेका उहाँ बताउनुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शेयरका बारेमा जसले राम्रोसँग जानकारी दिन्छ उसैलाई यस पटकको मत दिने सोचाइमा हुनुहुन्छ खड्का । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “बूढेसकालमा गरिखान नसक्ने भएपछि त्यही शेयर नै आफू र आफ्नो परिवार पाल्ने भरोसा बन्छ ।”

कालिञ्चोक–९ कै ६८ वर्षीय नारायण शाहीलाई पनि माथिल्लो तामाकोशीको शेयरका बारेमा खुबै चासो छ । आयोजना शुरु भएदेखि नै स्थानीयवासीलाई शेयर दिन्छन्, राम्रो कमाई हुन्छ भन्ने सुनेको हो तर अहिलेसम्म कुनै छेउ–टुप्पो नलागेको उहाँलाई पनि चित्त बुझेको छैन ।

निर्वाचनमा मत माग्न गाउँ आएका उम्मेदवारसँग उहाँले पनि सोध्नुभयो, “शेयर कहिले पाइन्छ, हामीले कहिले हो लगानी गर्न पाउने ?” कोहीले माघ पछि पाइन्छ भनेका छन् त कोहीले आफूलाई जानकारी नभएको र पछि जानकारी दिउँला भन्दै हिँडेका शाहीले बताउनुभयो ।

“हामी दोलखावासीलाई माथिल्लो तामाकोशीको शेयरका बारेमा जसले राम्रोसँग बुझाउँछ, सोही पार्टीलाई मतदान गछौँ,” उहाँले भन्नुभयो ।

दोलखाकै मतदाता कुमारप्रसाद प्रसाईं माथिल्लो तामाकोशीका बारेमा कुरा गर्न अग्रसर देखिनुभयो । “हाम्रै देशको लगानीमा निर्माण भइरहेको आयोजनामा हाम्रो पनि लगानी हुनुप¥यो नि ?” उहाँले भन्नुभयो । थोर बहुत लगानी गर्ने इच्छा छ, उहाँलाई ।

आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत माग्न आएका उम्मेदवारलाई उहाँले पनि सोध्नु भयो, “शेयर कहिले पाइन्छ त नेताज्यू ?” कस्तो उत्तर पाउनु भयो त तपाईंले ? भन्ने राससको प्रश्नमा प्रसाईलें भन्नुभयो, “केही समयपछि दिन्छौँ भनेका छन् ? आशा छ, हामी दोलखालीले केही समयभित्रै माथिल्लो तामाकोशीको शेयर पाउँछौ ।”

सुन्द्रावतीका डम्बर ओलीलाई शेयरका बारेमा बढी चासो छ । “सार्वजनिक भाषणमा नै नेताले शेयरका बारेमा बताइदिएको भए राम्रो हुन्थ्यो,” उहाँले भन्नुभयो ।

लामाबगरका पेम्बा शेर्पालाई पनि आफ्नै घर–आँगनमा बन्दै गरेको आयोजनामा कहिले लगानी गर्न पाइएला भन्ने प्रतीक्षा छ । शेर्पा भन्नुहुन्छ, “पाइन्छ भन्ने सुनेको लामो समय भयो तर न त हालसम्म आयोजनाले बताएको छ, न त मत माग्न आएका नेताले नै । छिट्टै दिए हुन्थ्यो ।”

अधिकांश स्थानीयवासीले उम्मेदवारसँग माथिल्लो तामाकोशीको साधारण शेयरका बारेमा चासो र चिन्ता व्यक्त गर्ने गरेका छन् । उनीहरु गतिलो सूचना नपाएकामा उम्मेदवारसँग गुनासो पनि गरिरहेका छन् ।

प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार पार्वत गुरुङ स्थानीय मतदाताले माथिल्लो तामाकोशीको शेयरका बारेमा आफूलाई दर्जनौँ पटक प्रश्न गरेका बताउनुहुन्छ । “हामीले मत माग्ने क्रममा छिट्टै आयोजनाले शेयर जारी गर्ने तयारी गरेको जानकारी दिने गरेका छौँ । जनता पनि आश्वस्त भएका छन्”, गुरुङले भन्नुभयो, “साधारण शेयरप्रति जनताको ठूलो र व्यग्र प्रतीक्षा छ ।”

‘दोलखाको समृद्धि र स्वाभिमान, हाम्रो अभियान’ नाराका साथ एमाले र माओवादी केन्द्रका नेता संयुक्त रुपमा चुनावी अभियानमा केन्द्रित छन् ।

काँग्रेसका तर्फबाट रुद्रबहादुर खड्का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ भने प्रदेश ‘क’मा केशव चौलागाईं र ‘ख’ बर्मा लामा उम्मेदवार हुनुहुन्छ ।

वाम गठबन्धनका तर्फबाट प्रदेश ‘क’ मा विशाल खड्का र प्रदेश ‘ख’ मा पशुपति चौलागार्इं उम्मेदवार हुनुहुन्छ । लामो समयसम्म एमालेको राजनीतिमा संलग्न जिल्ला विकास समितिका पूर्वसभापति लालकुमार केसी पनि चुनावी मैदानमा हुनुहुन्छ । उम्मेदवारी दिएका अधिकांश नेतालाई मतदाताले अरू विकास निर्माणको कामभन्दा पनि माथिल्लो तामाकोशीका बारेमा नै बढी चासो र चिन्ता व्यक्त गर्ने गरेका छन् । काँग्रेसका उम्मेदवार खड्का मतदाताले शेयरका बारेमा चासो व्यक्त गरेको स्वीकार गर्दै चुनाव लगत्तै वितरण गर्नेतर्फ पहल गर्ने बताउनुहुन्छ ।

यस्तै प्रदेशसभाका उम्मेदवार खड्का, चौलागाईं, केशव पौडेल पनि स्थानीयवासीको चासोलाई सम्बोधन गर्दै आयोजनाबाट छिट्टै साधारण शेयर जिल्लावासीलाई वितरण गराउन आफूहरु प्रतिबद्ध रहेको बताउनुहुन्छ ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत शेयर दिने घोषणा गरिसकेको छ । आगामी पुसको अन्तिम साताबाट स्थानीय प्रभावितले साधारण शेयरमा आवेदन दिन सक्ने बताइएको छ । दोलखामा मतदाताको सङ्ख्या एक लाख ४४ हजार ८२५ रहेको छ । यसअघि एक लाख ३६ हजार ९७९ मतदाता रहेको थियो । पछिल्लो पटक सात हजार ८४६ मतदाता थपिएका छन् भने जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com