प्रकाशको मृत्युमा उत्सव नमनाऔं !


प्रकाशित मिति : मंसिर ६, २०७४ बुधबार

आदरणीय प्रचण्ड, नमस्कार !

प्रथमत: अल्पायुमै आकस्मिक दिवंगत तपाईँको एकमात्र पुत्र प्रकाश दाहालप्रति हार्दिक श्रद्धान्जली ! साथै, तपाईँलगायत सम्पूर्ण आफन्तजनमा गहिरो समवेदना !

थाहा छ मलाई, यसबेला तपाईँ असह्य पीडामा हुनुहुन्छ । भावबिह्वल हुनुहुन्छ । बिछिप्त हुनुहुन्छ । कतै मेरा यी शब्दहरूले तपाईँलाई चोट त थप्ने होइन डर लागिरहेको छ । मेरो उद्देश्य तपाईँलाई चोट थप्नु नभएर थोरै भए पनि चोटमा मलमपट्टी गर्नु हो ।

सबैलाई थाहा छ- मृत्यु शास्वत सत्य हो । र यो पनि सबैलाई थाहा छ कि, मृत्यु स्वीकार गर्न साह्रै कठीन हुन्छ । अझ आमाबाबुको निम्ति सन्तानको मृत्यु भयानक असैह्य हुन्छ । तर स्वीकार गर्नुको विकल्प पनि त हुँदैन । तपाईँ आज भएभरको साहस जुटाएर सन्तानको मृत्यु स्वीकार गरिरहनु भएको छ । कामना गर्दछु- भगवानले तपाईँलाई धैर्यधारण गर्ने शक्ति प्रदान गरून !

अध्यक्षज्यू ! तपाईँको पुत्र प्रकाशको मृत्युलाई लिएर आज जे जति र जे जस्ता टिकाटिप्पणीहरू भइरहेका छन्, त्यसले मलाई असाध्यै दु:खी बनाएको छ ।तर, अस्वाभाविक भने पटक्कै लागेको छैन । किनकि, करिब दुई दशकदेखि तपाईँ नेपाली राजनीतिको चर्चाको शिखरमा हुनुहुन्छ । शिखरमा हुनेहरू सधैँ जोखिममा हुन्छन् । शिखर ब्यक्तित्वहरू ब्यक्ति भएर पनि केवल एउटा ब्यक्ति मात्र हुँदैनन् संस्था हुन्छन् । नेपाली राजनीतिमा तपाईँ एउटा संस्था हो । तपाईँको सकारात्मक सोंच र कुशल नेतृत्वले यो देश बन्ने जति सम्भावना छ, नकारात्मक सोच र दुर्बल नेतृत्वले बिग्रने खतरा पनि त्यतिकै छ । सम्हालिनुस् । यो आफूले आफैँलाई सम्हाल्ने समय हो ।

ब्यक्तिगत रूपमा म तपाईँले अख़्तियार गरेको बिचारसँग सहमत छैन । म कुनै पार्टीको कार्यकर्ता पनि होइन । पार्टीगत रूपमा म आफूलाई स्वतन्त्र राख्न चाहन्छु । यसको अर्थ म विचारबिहीन मान्छे पनि होइन । म अग्रगामी हूँ, लोकतन्त्रवादी हूँ । म परिबर्तनमा बिश्वास राख्छु, प्रतिस्पर्धामा बिश्वास गर्छु । कुनै पनि प्रकारको अधिनायकवाद मेरो लागि स्वीकार्य छैन । र, आजको विश्वमा त्यो संभव पनि हुँदैन ।

प्रचण्ड/बाबुरामको नेतृत्वमा भएको जनयुद्ध नेपालका लागि ऐतिहासिक आबश्यकता थियो कि जबर्जस्ती थोपरिएको वाध्यता यसको फैसला समयले गर्दै जाला । स्वार्थ अनुसार गणितको सूत्रलाई नबंग्याई भन्ने होभने यो देशमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना मुख्यत: तपाईँहरूकै नेतृत्वमा भएको हो । संघीयता, धर्मनिरपेक्षता र समावेशी/समानुपातिकता संविधानमा लेखिनु पनि मुख्यत: तपाईँहरूकै योगदान हो ।

युद्ध शब्द आफैँमा भयानक लाग्छ । साह्रै अप्रिय र कर्णकटु लाग्छ । तर बिडम्बना, मानव सभ्यताको अधिकांश इतिहास युद्धले भरिएको छ । नेपालको इतिहास पनि त्यसको अपवाद छैन । पृथ्वीनारायण शाहको नेतृत्वमा भएको नेपाल एकीकरणको युद्ध भनौं वा राणा शासन बिरूद्ध नेपाली काँग्रेसले गरेको लडाइँ वा पन्चायत बिरूद्ध अहिलेका एमाले नेताहरूले गरेको संघर्ष वा पछिल्लोचोटि तपाईँहरूको नेतृत्वमा भएको जनयुद्ध ।

यी सबै युद्ध र आन्दोलनहरूमा गरेर हजारौं हजार मानिसहरूको ज्यान गएको छ । लाखौं लाखको अंगभंग भएको छ । नानीहरू टुहुरा भएका छन्,आमाहरूको काख रित्तिएको छ, चेलीहरूको सिन्दुर पुछिएको छ । घरबार बिहीन भई बिस्थापित हुनेहरूको त कुरै नगरौं । तर पनि समयसँगै सबैले आफूलाई सम्हाल्दै आएका छन् । किनकि, यी सबै देशको लागि थियोपरिबर्तनका लागि थियो ।

अध्यक्षज्यू ! तपाईँको छोरा प्रकाशको मृत्युबारे यही सन्दर्भमा मलाई केही बोल्न मन लागेको हो । हत्यारा, अपराधी, धुरीबाट पाप कराएको‘ जस्ता शब्दबाण प्रयोग गरी जसरी कतिपय मान्छेहरूले खुच्चिंग शैलीमा मानवीय संवेदना समेत गुमाएर प्रकाशको मृत्युमा उत्सव मनाइरहेका छन्, यस्ता कृत्यले साँच्चै मलाई चिन्तित बनाएको छ ।

चिहान खोतलेर अपराधी करार गर्दै जाने होभने बिस्तारै खाटा बस्दै गरेको घाउ उकुच नपल्टेला भनेर कसरी भन्ने बदलाभावले परिवार,समाज,देश कहिँ पनि शान्ति ल्याउँदैन । बदलाभावको अनिबार्य परिणती हत्या, हिंसा र द्वन्द नै हो । के हामी फेरि अर्को द्वन्द चाहन्छौं पक्कै चाहँदैनौं । हामी चाहन्छौं- एकता, शान्ति र समृद्धि ।

मान्छे, क्षमाशील प्राणी हो । त्यही भएर ठुलठुला युद्धपछि पनि मान्छेले मिलेर सुन्दर सभ्यताहरूको सिर्जना गरेका छन् । मलाई लाग्छ- बुद्धभूमिका हामी नेपालीहरू झनै बढी क्षमाशील छौं । मेरो अनुरोध छ- हामी अझै क्षमाशील बनौं । कसैको मृत्युमा उत्सव नमनाऔं । एकता, शान्ति र समृद्धिको लागि सबै मिलेर अघि बढौं ।

प्रकाशबारे फरक प्रसंग

अध्यक्षज्यू ! तपाईँको छोरा सार्बजनिक ब्यक्ति थिए । तर, पनि मैले प्रकाशलाई चिन्दिन थिएँ । ब्यक्तिगत रूपमा प्रकाश कस्ता थिए, म जान्दिनँ । सामाजिक सन्जालको भित्तामा लेखिए जस्तै साह्रै असल थिए वा पूरै खराब थिए । समयले दूधको दूध, पानीको पानी छुट्याउँदै जाला । कुनै पनि ब्यक्तिको मूल्याँकन उसको कर्मको आधारमा हुनुपर्छ भन्ने मान्यता राख्दछु म ।

प्रकाश, मदिराप्रेमी छन् भन्ने समाचार बारम्बार बिभिन्न सन्चार माध्यामहरूबाट थाहा पाई रहन्थें । अल्पायुमै आकस्मिक मृत्युको कारण पनि कतै मदिरा नै त होइन ? मान्छेहरूले शंका गरिरहेका छन् । खैर, जे होस् अत्यधिक मदिरापान स्वास्थ्यका लागि हानिकारक छ भन्ने कुरा सबैले बुझ्न जरूरी छ ।

सबै मान्छेको आफ्नो निजी जीवन हुन्छ र हुनु पनि पर्छ । तर, प्रकाशले निजी जीवनको नाममा जसरी एउटी नारीको जीवनमाथि अन्याय गरे,त्योचाहिँ पक्कै क्षम्य बिषय होइन । यदि मैले सुनेको गलत होइन भने सिर्जनातर्फको छोराको नाता प्रमाणित पनि प्रकाशले गरेका छैनन् रे ! यदि यो नै सत्य हो भने प्रकाशले श्रीमतीमाथि मात्र होइन, त्यस अबोध छोरामाथि पनि ठुलो अन्याय गरेकै हुन् ।

अध्यक्षज्यू ! यो प्रकाशको मात्र निजी कुरा थिएन, पिता हुनाको नाताले तपाईँको पनि यसमा जिम्मेवारी हुनुपर्थ्यो । अप्ठेरो नमान्नु होला, यो पक्कै पनि तपाईँमाथि आलोचनाको बिषय बन्छ नै । तर अहिले दुबै बुहारी र नातिहरू आफूसँगै परिवारमा राख्ने जुन निर्णय गर्नुभएको छ, त्यो निर्णयले साँच्चै हामी सबैलाई खुसी बनाएको छ ।

अन्तमा, अध्यक्षज्यू !

 तपाईँ प्रकाशको पिता त हुँदै हो, त्यति मात्र नभएर यो देशको नेता पनि हो । तपाईँसँग जनताको ठूलो अपेक्षा छ । जनता  एकता, शान्ति र समृद्धि चाहान्छन् । यी सबै कुरा औपचारिक लोकतन्त्रको जगमा होइन, सच्चा लोकतन्त्रिक ब्यबहारबाट मात्र संभव छ ।

देशमा प्रतिनिधि सभा र प्रदेश सभाको ऐतिहासिक निर्वाचन सम्पन्न हुनै लागिरहेको छ । रिसानी माफ गर्नुस् । सत्य बोल्ने सहास गर्नैपर्छ । स्थानीय तहको भरतपुर महानगरपालिकाको निर्वाचनले तपाईँको ब्यक्तित्वलाई केही न केही धुमिल बनाएको छ । त्यसबाट शिक्षा लिँदै यस निर्वाचन साँच्चै नै स्वच्छ, निश्पक्ष र धाँधलीरहित बनाउन तपाईँको भूमिका निर्णायक बनोस् ।

तपाईँलाई शुभकामना !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com