नुवाकोटको नालीबेलीः रामशरण र अर्जुननरसिंह दुबै ‘धराप’ मा


प्रकाशित मिति : मंसिर ६, २०७४ बुधबार

६ मंसिर, नुवाकोट । यो संयोगमात्रै नहुन सक्छ, नुवाकोटमा कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी बम पड्काइनु र त्यही निहुँमा नुवाकोटका प्रहरी प्रमुख वीरेन्द्र बस्याललाई हेडक्वार्टर तानिनु ।

डा.महतले बम विप्लबले होइन, आफ्नै प्रतिस्पर्धी माओवादी नेता हितवहादुर तामाङले पड्काएको हुन सक्ने आरोप लाउनु र लगत्तै प्रहरी प्रमुख परिवर्तन गरिनुले नुवाकोट १ को चुनाव तनावपूर्ण हुने संकेत गरेको छ ।

नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा कांग्रेसका डा. रामशरण महत र माओवादी केन्द्रका हितबहादुर तामाङ तेस्रो पटक प्रतिस्पर्धा गर्दैछन् । पहिलो र दोस्रो संविधान सभा निर्वाचनमा झिनो मतले महतसंग पराजित भएका तामाङ यो पटक एमालेको समेत समर्थन पाएकाले जित्ने दाउमा छन् ।

डा. महत लगातार पाँचौ जित निकाल्न कुनै कसर बाँकी राख्ने पक्षमा छैनन् । त्यसैले पनि यो चुनाव तनावपूर्ण छ ।

महतको दाबी, हितबहादुरको आरोप

प्रतिनिधि सभा क्षेत्र नं. १ मा कांग्रेसका उम्मेदवार डा. रामशरण महत ०४८ सालदेखि आफू नुवाकोटको विकासका लागि निरन्तर लागि परेको र जिल्लाको सबै बिकासमा आफू जोडिएको दावी गर्छन् । नुवाकोट जिल्लाको सडक निर्माण, कालोपत्रे, सिँञ्चाई, पुलमा आफ्नो योगदान रहेको दावी उनको छ ।

पूर्वअर्थमन्त्री महत लोकतन्त्रको रक्षा र आर्थिक समृद्धिका लागि चुनावी मैदानमा उत्रिएको बताउँछन् । उनका प्रतिस्पर्धी साझा बाम गठबन्धनबाट उम्मेदवार माओवादी केन्द्र केन्द्रीय सचिवालय सदस्य तथा पूर्वखेलकुद मन्त्री हितबहादुर तामाङले संविधानको कार्यान्वयन, रक्षा र विकासका लागि आफू जनताको माझ आएको बताएका छन् ।

क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार माओवादी केन्द्रका हितबहादुर तामाङ कांग्रेसले नेतृत्व लिएदेखि जिल्ला वर्वादीमा फसेको भन्दै नेता परिर्वतनको आवश्यकता रहेको बताउँछन् । पटक पटक अर्थमन्त्री भएका महतको आफ्नै निर्वाचन क्षेत्रका धेरै गाउँमा मोटरबाटो समेत नपुगेको मुद्दालाई उनले उठाएका छन् ।

पञ्चायतकालदेखि निर्माण सुरु भएको सडक मार्ग र विद्युतीकरणलाई रामशरण महतले देखाएर आफ्नो काम भन्ने गरेको प्रति उनको तिब्र आलोचना छ । ककनी-त्रिशुली, गल्छी-देविघाट, छहरे-टोखा सडक पञ्चालयकालमा निर्माण थालिएको र त्यसमा कांग्रेसले कुनै सहभागिता नजनाएको तामाङको आरोप छ ।

उनले भूकम्पपछिको यो साढे दुई वर्षमा पनि व्यक्तिको घर निर्माण हुन नसकेलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् । ‘हामी जनताका लागि काम गछौर्ं, विकासको नाममा राज्यको रकम आफ्ना कार्यकर्तालाई खुवाउने र बाँड्ने काम गर्दैनौं’ हितबहादुर तामाङ भन्छन् ।

केसी भन्छन् प्रधानमन्त्री हुन्छु, खतिवडा भन्छन्- म सिपाही हुँ

नुवाकोटमा रहेको अर्को प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा पनि कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसी प्रतिस्पर्धामा छन् । केसीलाई टक्कर दिन मैदानमा उत्रिएका छन् एमालेको जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा ।

केसी जिल्लाको समग्र उन्नतिका लागि निर्वाचनमा आफू होमिएको बताउँछन् । परी आए प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न सक्ने दाबी उनको छ ।
केसी आफु विद्यार्थी जीवनदेखि जिल्लाको लागि काम गर्दै आएको बताउँछन् । परिआए प्रधानमन्त्रीको दावेदार रहेकोले व्यक्तित्व हेरेर मतदान गर्न उनको आग्रह रहने गरेको छ ।

गोरखा, सिन्धुपाल्चोक या नुवाकेाट मध्ये रेलमार्ग कताबाट जाने भन्ने छलफल भइरहेकोले नुवाकोटबाटै रेल लैजान आफु बाहेक अरुले नसक्ने उनको भनाइ छ ।

साझा बाम गठबन्धनबाट उम्मेदवारी दिएका एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा आफूले जिल्लाको सिपाही बनेर राजनीतिक यात्रा अघि बढाइरहेकाले र जनताको दुःख सुखमा साथ रहिरहने नेताको रुपमा आफूलाई कायम राख्ने बताउँछन् ।

केसीसँगको प्रतिस्पर्धामा रहेका बाम गठवन्धनका उम्मेदवार एमाले जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडा आफू सधै जिल्लामै रहेर जनताको सेवा गरिरहेको सिपाही भएको बताउछन् । आफु जनताको काख पोल्टामा रहिरहेको मान्छे भएकोले पनि जनताको सबै दुःखसुखमा साथ दिनका लागि आफु सधै तयार रहेको खतिवडा बताउँछन् ।

बाम एकतामका कारण मतदातामा आएको उत्साहले आफुलाई मजबुत पारेको भनाई उनको छ । भुकम्प पछिको व्यक्तिको घर निर्माणका देखिएको ढिलासुस्ती र सरकारी रकम लिनका लागि नागरिकले ब्यहोर्दै आएको झण्झटलाई पन्छाउने खतिवडाको योजना छ । त्यस्तै प्रदेश नं. ३ को राजधानी नुवाकोटलाई बनाउने र त्यसका लागि आफुलाई निर्वाचित गर्न उनले मतदातालाई आग्रह गरेका छन् ।

‘मेरो प्रतिस्पर्धीलाई राम्रोसँग जान्दछु, ०३३ सालमा गाउँर्फक अभियानका क्रममा जिल्ला पञ्चायतमा काम गरेका र ०३८ सालदेखि माननीय बनेका अर्जुननरसिंह केसीको योगदान जिल्लामा के रहृयो र ? समग्र विकास, विधिको शासनका लागि र जनता सुखका लागि कम्न्युनिष्टको आवश्यकता अब नुवाकोटलाई अनि नेपाललाई आवश्यक छ’ खतिवडा भन्छन् ।

प्रदेशमा कोको छन् ?

प्रदेश सभातर्फ निर्वाचनमा क्षेत्र नं. १ को (क) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष महेन्ऽ थिङ र संयुक्त बाम गठबन्धनबाट माओवादी केन्ऽका केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्यमन्त्री राधिका तामाङ मैदानमा छन् ।

प्रदेश (ख) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापतिका प्रत्यासी डा. महतका भतिज रमेशकुमार महत, संयुक्त बाम गठबन्धनको तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष बद्री मैनाली चुनावी मैदानमा छन् ।

प्रदेश सभातर्फ प्रतिनिधिसभा सदस्य क्षेत्र नं. २ को (क) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति एवं पुर्व सांसद् जगदीश्वरनरसिंह केसी र संयुक्त बाम गठबन्धनबाट एमालेका पूर्व विदेश विभाग सचिव केशवराज पाण्डे चुनावी प्रतिस्पर्धामा छन् ।

प्रदेश सभा (ख) मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका क्षेत्रीय सभापति जगतबहादुर तामाङ र संयुक्त बाम गठबन्धनबाट माओवादी केन्द्रका जिल्ला संयोजक हिरानाथ खतिवडा प्रतिस्पर्धामा छन् ।

कस्को अवस्था कस्तो ?

एमाले माओवादीको बाम गठवन्धन र बैशाखमा भएको स्थानीय निर्वाचनको मतको आधारमा काँग्रेसका उम्मेदवार भन्दा बाम गठवन्धनका उम्मेदवार अगाडि देखिएका छन् । तर, दोस्रो संविधानसभा निर्वाचनको मतको आधारमा काँग्रेस अगाडी छ ।

कांग्रेसले अघिल्लो संविधानसभामा भन्दा ३१ बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा समग्र जिल्लामा पार्टीको मत परिणाम घटाएको छ । ०७० सालको दोश्रो संविधान सभा निर्वाचनमा काँम्ग्रेसले प्राप्त गरेको मत त्यतिबेला एमाले माओवादीले पाएको सबै मत जोड्दा पनि २८ सयले बढी थियो ।

नुवाकोटका दुई नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा स्थानीय तह छन् । स्थानीय तह निर्वाचनमा गाउँ तथा नगरपालिकाका अध्यक्ष तथा प्रमुखहरुले प्राप्त गरेको मत जोड्दा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन परिणाम बाम गठवन्धनसँग यसपटक निर्वाचनमा जुध्न कांग्रेसलाई फलामको चिउरा चपाउनु सरह छ ।

गणितमा कांग्रेस कमजोर

स्थानीय तह निर्वाचनमा नुवाकोट जिल्लामा ४४ हजार १ सय १८ मत सहित कांग्रेस पहिलो, ४२ हजार १२ मतसहित नेकपा एमाले दोस्रो र ३४ हजार २ सय ७८ मत सहित माओवादी केन्ऽ तेस्रो स्थानमा छन् । दुई राप्रपा र नयाँ शक्ति (विभाजनका कारण केही नेता मात्रै) को स्थानीय निर्वाचनको मत २ हजार पनि पुग्दैन, जुन कांग्रेस गठवन्धनमा छ ।

यसरी अंकगणितमा स्थानीय तहलाई हेर्दा गठवन्धनसँग नयाँ शक्तिका केही नेताले थप्ने भोट बाहेक ६७ हजार २८० मत देखिएको छ । ०७० को संविधानसभा निर्वाचनमा भन्दा एमालेले स्थानिय तह निर्वाचनमा मत परिणाम बढाएको छ । यस अगाडिको संविधानसभा निर्वाचन नतिजा हेर्दा कांग्रेस पहिलो, माओवादी दोस्रो र एमाले तेस्रो शक्तिको रुपमा नुवाकोटमा थियो ।

त्यसवेला तीनवटा निर्वाचन क्षेत्र रहेको नुवाकोट जिल्लाका तीनवटै क्षेत्रमा कांग्रेसले जितेको थियो । तर, अहिले प्रतिनिधिसभामा दुईवटा निर्वाचन क्षेत्र कायम भएको छ भने प्रदेश सभाका लागि चारवटा क्षेत्र नुवाकोटमा छ । यहाँ प्रतिनिधि सभाका लागि एमाले र माओवादीले एक/एक वटा क्षेत्र र प्रदेश सभामा दुई/दुई वटा क्षेत्र बाँडफाँड गरेर निर्वाचन लडदैछन् ।

कांग्रेसका डा. रामशरण महत र बाम गठवन्धनका हितबहादुर तामाङले प्रतिस्पर्धा गरिरहेको प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा बैशाख ३१ को चुनावको आधारमा डा. महत १४ हजार ३१० मतले पछाडि छन् ।

क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरिरहेका कांग्रेसका अर्जुननरसिंह केसी स्थानीय तह निर्वाचनको आधारमा बाम गठवन्धनका उम्मेदवार नारायणप्रसाद खतिवडा भन्दा १७ हजार ८५६ मतले पछाडि छन् ।

क्षेत्र नं. २ मा बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, विदुर नगरपालिका, मेघाङ गाउँपालिका र किस्पाङ गाउँपालिका पर्छन् । स्थानीय तहमा तीन पार्टीका अध्यक्ष/प्रमुखले प्राप्त गरेको मत परिणामअनुसार यो क्षेत्रमा कांग्रेसको २१ हजार ४६६, एमालेको २३ हजार ८२२ र माओवादी केन्ऽको १५ हजार ५०० मत छ । यो क्षेत्रमा एमाले एउटैको कांग्रेसको भन्दा २ हजार ३५६ मत बढी छ ।

प्रदेशसभामा पनि वामपन्थी बलिया

यस्तै प्रदेश सभामा पनि बाम गठवन्धनका उम्मेदवार नै अगाडि देखिएका छन् । क्षेत्र नं. १ को प्रदेश सभा -क) मा वाम गठवन्धनको मत कांग्रेसको भन्दा ६५ सयले बढी हुन्छ ।

यो प्रदेश सभामा दुप्चेश्वर, शिवपुरी, तादी गाउँपालिका पुरै र पञ्चकन्या गाउँपालिकाको वडा नं. ३ र ४ पर्दछन् । यसमा बाम गठवन्धनबाट नेकपा माओवादी केन्द्रका राधिका तामाङ र कांग्रेसका महेन्द्र थिङ्ग प्रतिस्पर्धामा छन् ।

प्रतिनिधि सभा क्षेत्र नं. १ कै प्रदेश सभा -ख) मा कांग्रेस भन्दा बाम गठवन्धन ७ हजार मतले बढी छ । यो क्षेत्रमा ककनी, लिखु, सूर्यगढी गाउँपालिका पुरै र पञ्चकन्या गाउँपालिकाको वडा नं. १, २ र ५ पर्छ । यहाँ बाम गठवन्धनका तर्फबाट एमालेका बद्री मैनाली र कांग्रेसका रमेश महत उम्मेदवार छन् ।

प्रतिनिधि सभा क्षेत्र नं. २ को प्रदेश सभा -क) मा पनि बाम गठवन्धनको मत बढी छ । स्थानीय तह निर्वाचनको आधारमा एमाले माओवादीले प्राप्त गरेको मतको आधारमा कांग्रेस १० हजार ५०० मतले पछाडि छ । यो क्षेत्रमा बेल्कोटगढी नगरपालिका पुरै र विदुर नगरपालिकाको वडा नं. १ देखि ६ र वडा नं. १०, ११ पर्छ ।

यो क्षेत्रमा बाम गठवन्धनका तर्फबाट उमालेका केशवराज पाण्डे र कांग्रेसका जगदीश्वरनरसिंह केसी उम्मेदवार छन् । प्रदेश सभा (ख) मा पनि स्थानीय चुनावको मत बाम गठवन्धन नै अगाडि छ ।

कांग्रेसभन्दा बाम गठवन्धन ५५ सय मतले अगाडि देखिएको छ । यस क्षेत्रमा विदुर नगरपालिकाको वडा नं. ७, ८, ९, १२, किस्पाङ, मेघाङ्ग र तारकेश्वर गाउँपालिका पर्छ । यो क्षेत्रमा बाम गठवन्धनका तर्फबाट माओवादीका हिरानाथ खतिवडा र कांग्रेसका जगतबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।

यसमा स्थानीय निर्वाचनपछि थपिएका करिव नुवाकोटको करिव १८ हजार मतदातालाई समावेश गरिएको छैन । त्यस्तै साना दलले स्थानीय तहमा पाएका मतलाई पनि जोड घटाउ गरिएको छैन । नुवाकोटमा कांग्रेसलाई राप्रपा, राप्रपा प्रजातान्त्रिकको समर्थन छ । गोरखा र रसुवाका लागि कांग्रेससँग सहकार्य गरेको नयाँ शक्तिले भने महत र केसीलाई नसघाउने भएको छ ।

नयाँ शक्तिमा संकट

नयाँ शक्तिबाट क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका सन्तबहादुर तामाङ उम्मेदवारी नै फिर्ता लिएर माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

कांग्रेसलाई सहयोग गर्न नयाँ शक्ति केन्द्रले दिएको निर्देशन लत्याउँदै क्षेत्र नं. १ को प्रदेश सभाका उम्मेदवारहरुले आफ्नो उम्मेदवारी कायम राखेका छन् ।

कांग्रेस र बाम गठवन्धनमा समाहित हुने नयाँ शक्तिको विवादका कारण क्षेत्र नं. १ का नयाँ शक्ति वामको पक्षमा देखापरेका छन् । क्षेत्र नं. २ मा भने जिल्ला संयोजक भीमलाल तामाङले आफ्नो उमेदवारी स्थगन गरेर प्रदेश सभाका उम्मेदवार जगतबहादुर तामाङलाई भोट माग्न थालेका छन् ।

कांग्रेसलाई सहयोग गर्ने पर्ने भए पछि नयाँ शक्तिका पूर्व जिल्ला संयोजक राजकुमार रेग्मी सन्देश, केन्द्रीय सचिवालय सदस्य गोकर्णनाथ न्यौपाने ‘गजेन्द्र’ माओवादी केन्द्रमा प्रवेश गरेका छन् । केन्द्रीय सदस्यहरु नवराज ढुङ्गाना ‘विज्ञान’ डा. चेतनाथ अधिकारी एमालेमा प्रवेश गरेका छन् । अर्का पूर्व जिल्ला संयोजक कृष्ण कुइँकेल भने तटस्थ छन्

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com