न्यूयोर्क उडे परराष्ट्रमन्त्री, प्रचण्ड भोलि जाने


प्रकाशित मिति : आश्विन २, २०७३ आईतबार

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री प्रकाशशरण महत आज बिहान दिल्लीबाट न्यूयोर्क उडेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालसँगै भारत भ्रमणमा रहेका मन्त्री महत दिल्लीका औपचारिक भेटवार्ता सकिएपछि आइतबार बिहान न्यूयोर्क उडेको परराष्ट्र मन्त्रालयले बताएको छ।

चार दिने औपचारिक भारत भ्रमण सकेर आइतबार काठमाडौँ फर्किएका प्रधानमन्त्री दाहाल महासभामा सहभागी हुन भोली न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ। सोमबार साँझ नौ बजे काठमाडौँबाट उडेर कतारको दोहा हुँदै प्रधानमन्त्री दाहालको टोली न्यूयोर्क पुग्नेछ। प्रधानमन्त्री दाहालको यात्रामा स्वकीय सचिव प्रकाश दाहाल, जोखबहादुर महरा लगायत रहनेछन्।न्यूयोर्कमा भोलिबाट सुरु हुने संयुक्त राष्ट्रसंघको ७१ औँ महसभा दश दिनसम्म चल्नेछ ।

महासभाका श्रृंखलावद्ध सम्मेलन र साइडलाइन भेटवार्तामा सहभागी हुने मन्त्री महतको कार्यक्रम छ। अमेरिकी विदेशमन्त्री जोन केरीसहित महासभामा सहभागी हुन न्यूयोर्क पुग्ने विभिन्न देशका विदेश मन्त्रीहरूसँग महतले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ।

राष्ट्रसंघीय महसभालाई सम्बोधन गरेपछि अमेरिकी राष्ट्रपति बाराक ओबामा सहित विभिन्न देशका उच्च नेताहरूसँग प्रधानमन्त्री दाहालको भेट हुने बताइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com