ज्योतिषीले ७ पटक प्रधानमन्त्री बन्छस् भनेका छन्ः देउवा


प्रकाशित मिति : कार्तिक ३०, २०७४ बिहीबार

३० कात्तिक, धनगढी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि आफू नै फेरि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

कैलालीको धनगढीमा बिहीबार बिहान आयोजित पत्रकार भेटघाटमा देउवाले भने, ‘मलाई ज्योतिषीले ७ पटकसम्म प्रधानमन्त्री हुन्छस् भनेको छ, फेरि पनि प्रधानमन्त्री बन्ने मै हुँ ।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवालाई ‘कांग्रेसको अन्तिम प्रधानमन्त्री’ बताइरहेका बेला देउवाले आफू ७ पटकसम्म प्रधानमन्त्री हुने बताएका हुन् ।

‘अन्तिम प्रधानमन्त्री’ भन्ने केपी ओलीको अभिव्यक्तिबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिने क्रममा देउवाले भने– ‘कांग्रेसले आगामी चुनावमा बहुमत ल्याउँछ र फेरि पनि प्रधानमन्त्री मै हुन्छु ।’

कांग्रेस सभापति देउवा हाल चौथोपटक प्रधानमन्त्रीको कुर्सीमा छन् । सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने व्यक्ति अहिले आफूबाहेक कोही नभएको दाबीसमेत देउवाले गरे ।
डडेलधुरामा आफूले चुनाव जित्ने पक्कापक्की भएको भन्दै देउवाले सुदुर पश्चिममा पनि कांग्रेसको राम्रो नतिजा आउने र पार्टीले बहुमत ल्याएर आफ्नो नेतृत्वमा सरकार बनाउने दाबी गरे ।

कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेकी पत्नी आरजु राणाको पक्षमा चुनाव प्रचार गर्न प्रधानमन्त्री देउवा यतिबेला कैलालीमा छन् ।

निर्वाचन व्यवस्था राम्रो छ, ढुक्क भएर भोट हाल्नोस्

प्रधानमन्त्री देउवाले सुरक्षा व्यवस्था राम्रो बनाउन आफूले निर्देशन दिइसकेको बताउँदै ढुक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदाताहरुलाई आग्रह गरेका छन् ।

‘जनताले निर्धक्क भएर स्वविवेकीय अधिकार पाउन् भन्ने हिसाबले सुरक्षाको अत्यन्तै राम्रो व्यवस्था मिलाइएको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘जनताले निर्धक्क भएर मताधिकार प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । आफ्नो मत प्रयोग गरेर निर्वाचनलाई सफल पार्न म हार्दिक अपील गर्दछु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com