मलेसिया ४५ रनमै अलआउट, सन्दिपले लिए ५ विकेट
प्रकाशित मिति : कार्तिक २८, २०७४ मंगलबार

एसीसी यू-१९ एशिया कप क्रिकेटको समूह चरणको खेलमा मलेसियाले नेपालसामू ४६ रनको विजयलक्ष्य पेश गरेको छ ।
वर्षाका कारण २४ ओभरमा छोट्याइएको खेलमा नेपाली बलरहरुको प्रदर्शन शानदार रहँदा मलेसिया १५.३ ओभरमा ४५ रनमा समेटियो ।
नेपालले केहिबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।
बायुमास ओभलमा घरेलु टोली मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २/२ तथा अनिलकुमार साहले १ विकेट लिए ।
सुरुवातदेखि नै आक्रामक बलिङ गरेको नेपालले मलेसियाका कुनै पनि ब्याट्सम्यानलाई लामो समय क्रिजमा टिक्न दिएन । ओपनर सायद अजिजले २० र जगजित सिंहले १० रन बनाउनुबाहेक मलेसियाका अन्य ब्याट्सम्यानले धारिलो बलिङको सामना गर्नै सकेनन् ।
छैटौं ओभरको चौथो बलमा जगजीतलाई अनिल साहले जितेन्द्र सिंहको हातबाट क्याचआउट गराएपछि सुरु भएको मलेसियाको विकेट पतन त्यसयता निरन्तर रहृयो ।
५.४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो ।
यसअघि समूहको दोस्रो खेलमा भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकालेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने अवस्थामा छ । समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।