स्तब्ध राहुल द्रविडले विनोद दासलाई भेटेरै दिए बधाई


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

२७ कात्तिक, काठमाडौं । अन्डर १९ क्रिकेटमा सनसनीपूर्ण नतिजा निकाल्दै नेपालले भारतलाई १९ रनले हरायो ।

यो जितले सबैभन्दा बढी स्तब्ध बनायो भारतीय टिमका कोच राहुल द्रविडलाई । तर आफ्नो पीडालाई लुकाउँदै उनले नेपाली टिमका सकमक्षी विनोद दासलाई भेटेरै बधाई दिएका छन् ।

मलेसियाको क्वालालम्पुरमा आयोजित एसीसी यू-१९ एशियाकपमा आइतबार नेपालले साविक विजेतासमेत रहेको शक्तिशाली भारतलाई पराजय चखाएको थियो ।

आफ्नो टोलीको हारलगत्तै द्रविड नेपाली टोलीको ड्रेसिङ रुपममै गएर प्रशिक्षक विनोद दासलाई भेटेको क्रिकइन्फो डटकमले जनाएको छ । एक जमानाका स्टार क्रिकेटरलाई आफ्नो ड्रेसिङ रुपममा पाउँदा नेपाली क्रिकेटरहरु उत्साहित देखिएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘द्रविड धेरै विनम्र देखिएका थिए, उनले हामी सबैलाई बधाई दिए,’ दासको भनाई उदृत गर्दै क्रिकइन्फोले लेखेको छ, ‘उनले भने कि यो जितको हकदार अरु कोही नभएर हामी नै थियौं । प्रतियोगितामा अरु सबैले भन्दा हामीले राम्रो खेलेको पनि उनले बताए । उनले हाम्रो खेललाई यसरी प्रशंसा गरेकोमा हामी खुशी छौं ।’

दास अगाडि भन्छन्, ‘हामीले भारतलाई कुनै पनि तहको क्रिकेटमा यसअघि जितेका थिएनौं, त्यसैले यो जित हाम्रो लागि धेरै महत्वपूर्ण छ ।’

पीचले स्पिनलाई सहयोग गरेकाले नेपालले मध्यम स्कोर पनि रक्षा गर्न सफल भएको दासले बताए ।

‘हामी आफ्नो फिल्डिङ र बलिङमा गौरव गर्छौं । आज हामीले पुनः आफूलाई प्रमाणित गर्‍यौं । भारतले राम्रो स्टार्ट लियो तर हामी खेलमा फर्किन सफल भयौं,’ उनले भने ।

एक समय भारत ९१ रनमा एक विकेटको अवस्थामा थियो । तर नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले ३९ रन दिएर ४ विकेट लिँदै भारतलाई घुँडा टेकाएका थिए ।

‘दिपेन्द्र हाम्रो प्रमुख स्पुनर होइनन्, तर पछिल्लो समयमा उनले राम्रो ठाउँमा बल फ्याँकिरहेका छन् । उनी आजका उत्कृष्ट बलर ठहरिए,’ दासले अगाडि भने ।

कप्तान ऐरीले धर्मराइरहेको नेपाली ब्याटिङलाई पनि दिशा दिएका थिए । उनले बनाएको ८८ रनले नेपाललाई सम्हालेको थियो ।

यसअघिको खेलमा भारतले मलेसियालाई २०२ रनले हराएको थियो । तर नेपालले दिएको १९६ रनको लक्ष्य उसले भेट्टाउन सकेन । दासका अनुसार यो विकेट सुस्त थियो ।

दासले नेपाली टोलीका स्पिनरहरु सन्दिप लामिछाने, सहाब आलम र पवन सर्राफको पनि प्रशंसा गरे । साथै फास्ट बलरहरु किशोर महतो र कमलसिंह ऐरी सुरुवातमा पिटिए पनि पछि कमब्याक गर्न सफल भएको बताए ।

‘हाम्रो बलिङ सानो टार्गेट रक्षा गर्न पनि सफल छ भन्ने प्रमाणित भएको छ,’ दासले भने ।

यसअघि शनिबारको म्याचमा पनि नेपालले बंगलादेशलाई मध्यम लक्ष्य दिएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य भेट्टाउने क्रममा बंगलादेश लड्खडाएको थियो ।

अन्तिम दुई ओभरमा १० रन चाहिएको अवस्थामा अन्तिम ओभरको पाँचौं बलमा उसले दुई विकेटको जित निकाल्न सफल भयो ।

नेपालले भोलि मंगलबार घरेलु टोली मलेसियासाग प्रतिस्पर्धा गर्नेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com