स्तब्ध राहुल द्रविडले विनोद दासलाई भेटेरै दिए बधाई
प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

२७ कात्तिक, काठमाडौं । अन्डर १९ क्रिकेटमा सनसनीपूर्ण नतिजा निकाल्दै नेपालले भारतलाई १९ रनले हरायो ।
यो जितले सबैभन्दा बढी स्तब्ध बनायो भारतीय टिमका कोच राहुल द्रविडलाई । तर आफ्नो पीडालाई लुकाउँदै उनले नेपाली टिमका सकमक्षी विनोद दासलाई भेटेरै बधाई दिएका छन् ।
मलेसियाको क्वालालम्पुरमा आयोजित एसीसी यू-१९ एशियाकपमा आइतबार नेपालले साविक विजेतासमेत रहेको शक्तिशाली भारतलाई पराजय चखाएको थियो ।
आफ्नो टोलीको हारलगत्तै द्रविड नेपाली टोलीको ड्रेसिङ रुपममै गएर प्रशिक्षक विनोद दासलाई भेटेको क्रिकइन्फो डटकमले जनाएको छ । एक जमानाका स्टार क्रिकेटरलाई आफ्नो ड्रेसिङ रुपममा पाउँदा नेपाली क्रिकेटरहरु उत्साहित देखिएका थिए ।
‘द्रविड धेरै विनम्र देखिएका थिए, उनले हामी सबैलाई बधाई दिए,’ दासको भनाई उदृत गर्दै क्रिकइन्फोले लेखेको छ, ‘उनले भने कि यो जितको हकदार अरु कोही नभएर हामी नै थियौं । प्रतियोगितामा अरु सबैले भन्दा हामीले राम्रो खेलेको पनि उनले बताए । उनले हाम्रो खेललाई यसरी प्रशंसा गरेकोमा हामी खुशी छौं ।’
दास अगाडि भन्छन्, ‘हामीले भारतलाई कुनै पनि तहको क्रिकेटमा यसअघि जितेका थिएनौं, त्यसैले यो जित हाम्रो लागि धेरै महत्वपूर्ण छ ।’
पीचले स्पिनलाई सहयोग गरेकाले नेपालले मध्यम स्कोर पनि रक्षा गर्न सफल भएको दासले बताए ।
‘हामी आफ्नो फिल्डिङ र बलिङमा गौरव गर्छौं । आज हामीले पुनः आफूलाई प्रमाणित गर्यौं । भारतले राम्रो स्टार्ट लियो तर हामी खेलमा फर्किन सफल भयौं,’ उनले भने ।
एक समय भारत ९१ रनमा एक विकेटको अवस्थामा थियो । तर नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले ३९ रन दिएर ४ विकेट लिँदै भारतलाई घुँडा टेकाएका थिए ।
‘दिपेन्द्र हाम्रो प्रमुख स्पुनर होइनन्, तर पछिल्लो समयमा उनले राम्रो ठाउँमा बल फ्याँकिरहेका छन् । उनी आजका उत्कृष्ट बलर ठहरिए,’ दासले अगाडि भने ।
कप्तान ऐरीले धर्मराइरहेको नेपाली ब्याटिङलाई पनि दिशा दिएका थिए । उनले बनाएको ८८ रनले नेपाललाई सम्हालेको थियो ।
यसअघिको खेलमा भारतले मलेसियालाई २०२ रनले हराएको थियो । तर नेपालले दिएको १९६ रनको लक्ष्य उसले भेट्टाउन सकेन । दासका अनुसार यो विकेट सुस्त थियो ।
दासले नेपाली टोलीका स्पिनरहरु सन्दिप लामिछाने, सहाब आलम र पवन सर्राफको पनि प्रशंसा गरे । साथै फास्ट बलरहरु किशोर महतो र कमलसिंह ऐरी सुरुवातमा पिटिए पनि पछि कमब्याक गर्न सफल भएको बताए ।
‘हाम्रो बलिङ सानो टार्गेट रक्षा गर्न पनि सफल छ भन्ने प्रमाणित भएको छ,’ दासले भने ।
यसअघि शनिबारको म्याचमा पनि नेपालले बंगलादेशलाई मध्यम लक्ष्य दिएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले दिएको १ सय ८१ रनको लक्ष्य भेट्टाउने क्रममा बंगलादेश लड्खडाएको थियो ।
अन्तिम दुई ओभरमा १० रन चाहिएको अवस्थामा अन्तिम ओभरको पाँचौं बलमा उसले दुई विकेटको जित निकाल्न सफल भयो ।
नेपालले भोलि मंगलबार घरेलु टोली मलेसियासाग प्रतिस्पर्धा गर्नेछ ।