वाईसीएल र क्रान्तिकारी भन्छन्- आक्रमण नरोकिए प्रतिकार गर्छौं


प्रकाशित मिति : कार्तिक २७, २०७४ सोमबार

२७ कात्तिक, काठमाडौं । माओवादी केन्द्र निकट वाईसीएल र अखिल (क्रान्तिकारी)ले आफ्ना नेताहरुमाथि आक्रमण नरोकिएमा प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनीहरुले चुनावी अभियानमा रहेका नेता, कार्यकर्ता र जनताको सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग पनि गरेका छन् ।

वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सोमबार संयुक्त विज्ञप्ति जारी गरेर माओवादी नेताहरु वर्षमान पुन र जनार्दन शर्मालाई लक्षित गरेर भएको आक्रमणको भर्तसना गरेका छन् ।

‘पूर्वमन्त्रीद्वय वर्षमान पुन (अनन्त) र जनार्दन शर्मा (प्रभाकर)लाई लक्षित गरी निकृष्ट ढंगले गरिएको कायरतापूर्ण र श्रृंखलावद्ध वम आक्रमणको घोर भर्त्सना गर्दछौं,’ विज्ञप्तिमा लेखिएको छ, ‘मुलुकमा समावेशी र समानुपातिक प्रतिनिधित्व सहितको संघीय गणतन्त्रको वहालीका लागि अतुलनीय भूमिका निर्वाह गरेका जनताका पि्रय नेताहरुको ज्यानै लिनेसम्मको मनसाय राखी गरिएको यो हर्कत हदैसम्म निन्दनीय छ ।’
विज्ञप्तिमा थप लेखिएको छ, ‘यस खालका गतिविधि जारी रहे देशभरका लाखौंलाख युवा विद्यार्थी प्रतिवादमा उत्रन वाध्य हुने चेतावनी दिन चाहन्छौं ।’

वाम गठवन्धनपछि सरकारले चुनाव विथोल्न अनेक बहानाबाजी खोजिरहेको र त्यसैलाई बल पुग्नेगरी आक्रमण भएको वाईसीएल र अखिल क्रान्तिकारीको ठहर छ । उनीहरुले यसलाई ‘पश्चगामी सोचको द्योतक’ भनेका छन् ।

आक्रमणमा विप्लव नेतृत्वको नेकपाले गरेको हो भने माफी माग्न र आगामी दिनमा यस्ता गतिविधि नगर्न चेतावनीसमेत दिइएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘यदि विभिन्न सञ्चारमाध्यममा आए जस्तै यो आक्रमण विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको हो भने अविलम्ब माफी मागेर आगामी दिनमा यो हर्कत नदोहोर्‍याउन चेतावनी दिन चाहन्छौं । साथै मुलुकमा विकसित राजनीतिक परिदृष्यको सामना राजनीतिक रुपमा नै गर्न सम्वद्ध पक्षलाई आग्रह गर्दछौं ।’

हेर्नुहोस् वाईसीएल र अखिल क्रान्तिकारीको विज्ञप्ति 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com