आयोगले मंसिरको चुनावका लागि २२ लाख मतदाता परिचयपत्र छाप्यो


प्रकाशित मिति : कार्तिक २४, २०७४ शुक्रबार

काठमाडौं, कात्तिक २४ – आगामी मंसिरमा हुने चुनावका लागि निर्वाचन आयोगले पुराना मतदाताका लागि परिचयपत्र नछाप्ने भएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरण मंसिर १० र दोस्रो चरणमा २१ गते हुने चुनावका लागि नयाँ मतदाताको मात्र परिचयपत्र छापिने भएको हो । गएको स्थानीय तहको चुनावमा मतदाता नामावलीमा नाम रहेका र परिचयपत्र लिइसकेका मतदाताका लागि आयोगले फेरि परिचयपत्र वितरण नगर्ने प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
स्थानीय तहका चुनावमा भोट दिएका मतदाताले पुरानै परिचयपत्रका आधारमा भोट खसाल्नुपर्ने ढकालको भनाइ छ । मतदाताको सहजका लागि आयोगले सरकारी निकायबाट जारी भएको कुनै पनि आधिकारिक परिचयपत्रका आधारमा भोट खसाल्ने सुविधा दिएको छ ।
निर्वाचन आयोगले नयाँ थपिएका र स्थानान्तरण भएका मतदाताको मात्र परिचयपत्र छाप्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । ‘नयाँ थपिएका करिब १४ लाख र स्थानान्तरण भएका ८ लाख गरी २२ लाख परिचयपत्र छापेर सकिन लागेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि देशरभर एक करोड ५४ लाख मतदाता छन् । आइतबारसम्म सबै तयार भइसक्ने प्रवक्ता ढकालले जानकारी दिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com