विप्लवका कार्यकर्ता र समर्थकलाई पनि देख्नेबित्तिकै समात्न प्रधानमन्त्रीको निर्देशन


प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

चुनाव खारेजी अभियानमा जुटेको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र समर्थकलाई देख्नबित्तिकै समात्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् । निर्देशनपछि पार्टीका नेता कार्यकर्ताहरु पक्राउ परेका छन् ।

नेकपाले चुनाव खारेज गर्ने नीति लिएपछि गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने जोकोहीलाई तत्काल पक्राउ गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको हो । माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई बिनाविभागीय बनाएर प्रधानमन्त्री स्वयंले अहिले गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । गृह प्रवक्ता नारायणप्रसाद दुवाडीले विप्लवका कार्यकर्तामाथि निगरानी बढाउन र निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको पाइए तत्काल कारबाही गर्न प्रधानमन्त्रीकै निर्देशनमा प्रहरीलाई सर्कुलर पठाएका हुन्।

निर्वाचन बिथोल्ने जोसुकै हुन, तत्काल पक्राउ गरी कारबाही गरिन्छ, प्रवक्ता नारायणप्रसाद दुवाडीले भने । उक्त निर्देशनपछि प्रहरीले आधा दर्जनबढी नेताकार्यकर्ताहरु गिरफ्तार गरिसकेको छ ।रोल्पा, रुकुमलागयत देशभरबाट बुधबार आधा दर्जन नेता–कार्यकर्ताहरु गिरफ्तारमा परेका छन् । प्रहरीले रोल्पा जिल्ला इन्चार्ज जागृत र सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’लाई प्रहरीले गिरफ्तार गरेको छ ।पार्टीको कामको सिलसिला बुधबार दिउँसो विना कारण गिरफ्तार गरेको नेकपा रोल्पाले बताएको छ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ सुराकी तथा निर्देशनमा सेक्रेटरी प्रयासलाई गिरफ्तार गरिएको नेकपा रोल्पाले जनाएको छ ।

त्यसैगरी बुधबार नै रुकुमबाट राप्ती ब्यूरो सदस्य दीपक विष्ट र जिल्ला सदस्य मोतिराम खड्कालाई सदरमुकाम मुसिकोट गिरफ्तार गरिएको छ ।त्यस्तै कम्युनिष्ट पार्टी पाँचथरका २ जिल्लास्तरीय नेता एलिया नेम्वाङ र डिल्लिराम कटुवाललाई प्रहरीले गिरफ्तार गरेको छ । फाल्गुनन्द–३ चिलिङदिनका गोरा भनिने एलिया नेम्वाङ र हिलिहाङ–३ अमरपूरका डिल्लिराम कटुवाल लाई पक्राउ गरेको प्रहरीले स्वीकार गरेको छ । स्थानीय चुनाव खारेज गरेको नेकपाले प्रदेश र प्रतिनिधि सभाको चुनाव खारेजीका लागि राजनीतिक अभियान तिब्र पारेको छ ।अभियान अन्तर्गत नेकपाले प्रदेश र प्रतिनिधि उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने, उम्मेदवारको घरमा कालोझण्डा गाड्ने, शान्तिपुर्ण चेतावनी दिने र जनजागरण अभियान संचालनमा तिब्रता दिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com