चुनावको सरगर्मी बढेको बेला कालिकोटका युवा भारततर्फ
प्रकाशित मिति : कार्तिक २३, २०७४ बिहीबार

कात्तिक २३, २०७४ कालिकोट निर्वाचन नजिकिँदै गर्दा यहाँका युवा भने रोजगारीका लागि भारत जान थालेका छन्। गाउँमा रोजगारी कुनै व्यवस्था नहुँदा जिल्लाका पलाँता गाउँपालिका, नरहरिनाथ गाउँपालिका, कालिका गाउँपालिका, महावै गाउँपालिका, तिलागुफा नगरपालिका र पचालझरना गाउँपालिका अधिंकाश मानिस रोजगारीका लागि चुनावको मुखैमा भारत गएका हुन्। गाउँघरमा चुनावभन्दा पनि मानिसहरुमा रोजगारीको चिन्ता बढी भएका कारण चुनाव नजिकिए पनि भारत जानेलाई रोक्न नसकिएको नेपाली कांग्रेसका उपसभापति शंकर उपाध्यायले बताए। ‘मानिसहरु रोजगारीका लागि भारत र नेपालकै विभिन्न सहरमा पसेका छन्’ उनले भने, ‘रोक्न पनि सकिदैन, रोजगारीमा जाने यही मौसममा हो।’ आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवार मनोनयन दर्ता गरेर चुनावी प्रचार–प्रसारमा व्यस्त छन्। सबै पार्टीले गाउँ–गाउँमा पुगेर चुनावअघि कतै नजान आफ्ना कार्यकर्ता र आम मतदातालाई आग्रह गरिरहेका छन्। तिलागुफा नगरपालिका–१ नाग्मबजारका मायालाल महतारा भन्छन् ‘गाउँमा रोजगारीको कुनै ब्यवस्था छैन, कयौं मान्छे मत हालेर के पाउँछौं। काम गरे वर्षभरी खान त पुग्छ भनेर मुग्लान पसेका छन्।’ गाउँमा रोजगारीको ब्यवस्था नभएको र नेतालाई मत हालेर मात्र खान नपुग्ने हुनाले भारतमा रोजगारीमा जान लागेको तिलागुफा नगरपालिका १ का नाग्मका नयाँराम भेरिकारले बताए।
कालिकोटमा ४० प्रतिशत मतदाता भारत लगायतका देशका विभिन्न सहरमा रोजगारीको गएको अनुमान छ।