काठमाडौंदेखि पोखरासम्म रेल निर्माण: चिनियाँ टोलीले अवलोकन
प्रकाशित मिति : कार्तिक २२, २०७४ बुधबार

नेसनल रेलवे चीन एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि अध्ययन गरेको छ । अध्ययन पछि उक्त टोलीले काठमाडौं(पोखरा बेल्टमा रेल निर्माण सहज देखिएको बताएका छन् ।
पोखरामा चिनियाँ टोलीले अवलोकनपछि सकारात्मक प्रतिक्रिया दिएका छन् ।
चिनियाँ उच्च अधिकारीको टोली सोमबार काठमाडौं आएको हो । सोमबार देखि उनीहरुले निरन्तर रेलका बारेमा छलफल तथा स्थलगत अवलोकन गरिरहेको छ ।
नेपालको भौगोलिक अवस्था र रेलमार्गका लागि चीनले गर्नुपर्ने सहयोगका विषयमा अध्ययन तथा छलफल गर्न टोलीले जिम्मेवारी पाएको छ । उक्त रेलमार्ग काठमाडौंबाट लुम्बिनीसम्म जोड्ने सरकारी योजना छ । तर, चीनसँग त्यस सम्बन्धी सम्झौता भएको छैन ।
सरकारी स्तरबाटै यो विषयलाई टुंग्याएर रेलमार्ग निर्माणमा बढ्ने योजना बनेको छ । चीनले प्रस्ताव गरेको ट्रान्स हिमालयन रेलवे तिब्बतको सिगात्सेबाट सुरु हुन्छ । नेपालका लागि त्यहाँबाट केरुङ सीमानासम्म रेलवे विस्तार गरिनेछ । चिनियाँ अनुसन्धानकर्ताहरुले यो रेल सेवा द्रुत गतिको भने नहुने बिहीबार आयोजित एक कार्यक्रममा बताएको पीटीआईले जनाएको छ ।