१० वर्षभित्र नेपाललाई एशियाको समृद्ध मुलुक बनाइने


प्रकाशित मिति : कार्तिक १९, २०७४ आईतबार

गुलरिया, बर्दिया, १९ कात्तिक । भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले बर्दियामा पुलपुलेसा, कृषिको आधुनिकीकरण, किसानको समृद्धि, सुविधासम्पन्न विद्यालय तथा स्वास्थ्योपचार केन्द्रको सञ्चालन गरी बर्दियाली जनताको जीवनलाई सुखी र सम्पन्न बनाइने बताउनुभएको छ ।

प्रेस क्लब अफ नेपालले राजापुर नगरपालिका–२ जोतपुरमा आयोजना गरेको साक्षात्कारमा प्रतिनिधिसभा बर्दिया २ का उम्मेदवार दहितले मंसिरको चुनावपछि काँग्रेसको नेतृत्वमा सरकार बनेमा १० वर्षभित्र नेपाललाई एशियाको समृद्ध मुलुक तथा बर्दियालाई विकासको नमुना जिल्ला बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो । शिक्षा, सडक, रोजगारी, उद्योेगधन्दा, व्यापार तथा स्वास्थ्य हरेक हिसाबले नेपाल समृद्ध बनाउने प्रष्ट पार्नुभयो ।

मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनाव लोकतन्त्रको संस्थागत विकास, समृद्धि, राष्ट्रियताको प्रवद्र्धन, स्वतन्त्रता र दिगो शान्तिसँग जोडिएको धारणा राख्दै मन्त्री दहितले लोकतान्त्रिक शक्तिले जितेमा मात्र गरीब–धनी, किसान–मजदुर, कर्मचारी–शिक्षक, व्यापारी– बुद्धिजीवी सबैको मौलिक हकको सुरक्षा, आत्मसम्मान र पहिचानलाई संस्थागत गर्न सकिने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रदेशसभाका लागि काँग्रेसको प्रत्यक्ष तर्फका उम्मेदवार नाचुराम थारु, प्रतिनिधिसभामा समानुपातिकका उम्मेदवार मालती सोडारी, काँग्रेस बर्दियाका सहसचिव प्रेमलाल थारु र जिल्ला सदस्य कमलप्रसाद रेग्मीले युवा, विद्यार्थी, महिला, मुक्त कमैया, भूमिहीन र सुकुम्वासीलाई अधिकारसम्पन्न बनाउन र लोकतन्त्र बचाउन काँग्रेसलाई विजयी गराउन सबैमा अनुरोध गर्नुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com