आइसद्वारा व्यावसायिक चालक अनुमतिपत्र ठगी विरुद्ध नयाँ हटलाइन सुरु, अयोग्य ट्रक चालकहरूमाथि कडाइ
प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार
Photo: Daniel/Unsplash
अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी अन्तर्गतको आइसले व्यावसायिक चालक अनुमतिपत्रमा हुने ठगी सम्बन्धी उजुरी संकलन गर्न नयाँ हटलाइन सुरु गरेको छ। ट्रम्प प्रशासनले अयोग्य तथा अवैध रूपमा बसोबास गरिरहेका चालकहरूका कारण भएका घातक सडक दुर्घटनाहरूपछि यो कदम चालेको हो।
अमेरिकी नागरिकहरूले सीडीएल ठगीको शंका लागेमा ८६६-३४७-२४२३मा फोन गरेर उजुरी दिन सक्नेछन्।
होमल्यान्ड सेक्युरिटी र यातायात डिपार्टमेन्टले संयुक्त रूपमा नियम विपरीत र अयोग्य रूपमा हेभी गाडी चलाउने चालकहरू पहिचान गर्न अभियान तीव्रता दिएका छन्। होमल्यान्ड सेक्युरिटीका अनुसार क्यालिफोर्निया, म्यासाचुसेट्स, न्युयोर्क र पेन्सिल्भेनिया जस्ता राज्यहरूबाट सीडीएल पाएका कानुनी हैसीयत नभएका आप्रवासीहरू संलग्न घातक दुर्घटनाहरू बढेपछि यो कडाइ गरिएको हो।
होमल्यान्ड सेक्युरिटी सेक्रेटरी मार्कवेन मुल्लिनले भने, “हाम्रा सडकमा गाडी चलाउन अयोग्य आप्रवासीहरूलाई अनुमति पत्र दिइँदा धेरै अमेरिकीहरूले ज्यान गुमाएका छन्। सीडीएल ठगी विरुद्धको यो अभियानले थप अमेरिकीहरूको जीवन रक्षा गर्नेछ।”
कडाइका क्रममा विभिन्न राज्यमा सञ्चालित अभियानहरू मार्फत सयौँ अयोग्य चालकहरूलाई नियन्त्रणमा लिइएको छ। यसका साथै, दुवै विभागले देशभरका व्यावसायिक चालक शिक्षण संस्थाहरूमा भइरहेका गैरकानुनी र धन्दाबाजी क्रियाकलापहरूमाथि पनि छानबिन तीव्र पारेका छन्।





