अध्यागमन कारबाहीले सिकागोको अर्थतन्त्रमा ठूलो धक्का, खुद्रा व्यापार ९ प्रतिशतले घट्यो


प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार

Photo: Brittani Burns/ Unsplash

सन् २०२५ को सुरुवातदेखि अमेरिकामा सुरु भएको कडा अध्यागमन कारबाहीका कारण उत्पन्न त्रास र अन्योलले सिकागोको स्थानीय व्यापार र अर्थतन्त्रमा ठूलो धक्का पुऱ्याएको एक नयाँ अध्ययनले देखाएको छ। युनिभर्सिटी अफ इलिनोइ सिकागोले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, यस कारबाहीका कारण ग्राहकहरूको आवतजावत घट्दा स्थानीय व्यवासायहरूले १.२६ बिलियन अमेरिकी डलर भन्दा बढीको नोक्सानी व्यहोर्नुपरेको छ।

अनुसन्धानकर्ताहरूले सिकागो स्थित कुक काउन्टीका गैर-आप्रवासी र आप्रवासी बस्तीहरूबीचको आवतजावत मापन गर्न मोबाइल फोनको बेनामी जिपीएस डाटा प्रयोग गरेका थिए। राष्ट्रपति डोनाल्ड ट्रम्पले २० जनवरी २०२५ मा पदभार ग्रहण गरेलगत्तै आइसले सिकागोमा अध्यागमन कारबाही तीव्र पार्ने खबर फैलिएपछि यी क्षेत्रहरूबीचको आवतजावत एक्कासी घटेको अध्ययनमा उल्लेख छ।

अध्ययनका सह-लेखक प्रोफेसर म्याट विल्सनका अनुसार, आप्रवासी समुदायमा फैलिएको त्रासको असर बाहिरी क्षेत्रका व्यापारहरूमा पनि प्रत्यक्ष रूपमा पर्यो। प्रतिवेदन अनुसार मानिसहरूको आवतजावतमा आएको कमीका कारण गैर-आप्रवासी क्षेत्रका खुद्रा पसल तथा रेस्टुरेन्टहरूले ठूलो आम्दानी गुमाएका छन् भने इलिनोइ राज्यले करिब १० करोड ७० लाख डलर कर राजस्व गुमाएको छ।

हामीले खुद्रा व्यापारमा ९ प्रतिशत र रेस्टुरेन्ट भ्रमणमा १० प्रतिशतको गिरावट देख्यौं, जुन करिब एक वर्षसम्म जारी रह्यो,” विल्सनले भने। यसमा एक वर्षपछि सुधार भएको होइन, बरु मानिसहरूको व्यवहार नै स्थायी रूपमा परिवर्तन भयो। उनका अनुसार सिकागोको अर्थतन्त्र अझै पुरानै लयमा फर्कन सकेको छैन।

यस अध्ययनले आप्रवासी समुदायहरू आफ्नै दायरामा मात्र सीमित हुन्छन् भन्ने भ्रमलाई चुनौती दिएको छ। आप्रवासीहरू सिकागोको बृहत् अर्थतन्त्रसँग जोडिएका र नियमित रूपमा टाढा-टाढाका क्षेत्रहरूमा आवतजावत गर्ने गरेकाले उनीहरू घरमै सीमित हुँदा समग्र बजार प्रभावित भएको हो।

ह्वाइट हाउसका प्रवक्ता लरेन बिसले भने यो कदमको बचाउ गर्दै अपराधीहरूलाई हटाउँदा समुदाय र व्यवसायीहरू सुरक्षित हुने दाबी गरेकी छन्। यद्यपि, आइसको आफ्नै तथ्याङ्कले भने हाल हिरासतमा रहेकामध्ये करिब ७० प्रतिशत मानिसहरूको कुनै आपराधिक पृष्ठभूमि वा सजाय नभएको देखाउँछ।

अध्ययनहरूका अनुसार यो असर सिकागोमा मात्र सीमित छैन; मिनियापोलिसमा पनि यस्तै कारबाहीका कारण करिब ७०० मिलियन डलरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com