भर्जिनियाको अर्लिंग्टन काउन्टीद्वारा आप्रवासी परिवारका लागि विशेष राहत कोष स्वीकृत


प्रकाशित मिति : २३ भदौ २०८३, मंगलबार

Photo: Zoshua Colah/ Unsplash

अमेरिकाको भर्जिनियास्थित अर्लिंग्टन काउन्टीका नेताहरूले हालै सङ्घीय अध्यागमन अधिकारीहरूद्वारा मुख्य कमाउ सदस्य नियन्त्रणमा लिइएका परिवारहरूलाई सहयोग गर्न ५०,००० अमेरिकी डलरको कोष स्वीकृत गरेका छन्।

सेप्टेम्बर २ मा बसेको विशेष बैठकमा अर्लिंग्टन काउन्टी बोर्डले सर्वसम्मत (४-०) रूपमा उक्त रकम विनियोजन गर्ने निर्णय गरेको हो। यो सहायता रकम काउन्टी सरकारको साझेदार सामाजिक संस्था ‘अर्लिंग्टन थ्राइभ’मार्फत वितरण गरिनेछ। यस कार्यक्रमअन्तर्गत परिवारको मुख्य कमाउने व्यक्ति पक्राउ परेका वा निष्कासित भएका योग्य परिवारले अधिकतम २,००० डलरसम्म प्राप्त गर्नेछन्। काउन्टीको योजना अनुसार यस कोषबाट करिब २५ देखि ३० परिवारले राहत पाउने अनुमान गरिएको छ।

काउन्टी बोर्डका अध्यक्ष म्याट डि फेरान्टीले भने, “हामी हाम्रा आप्रवासी परिवारहरूको साथमा छौँ र उनीहरूलाई सहयोग गर्न छाड्ने छैनौँ।” त्यस्तै, बोर्डकी उपाध्यक्ष मोरिन कफीले यस्तो कठिन परिस्थितिमा आफ्ना बासिन्दाहरूलाई आपत्कालीन सहायता उपलब्ध गराउन पाउँदा गर्व लागेको बताईन्।

पछिल्ला महिनाहरूमा वासिङ्टन डिसी र आसपासका क्षेत्रमा ट्रम्प प्रशासनद्वारा तीव्र पारिएको कागजातविहीन आप्रवासन नियन्त्रण अभियानका कारण प्रभावित भएका परिवारहरूलाई लक्षित गरी यो कदम चालिएको हो। अमेरिकी अध्यागमन आइसका अधिकारीहरूले गत महिना वासिङ्टन डिसीका उपनगरहरूबाट १४ दिनको अवधिमा १,३०० भन्दा बढी कानुनी हैसियत नभएका आप्रवासीहरूलाई नियन्त्रणमा लिएका थिए। पक्राउ परेकामध्ये करिब ४०० जना गम्भीर आपराधिक अभियोग वा सजाय पाएका व्यक्तिहरू रहेका थिए।

प्रभावित परिवारहरूलाई यो रकम डेबिट कार्ड वा चेकमार्फत प्रदान गरिनेछ र सम्बन्धित संस्था यसलाई तुरुन्तै लागू गर्न तयार रहेको जनाइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com