ट्रम्प प्रशासनको गिरफ्तारी कोटा पूरा गर्ने होड: आपराधिक पृष्ठभूमि नभएका आप्रवासीहरू पनि निशानामा
प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार
फोटो: होमल्याण्ड सेक्युरिटी
ह्वाइट हाउसले तोकेको गिरफ्तारीको ठूलो कोटा पूरा गर्न अध्यागमन अधिकारीहरूले आपराधिक रेकर्ड नभएका सामान्य मानिसहरूलाई निशाना बनाउन थालेका छन्। अक्टोबर र त्यसयता आइसले आफ्नो कारबाहीमा व्यापक तीव्रता दिएसँगै अमेरिकाभर आपराधिक पृष्ठभूमि नभएका आप्रवासीहरू ठूलो संख्यामा पक्राउ पर्न थालेका छन्।
यसरी तोकिएको कोटा भेट्टाउने होडबाजीका कारण पछिल्ला महिनाहरूमा आप्रवासी गिरफ्तारीको दर इतिहासकै कीर्तिमानी स्तरमा पुगेको छ। यस कारबाहीका कारण पहिले नै कानुनी प्रक्रियामा रहेका, कुनै पनि आपराधिक इतिहास नभएका र अमेरिकी अर्थतन्त्रमा योगदान पुर्याउँदै आएका सर्वसाधारण आप्रवासीहरू सबैभन्दा बढी प्रभावित बनेका छन्।
अध्यागमन डेटा प्रोजेक्टको तथ्यांक अनुसार, हालै पक्राउ परेकाहरूमध्ये ५५ प्रतिशतको कुनै पनि आपराधिक वा कानुनी रेकर्ड छैन। त्यसैगरी, २४ प्रतिशतमाथि अभियोग लागे पनि उनीहरू अदालतबाट दोषी ठहरिएका छैनन्। यस तथ्यांकले केवल “खतरनाक अपराधीहरूलाई मात्र देशनिकाला गरिनेछ” भन्ने ट्रम्प प्रशासनको दाबीलाई असत्य साबित गरिदिएको छ।
यस कदमको रिपब्लिकन पार्टीभित्रैबाट समेत विरोध हुन थालेको छ। फ्लोरिडाकी कंग्रेस वुमन मारिया एल्विरा सालाजारले आपराधिक गिरोह र सामान्य श्रमजीवीलाई एउटै दृष्टिले हेर्न नहुने र उनीहरू अमेरिकी अर्थव्यवस्थाका लागि आवश्यक रहेको बताएकी छन्।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले भने यसबारे बाझिने अभिव्यक्ति दिँदै आएको छ। एकातिर सामाजिक सञ्जालमा ७० प्रतिशत पक्राउ परेकाहरू अपराधी भएको दाबी गरिएको छ भने अर्कातिर मन्त्री मार्कवेन मुलिन तथा ‘बोर्डर जार’ टम होमनले कानुनी वा गैरकानुनी जुनसुकै अवस्थाका आप्रवासीहरूलाई पक्राउ गरिने स्पष्ट पारेका छन्।
अध्यागमन विज्ञहरूका अनुसार, सरकारले सजिलै संख्या बढाउनका लागि शरणको पर्खाइमा रहेका, भिसा म्याद सकिएका वा सरकारसँग पहिले नै सम्पर्कमा रहेका सर्वसाधारणलाई निशाना बनाइरहेको छ।





