नेपालमा बाढीको विनाशपछि पानीजन्य र सरुवा रोगको जोखिम
प्रकाशित मिति : २२ भदौ २०८३, सोमबार
भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको स्वास्थ्य परीक्षण तथा उपचार गर्दै सशस्त्र प्रहरी बल, नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मी। तस्बिर: सशस्त्र प्रहरी बल, नेपाल
काठमाडौं — बाढी, पहिरो र डुबानपछि उद्धार तथा राहतका प्रारम्भिक काम सकिएसँगै प्रभावित क्षेत्रमा सरुवा तथा पानीजन्य रोग फैलिने जोखिम बढ्ने गर्छ। खानेपानीका मुहान दूषित हुनु, ढल तथा सरसफाइ प्रणालीमा क्षति पुग्नु, फोहोर व्यवस्थापन नहुनु र विस्थापितलाई भीडभाडयुक्त अस्थायी शिविरमा राखिनुले विपद्पछिको स्वास्थ्य संकटलाई थप जटिल बनाउने स्वास्थ्य विज्ञहरूले बताएका छन्।
विशेषगरी त्रिशूली नदीजस्ता ठूला जलस्रोत र तटीय क्षेत्रमा आश्रित जनसंख्यामा बाढीपछि दूषित पानी, अस्वस्थकर खाद्यान्न र कमजोर सरसफाइका कारण रोग फैलिने सम्भावना उच्च हुन्छ। विपद्का कारण घर, आयस्रोत र आफन्त गुमाएका मानिसहरू शारीरिक तथा मानसिक रूपमा कमजोर हुने भएकाले सामान्य जीवाणु वा भाइरसको संक्रमण पनि तीव्र रूपमा फैलिन सक्ने जोखिम रहन्छ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार विपद्पछि देखिन सक्ने संक्रमणलाई मुख्यतः तीन चरणमा बुझ्न सकिन्छ—तत्काल देखिने पानी तथा खाद्यान्नजन्य रोग, केही समयपछि देखिने कीटजन्य रोग र शिविरमा भीडभाड तथा मौसमका कारण फैलिने श्वासप्रश्वाससम्बन्धी रोग।
कुहिएका पशु र मानव शवको दुर्गन्ध
बाढीले बजार बगाएपछि रसुवाको बेत्रावतीमा घर, सडक र जीविकासँगै मानवीय अस्तित्वका चिन्हसमेत हिलोमा पुरिएका छन्। कुहिएका पशुचौपाया, पुरिएका तथा अझै निकाल्न नसकिएका मानवीय शव, नष्ट भएको अन्नपात र प्रभावित बस्तीमा पुग्न नसकेको राहतले अर्को स्वास्थ्य संकटको जोखिम बढाएको छ।
बाढी प्रभावित रसुवाको बेत्रावतीलगायत क्षेत्रमा पुगेर फर्किएका पत्रकार डण्ड गुरुङले त्यहाँको अवस्था आफूले देखेका अघिल्ला विपत्तिभन्दा पनि भयावह रहेको बताउनुभयो।
बाढीपछि प्रभावित क्षेत्रमा थुप्रिएको हिलो, कुहिएका पशुचौपाया र निकाल्न नसकिएका शवका कारण दुर्गन्ध फैलिएको गुरुङले बताउनुभयो। नष्ट भएको अन्नपात व्यवस्थापन हुन नसक्दा खाद्य संकटसँगै संक्रमण फैलिने जोखिम पनि बढेको उहाँको भनाइ छ।
“कतिपय पशुचौपायाका शव कुहिएका छन्। कागहरूले मासु लुछिरहेका छन्। तिनको उचित व्यवस्थापन हुन सकेको छैन,” उहाँले भन्नुभयो, “यसले अर्को महामारी फैलाउने जोखिम छ।”

गुरुङका अनुसार प्रभावित क्षेत्रमा खानेपानी र खाद्यान्नको समेत अभाव छ। अस्थायी आवास केन्द्रमा रहेका बाढी प्रभावितको अवस्था झनै दयनीय रहेको उहाँले बताउनुभयो।
मृत पशुचौपाया तथा मानवीय शवको समयमै व्यवस्थापन हुन नसक्दा पानीका मुहान र वरपरको वातावरण दूषित हुने जोखिम बढ्छ। यस्तो अवस्थामा दूषित पानी तथा माटोको सम्पर्कबाट विभिन्न संक्रमण फैलिन सक्ने भएकाले शव तथा पशु अवशेषको सुरक्षित व्यवस्थापन, खानेपानीको शुद्धीकरण र प्रभावित क्षेत्रमा सरसफाइलाई तत्काल प्राथमिकतामा राख्नुपर्ने स्वास्थ्य विज्ञहरू बताउँछन्।
गुरुङले बाढीबाट प्रभावित बालबालिकाको शिक्षा र मानसिक स्वास्थ्यलाई पनि तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभयो। विद्यालयहरू क्षतिग्रस्त भएका र धेरै बालबालिकाले परिवार तथा घर गुमाएकाले उनीहरूलाई नियमित पढाइमा फर्काउन विशेष कार्यक्रम आवश्यक रहेको उहाँको भनाइ छ।
विपद्का कारण घर, परिवार र जायजेथा गुमाएका बालबालिकामा मानसिक आघातको असर लामो समयसम्म रहन सक्ने भएकाले शिक्षा पुनःस्थापनासँगै मनोसामाजिक सहयोगलाई पनि राहत तथा पुनःस्थापनाको योजनामा समेट्नुपर्ने विज्ञहरूको सुझाव छ।
पहिलो चरणमा पानीजन्य रोग
विपद्को तत्कालपछि शुद्ध खानेपानीको अभाव हुन सक्छ। मानिसहरू धमिलो, दूषित वा सुरक्षित रूपमा प्रशोधन नगरिएको पानी पिउन बाध्य हुन सक्छन्। यस्तो अवस्थामा झाडापखाला, हैजा, टाइफाइड तथा हेपाटाइटिस ‘ए’ र ‘ई’ जस्ता पानीजन्य रोग फैलिने जोखिम हुन्छ।
डा. अनुप बास्तोलाका अनुसार दूषित पानी र अस्वस्थकर खाद्यान्नका कारण झाडापखाला तथा हैजाजस्ता रोग केही घण्टामै ठूलो समूहमा फैलिन सक्छन्। पानीका मुहानमा ढल, फोहोर, रासायनिक पदार्थ तथा मानिस वा पशुपन्छीका मृत शरीर मिसिएमा संक्रमणको जोखिम अझ बढ्छ।
विस्थापितलाई सुरक्षित पानी, पकाउन नपर्ने खाद्यान्न, पानी शुद्धीकरणका लागि क्लोरिन, शुद्धीकरण ट्याब्लेट वा अन्य आवश्यक सामग्री तत्काल उपलब्ध गराउनुपर्ने विज्ञहरूको सुझाव छ। प्रभावित परिवार आफैं पानी उमाल्न वा शुद्धीकरण गर्न सक्ने अवस्थामा नहुन सक्ने भएकाले सरकारी तथा गैरसरकारी संस्थाले सुरक्षित पानी प्रत्यक्ष रूपमा पुर्याउनुपर्ने उनीहरू बताउँछन्।

दोस्रो चरणमा कीटजन्य रोग
बाढी र पहिरोपछि जमेको पानी, थुप्रिएको फोहोर, ढलको हिलो र झाडीका कारण लामखुट्टे तथा अन्य कीटको वृद्धि हुन्छ। यसले डेङ्गु, औंलो, लेप्टोस्पाइरोसिस र स्क्रब टाइफसजस्ता रोग को जोखिम बढाउँछ।
बाढी र विस्थापनपछि लेप्टोस्पाइरोसिस तथा अन्य संक्रमणको जोखिम बढ्न सक्ने चिकित्सा अध्ययनहरूले पनि देखाएका छन्। दूषित पानी, सरसफाइको अभाव, भीडभाड र कीटको वृद्धिले बाढी प्रभावित क्षेत्रमा संक्रमणको जोखिम बढाउन सक्छ।
डा. पुन र डा. बास्तोलाका अनुसार झाडी तथा फोहोरमा पाइने ‘माइट’ नामक सूक्ष्म कीटको टोकाइबाट स्क्रब टाइफस सर्न सक्छ। यसको लक्षण संक्रमण भएको एकदेखि तीन सातापछि मात्र देखिन सक्छ। त्यसैले विपद् तत्काल नियन्त्रणमा आएको देखिए पनि केही समयपछि स्क्रब टाइफसका बिरामी बढ्न सक्ने उनीहरूको भनाइ छ।
बाढीपछि जमेको पानीको निकास, फोहोरको सुरक्षित व्यवस्थापन, झाडी सफा गर्ने काम र लामखुट्टे नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने विज्ञहरूले बताएका छन्। राहत तथा उद्धारमा खटिने व्यक्ति र स्थानीय बासिन्दाले झुल वा कीटनाशक प्रयोग गर्नुका साथै झाडी क्षेत्रमा जाँदा पूरा बाहुला भएका लुगा लगाउनुपर्ने उनीहरूको सुझाव छ।

शिविरमा श्वासप्रश्वासको जोखिम
विस्थापितलाई भीडभाडयुक्त अस्थायी शिविर वा अस्थायी आवास केन्द्रमा सीमित स्थानमा ठूलो संख्यामा राख्दा श्वासप्रश्वाससम्बन्धी संक्रमण एक व्यक्तिबाट अर्कोमा छिटो सर्न सक्छ। चिसो मौसम, धुलो, भीडभाड र पर्याप्त हावा आवतजावत नहुनुले रुघाखोकी, इन्फ्लुएन्जा, राइनोभाइरस तथा निमोनियाको जोखिम बढाउँछ।
विस्थापनका कारण बालबालिकाको नियमित खोप तालिका प्रभावित हुन सक्ने डा. बास्तोलाले बताउनुभयो। समयमा खोप नपाएका बालबालिका भीडभाडयुक्त शिविरमा बस्दा दादुराजस्ता खोपबाट जोगिन सकिने रोग पुनः फैलिने जोखिम हुन्छ।
स्वास्थ्यकर्मीहरूले शिविरमा बालबालिकाको खोप अवस्थाको अभिलेख तयार गरी छुटेका खोप उपलब्ध गराउनुपर्ने सुझाव दिएका छन्। ज्वरो, शरीरमा डाबर, लगातार खोकी, सास फेर्न गाह्रो हुने वा झाडापखाला देखिएका व्यक्तिलाई अरूबाट अलग राखेर तत्काल स्वास्थ्य परीक्षण गर्नुपर्ने उनीहरू बताउँछन्।
अन्तर्राष्ट्रिय संस्थाको चेतावनी
संयुक्त राष्ट्रसंघीय बालकोषका अनुसार बाढीपछि प्रभावित क्षेत्रमा कम्तीमा २२ हजार बालबालिकालाई सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छता सहयोगको तत्काल आवश्यकता छ। पानी आपूर्ति प्रणाली र शौचालयहरू क्षतिग्रस्त भएकाले पानीजन्य तथा अन्य संक्रामक रोग फैलिने जोखिम बढेको संयुक्त राष्ट्रसंघीय बालकोषले जनाएको छ।
संयुक्त राष्ट्रसंघीय बालकोष नेपाल प्रतिनिधि एलिस अकुङ्गाले यस्तो अवस्थामा पानीजन्य रोगको जोखिम छिट्टै बढ्ने भए पनि उचित सावधानी र प्रतिकार्यमार्फत त्यसलाई रोक्न सकिने बताउनुभएको छ।
विश्व स्वास्थ्य संगठनले विस्थापन, भीडभाड, क्षतिग्रस्त पानी तथा सरसफाइ प्रणाली र स्वास्थ्य सेवामा आएको अवरोधका कारण संक्रामक रोगको जोखिम बढ्न सक्ने जनाएको छ।
“विस्थापन, भीडभाड, क्षतिग्रस्त पानी तथा सरसफाइ प्रणाली र बाधित स्वास्थ्य सेवाका कारण संक्रामक रोगको जोखिम बढ्न सक्छ, जसमा झाडापखाला र श्वासप्रश्वाससम्बन्धी रोगहरू समावेश छन्। अन्य प्राथमिक जोखिमहरूमा चोटपटक, असुरक्षित पानी र खाद्यान्न, कीटजन्य रोग तथा मानसिक स्वास्थ्य र मनोसामाजिक आवश्यकताहरू पर्छन्,” विश्व स्वास्थ्य संगठनले भनेको छ।
विश्व स्वास्थ्य संगठनले सरकार र साझेदार संस्थासँग मिलेर स्वास्थ्य प्रतिकार्यको समन्वय, रोग निगरानी सुदृढीकरण, अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन तथा उदाउँदा स्वास्थ्य जोखिमको पहिचान र सम्बोधनमा काम गरिरहेको जनाएको छ।

मन्त्रालयको निगरानी र प्रतिकार्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विपद्पछिको सम्भावित सरुवा तथा पानीजन्य रोगको जोखिम व्यवस्थापनका लागि रोग निगरानी र पूर्वसूचना प्रणालीलाई सक्रिय बनाइएको छ।
मन्त्रालयले रोग निगरानी, प्रकोप प्रतिकार्य तथा व्यवस्थापन प्रणाली मार्फत प्रभावित क्षेत्र र अस्थायी आवास केन्द्रमा २४ घण्टा निगरानी गरिरहेको जनाएको छ। झाडापखाला, हैजा, उच्च ज्वरो र शरीरमा डाबर आउनेजस्ता लक्षण भएका बिरामीको विवरण यस प्रणालीमार्फत संकलन तथा विश्लेषण गरिने मन्त्रालयको भनाइ छ।
कुनै क्षेत्रमा संक्रमणको संकेत देखिए तत्काल सूचना प्राप्त हुने र सम्भावित प्रकोपलाई प्रारम्भिक चरणमै नियन्त्रण गर्न सहयोग पुग्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा आठ जना सरुवा रोग विशेषज्ञ, १६२ जना चिकित्सक, द्रुत प्रतिकार्य टोली, अनुगमन अधिकृत तथा स्थानीय तह र स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी परिचालन गरिएको छ। बढी प्रभावित दुई जिल्लामा मन्त्रालयले उच्चस्तरीय संयोजक टोली पठाएर प्रत्यक्ष निगरानी र समन्वय गरिरहेको जनाएको छ।
मन्त्रालयले खानेपानी, सरसफाइ र अन्य सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी सुरक्षित पानी, अस्थायी शौचालय र व्यक्तिगत सरसफाइमा जोड दिएको छ। गम्भीर बिरामीलाई तत्काल अस्पताल पुर्याउन एम्बुलेन्स तयारी अवस्थामा राखिएको र स्वास्थ्यसम्बन्धी जानकारी तथा परामर्शका लागि १११५ नम्बरको निःशुल्क हेलो हेल्थ सेवा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ।

पानी, सरसफाइ र स्वच्छतालाई प्राथमिकता
प्रत्यक्ष प्रभावित क्षेत्रमा काम गरिरहेका युडिसी शाखा प्रमुख डा. अमित पोख्रेलका अनुसार विपद्पछिको स्वास्थ्य व्यवस्थापनको मुख्य प्राथमिकता रोग लागेपछि उपचार गर्नु भन्दा रोग फैलिन नदिनु हो। त्यसका लागि पानी, सरसफाइ र स्वच्छता कार्यक्रमलाई केन्द्रमा राखिएको उहाँले बताउनुभयो।
अस्थायी आवास केन्द्रमा वितरण भइरहेको जार र ट्याङ्कीको पानी गुणस्तरीय भए नभएको नियमित परीक्षण भइरहेको छ। खानेपानीमा आवश्यकताअनुसार क्लोरिनेसन गर्ने, जनसंख्याको अनुपातमा नपुगेका स्थानमा थप अस्थायी शौचालय निर्माण गर्ने र शिविर वरपरको फोहोर व्यवस्थापन गर्ने काम भइरहेको पोख्रेलले बताउनुभयो।
मृत पशुपन्छीको सुरक्षित विसर्जन, साबुनपानीले हात धुनेबारे सचेतना र प्रभावित परिवारलाई सरसफाइ सामग्री वितरण पनि जारी रहेको उहाँले जानकारी दिनुभयो। प्रत्येक अस्थायी आवास केन्द्रमा कम्तीमा एक जना स्वास्थ्यकर्मी र सहयोगी स्वयंसेवक खटाइएको छ।
ज्वरो, रुघाखोकी वा झाडापखालाजस्ता लक्षण देखिए त्यसलाई प्रारम्भिक संकेत मानेर तत्काल परीक्षण तथा उपचार सुरु गर्ने व्यवस्था गरिएको पोख्रेलले बताउनुभयो। दैनिक बिरामीको विवरण संकलन र प्रतिवेदन तयार गर्न अद्यावधिक तथ्यांक प्रणाली सञ्चालनमा रहेकाले संक्रमणको संकेत देखिए द्रुत प्रतिकार्य टोली परिचालन गर्न सकिने उहाँको भनाइ छ।

राहत वितरणमा पनि सावधानी
सरकारको तयारीका बाबजुद राहत वितरण र स्वयंसेवी गतिविधिका क्रममा हुने अनियन्त्रित भीडले संक्रमणको जोखिम बढाउन सक्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
काठमाडौं तथा अन्य सहरबाट राहत बाँड्न आउने टोली, सञ्चारकर्मी र स्वयंसेवकहरू ठूलो संख्यामा शिविरमा प्रवेश गर्दा बाहिरबाट मौसमी फ्लु वा अन्य संक्रमण भित्रिन सक्ने डा. पोख्रेलले बताउनुभयो। विपद्बाट शारीरिक तथा मानसिक रूपमा कमजोर भएका विस्थापितमा त्यस्तो संक्रमण सजिलै फैलिन सक्ने उहाँको भनाइ छ।
स्वास्थ्यकर्मीहरूले राहत वितरण स्थानीय पालिका, स्वास्थ्य कार्यालय वा एकद्वार प्रणालीमार्फत सञ्चालन गर्न सुझाव दिएका छन्। यसबाट शिविरमा अनावश्यक भीड घट्नुका साथै राहत सामग्रीको व्यवस्थापन, स्वास्थ्य परीक्षण र संक्रमण नियन्त्रणमा सहज हुने उनीहरूको भनाइ छ।

खोप र दीर्घकालीन हेरचाह
डा. पुन र डा. बास्तोलाका अनुसार संक्रमण नियन्त्रणका लागि सुरक्षित पानी र खाद्यान्नसँगै नियमित खोप, कीट नियन्त्रण र व्यक्तिगत सुरक्षा पनि आवश्यक छ। खानेपानीका मुहानमा नियमित क्लोरिनेसन गर्नुपर्ने, खुला दिसापिसाब रोक्न पर्याप्त अस्थायी शौचालय निर्माण गरी तिनको प्रयोग सुनिश्चित गर्नुपर्ने र जमेको पानी हटाएर लामखुट्टे नियन्त्रण गर्नुपर्ने उनीहरूको सुझाव छ।
विज्ञहरूले प्रभावित क्षेत्रमा झुल तथा कीटनाशकको प्रयोग बढाउन, बालबालिकालाई दादुरालगायत छुटेका अत्यावश्यक खोप उपलब्ध गराउन र राहतकर्मी तथा स्वयंसेवक बिरामी भए प्रभावित क्षेत्रमा जानुअघि स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएका छन्।
विपद्का कारण घर, परिवार र जायजेथा गुमाएका मानिसमा गहिरो मानसिक आघात पर्न सक्ने डा. पुनले बताउनुभयो। यस्तो आघातले मानसिक स्वास्थ्यमा मात्र नभई समग्र शारीरिक स्वास्थ्यमा पनि असर पार्न सक्ने भएकाले मनोसामाजिक परामर्श र निरन्तर मानसिक स्वास्थ्य सेवा आवश्यक रहेको उहाँको भनाइ छ।
विस्थापितलाई लामो समयसम्म भीडभाडयुक्त शिविरमा राखिराख्नु भन्दा सुरक्षित स्थानमा परिवारअनुसार स्थानान्तरण गर्ने योजना आवश्यक रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। बाढीबाट क्षतिग्रस्त स्वास्थ्य चौकीको पुनःस्थापना र औषधिको नियमित आपूर्ति पनि दीर्घकालीन स्वास्थ्य व्यवस्थापनको महत्वपूर्ण पक्ष हो।

साझा जिम्मेवारी
विपद्को दोस्रो दिनदेखि नै संघ, प्रदेश र स्थानीय तहको समन्वयमा महामारी नियन्त्रण तथा सरुवा रोग निगरानी योजना कार्यान्वयनमा रहेकाले हालसम्म प्रभावित क्षेत्रमा ठूलो महामारीको अवस्था नदेखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
तर जोखिम पूर्ण रूपमा हटिसकेको छैन। विपद्पछिको संक्रमण नियन्त्रण स्वास्थ्य मन्त्रालयको मात्र जिम्मेवारी नभई खानेपानी तथा सरसफाइ निकाय, स्थानीय प्रशासन, राहत संस्था, स्वयंसेवक र आम नागरिकको साझा दायित्व हो।
सुरक्षित खानेपानी, प्रभावकारी सरसफाइ, मृत पशु तथा शवको सुरक्षित व्यवस्थापन, नियमित खोप, निरन्तर रोग निगरानी र द्रुत प्रतिकार्य टोलीको परिचालनलाई एकीकृत रूपमा अघि बढाउन सके विपद्पछिको सम्भावित महामारी रोक्न तथा प्रभावित नागरिकको जीवन रक्षा गर्न सकिने स्वास्थ्य विज्ञहरूको भनाइ छ।
यो सामग्री विविधतापूर्ण स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्ने गैरनाफामूलक संस्था यूआरएल कलेक्टिभ को अनुदानबाट सम्भव भएको हो।





