आइस अपरेसनका क्रममा न्युजर्सीमा सवारी दुर्घटना, इस्ट ब्रन्सविकका मेयरकी पत्नी घाइते
प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार
तस्वीर : आइस
न्युजर्सीको एक व्यस्त चार लेनको राजमार्गमा सङ्घीय अध्यागमन एजेन्टहरूले अर्को चालकलाई पछाडी दौडाउने क्रममा बुधबार भएको सवारी दुर्घटनामा इस्ट ब्रन्सविक, न्युजर्सीका मेयरकी पत्नी तथा छालारोग विशेषज्ञ घाइते भएकी छन्।
दुर्घटना भएको स्थान नर्थ ब्रन्सविकका मेयर फ्रान्सिस वोम्याक तृतीयका अनुसार, सङ्घीय एजेन्टहरूले रोकेपछि नियन्त्रणमा लिन खोजिएको गाडीका चालक त्यहाँबाट भागेका थिए। एजेन्टहरूले ती चालकको कारको झ्याल फुटाएपछि चालक बिहान करिब ७:३० बजे रुट १३० मा गाडी हुइक्याएर भागेका थिए।
सोही दुर्घटनामा छिमेकी टाउनसिप इस्ट ब्रन्सविकका मेयर ब्राड कोहेनसँग विवाह बन्धनमा बाँधिएकी डा. पेनेलोप कोहेन घाइते भएकी हुन्। नर्थ ब्रन्सविकका मेयर र अस्पतालका अधिकारीहरूका अनुसार उनको नजिकैको अस्पतालमा उपचार भइरहेको छ र चोटपटक ज्यान नै जाने खालको गम्भीर छैन।
नर्थ ब्रन्सविक प्रहरी टोलीका अनुसार दुर्घटनापछि ती चालक गाडीबाट निस्किएर पैदलै भाग्ने प्रयास गरेका थिए, तर सङ्घीय अधिकारीहरूले उनलाई तुरुन्तै नियन्त्रणमा लिएका छन्। प्रहरीले सो आइस अपरेसन वा गाडीको पीछा गर्ने कार्यमा स्थानीय प्रहरीको सहभागिता नरहेको स्पष्ट पारेको छ। पक्राउ परेका चालकको पनि अस्पतालमा उपचार भइरहेको छ।
यस घटनाका कारण रुट १३० दुवै तर्फ एक घण्टाभन्दा बढी समय बन्द भएको थियो, जसले गर्दा विद्यालयको दोस्रो दिन ठूलो ट्राफिक जाम र सर्वसाधारणलाई सास्ती भएको थियो। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र आइस अधिकारीहरूले घटनाबारे तत्काल कुनै आधिकारिक टिप्पणी दिएका छैनन्।





